भूकम्पले जुम्लाका उपाध्यायको परिवारै विस्थापित
गत कार्तिक १७ गतेको गएको भूकम्पले बस्दै आएको घर चर्किएपछि जुम्लाको चन्दननाथ नगरपालिका–१ का गणेशप्रसाद उपाध्यायको परिवार विस्थापित भएको छ ।
घरको चारैतिरको पर्खाल चर्किएको र पहिलो तला नै भत्किएपछि उपाध्यायको परिवार विस्थापित बनेको हो । अहिले गाउँमा बस्न उनले घर खोजिरहेको बताए । आगामी दिनमा सामान्य भूकम्पको कम्पन हुने वित्तिकै घर नै भत्किने अवस्था छ । गणेशप्रसादले पर्खाल भत्किएर छोरा च्यापिएको बताए ।
उनका १७ वर्षको छोरा सन्तोष उपाध्याय च्यापिएर जबरजस्ती निस्किएका थिए । उनको तिघ्रामा चोट लागेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार पछि अहिले उनी डिस्चार्ज भइसकेका छन् ।
गणेशको घरमा चार जनाको परिवार छ । भूकम्पले घर चर्किएर विस्थापित भएको भन्दै वडाध्यक्ष तिलकप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र नगरप्रमुख राजुसिंह कठायतले स्थलगत अवलोकन गरिसकेका छन् ।
यस्तै जुम्ला तिला–९, मालापानीका धिरबहादुर बुढाको घर पनि भूकम्पले चर्किएको छ । उनको परिवार विस्थापित भएर गाउँलेको घरहरुमा बस्न थालेको छ । उनले भने, ‘घरमा बसौं त सामान्य कम्पनले भत्किने अवस्था छ । नबसौं त चिसो समयमा घरबाहिर बस्न सकिने अवस्था छैन । चिसो हुने समय सुरु भइसकेको छ ।’
उनले भूकम्पले पु¥याएको क्षतिको विवरण संकलन गर्न स्थानीय सरकार र सरोकारवालाले कुनै चासो नदेखाएको आरोप समेत लगाएका छन् ।
सो गाउँका अधिकांश घर चर्किएका छन् । गाउँहरु पराकम्प आउन थालेपछि रातभर आगो बालेर खुला आकाशमुनी जाग्राम बस्ने गर्छन् । जिल्ला प्रशासन कार्यालय, जुम्लाका अनुसार भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका थिए ।
गुठिचौर गाउपालिका–४, बिगारे निवासी रत्नप्रसाद न्यौपानेको समेत घर भूकम्पले क्षतिग्रस्त बनाएको छ । जुम्लाको सिँजा गाउँपालिका–२, विष्टवाडामा तीन वटा घर भत्किएका छन् । तातोपानी गाउँपालिका–३, बाहुनवाडा निवासी २६ कि सिर्जना गौतमको हातमा सामान्य चोट लागेको थियो । उनको ११ महिनाको छोरा आयुष गौतमको आँखामा चोट लागेको छ ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी गाउँपालिका–३ निवासी निराजन उपाध्यायको हातमा चोट लागेको छ । तिला गाउँपालिका–३, दानीवाडा निवासी सपना थापालाई पनि सामान्य चोट लागेको थियो । तातोपानी–४ का हरीबहादुर खत्रीको सुतेको बेला घरको पर्खाल खसेपछि भाग्न खोज्दा खुट्टामा चोट लागेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
प्रशासनका अनुसार तिलाको वडा नंं. ३, ५ र ९ रहेका केही घर तथा विद्यालयका भवन चर्केका छन् । चन्दननाथ नगरपालिका–८ निवासी विष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ ।
जिल्लामा ठूलो भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए । उनले भने, ‘एकिन तथ्यांकका लागि प्रहरी परिचालित गरिएको छ ।’