मनसुन बल्ल लुम्बिनी प्रदेशसम्म पुग्यो, पश्चिमी तराईमा तापक्रम केही घट्यो
यस वर्षको मनसुन प्रणाली लुम्बिनी प्रदेशसम्म पुगेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिवार मनसुन लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म पुगको हो ।
अहिले मनसुन कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका धेरैजसो भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा पुगेको छ ।
नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गएको जेठ २८ गते कोशी प्रदेशको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । सामान्यतया पूर्वमा मनसुन भित्रिएको एक हप्तामा सुदूरपश्चिमसम्म नै फैलने गरेको भए पनि यस पटक भने निकै ढिलो गतिमा मनसुनले यात्रा गरिरहेको छ । लुम्बिनीका पश्चिमी क्षेत्र, कर्णाली र सदूरपश्चिममा मनसुन फैलिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।
मनसुनी प्रणाली नपुगे पनि गए राति देशका सबैजसो तराई क्षेत्रमा पानी परेको छ । निकै गर्मी भएको बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज र धनगढी, सुर्खेतलगायतका क्षेत्रमा बिहिवार तापक्रम केही घटेको छ ।