महत्वपूर्ण आयोजना अलपत्र पार्ने ठेकेदारलाई ‘सबक’ सिकाईदै
कर्णाली कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास निर्देशनालयले पछिल्लो चरणमा रुग्ण तथा म्याद गएका आयोजना नबनाउने ठेकेदारमाथि कडाई गर्न थालेको छ । पछिल्लो चरणमा कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले निर्माणको जिम्मा लिए र काम नगर्ने निर्माण व्यवसायीलाई कडाई गर्न थालेको हो ।
केही समय अगाडी निर्माण व्यवसायीसमेत रहेका रामेछापबाट निर्वाचित कांग्रेस सांसद तथा हालका संघीय ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनीले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर बजारका केही रणनीतिक सडकहरु अलपत्र पारेको चेतावनी दिएको निर्देशनालयले थप काम नगर्ने तीन वटा निर्माण कम्पनीलाई सूचना निकालेर छिटो काम गर्न नभएर ठेक्का रद्द गर्ने चेतावनी दिएको निर्देशनालय थप तिन वट निर्माण कम्पनीलाई ठेक्काको काम गर्न चेतावनी दिएको छ ।
सुर्खेत वीरेन्द्रनगर बजारको मंगलगढी चोकदेखि काँक्रेबिहार दुई किलोमिटर सडक स्तरन्नतिको काम दिएको अमर÷सिस्ने÷ नेपाल मेघा जेभी, नेपालगञ्ज–३, रानीबासदेखि रहकुलसम्म सडक निर्माणका ठेक्का लिएको नान्जिला एण्ड आकांक्षा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, काठमाण्डौं र कुहिने–जामु–विद्यापुर–भक्ताडी र जंगलघाट सडक निर्माणको जिम्मा दिएको अनक÷जयदेवी÷सनलाइट जेभी, नेपालगञ्ज–१३, बाँकेलाई समयमा काम गर्नका नभएर ठेक्का रद्द गर्ने चेतवानी दिएको छ ।
सुर्खेत वीरेन्द्रनगर बजारको मंगलगढी चोकदेखि काँक्रेबिहार दुई किलोमिटर सडक स्तरन्नतिको काम दिएको अमर÷सिस्ने÷ नेपाल मेघा जेभी, नेपालगञ्ज–३ ले केही सडक ग्राभेल गरेको भएपनि हालसम्म एउटा कल्भर्ड बनाउनु पर्ने ठाउँमा नबनाएको अहिले आएर केही काम गर्छु भनेको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । ‘१८ मंसिर २०७८ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो,’ उनले भने,‘निर्माणको जिम्मा पाएको लामो समयसम्म काम पुरा नगरेका कारणले सूचना जारी गरिएको हो ।’
यो सडक निर्माणका लागि लामो समयसम्म ताकेता गर्दा पनि काम सुस्त गतिमा अघि बढेका कारणले अहिले बाध्य भएर निर्देशनालयले चेतावनी दिएको छ । निर्देशनालयका अनुसार ठेक्का सम्झौतापछि कम्पनीले कुल रकमको १० प्रतिशत रकम पेश्की स्वरुप अग्रिम भूक्तानी लिएको थियो । १५ फागुन २०८० भित्र काम सक्ने गरी कम्पनीले १२ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर, पनि हालसम्म भने अनुसारको काम नगरेको निर्देशनालयले जनाएको छ ।
मंगलगढी काँक्रेबिहार सडक निर्माणका लागि सडक छेउमा पर्ने घर हटाउनका लागि केही समय लागेका कारणले ढिलाई भएको बताउने निर्माण कम्पनीले त्यो समस्या हटेपछि पनि सडक निर्माणको काममा ढिलाई भएको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीका स्थानीय प्रेमराज गिरीले बताए । ‘अहिले एकातर्फमात्रै कालोपत्रे गरेको छ,’ उनले भने,‘एकातर्फी कालोपत्रे नहुँदा धुलो र धुवाँले गर्दा स्थानीयको स्वास्थ्यमा असर गरेको छ ।’
२१ असोज २०७७ रानीबासदेखि रहकुलसम्म सडक निर्माणका ठेक्का लिएको नान्जिला एण्ड आकांक्षा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, काठमाण्डौंले लामो समयदेखि काम नगरेका कारणले निर्देशनालयले सूचना निकालेर काम गर्नका लागि तोकेता गरेको सूचना अधिकारी शाहीले बताए । ‘निर्माण कम्पनीसँगको ठेक्का सम्झौताको मिति सकिएको छ,’ उनले भने,‘अहिले दैनिक जरिवाना तिरेर काम गर्छ कि भनेर तोकेता गरेका हौं ।’
निर्देशनालयका अनुसार निर्माण कम्पनीले रानीबासदेखि रहकुलसम्म सडकमा ग्राभेललगाएतका काम गर्नुपर्ने भएपनि अहिलेसम्म कुनै काम गरेको छैन् । त्यस्तै, कुहिने–जामु–विद्यापुर–भक्ताडी र जंगलघाट सडक निर्माणको जिम्मा लिएको अनक/जयदेवी/ सनलाइट जेभी, नेपालगञ्ज–१३, बाँकेले त्यो क्षेत्रका रहेको ११ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा हालसम्म पनि काम नगरेका कारणले सम्झौताको मिति सकिएको छ ।
१८ जेठ २०७८ मा कुहिने–जामु–विद्यापुर–भक्ताडी र जंगलघाट सडक निर्माणका लागि अनक÷जयदेवी÷सनलाइट जेभी, नेपालगञ्ज–१३, बाँकेले हालसम्म पनि निर्माणको काम नगरेका कारणले ताकेताका लागि सूचना निकाल्नु परेको निर्देशनालयले जनाएको छ । यो सडक निर्माणको मिति सकिएको भएपनि थप जरिवाना तिरेर काम गर्न आउन सक्छ कि भनेर ताकेता गरेको निर्देशनालयले जनाएको छ ।
सरकारभन्दा बलिया ठेकेदार
सार्वजनिक खरिद नियमावली (तेह्रौँ संशोधन) २०८० को नियम १२० क (१) (खरिद सम्झौताको अवधि थप सम्बन्धी विशेष व्यवस्था) अनुसार सम्बन्धित निर्माण व्यवसायीबाट संशोधित कार्यतालिका र माइलस्टोन सम्झौता अनुसारको कार्य प्लान तथा कार्यालयलाई थप आर्थिक दायित्व नपर्ने प्रतिबद्धता पेस गरेमा म्याद थप गर्न सकिने भनी व्यवस्था छ । सोही अनुसार रुग्ण आयोजनाको निर्माण कार्य गर्न अग्रसर भएको र निर्माण कार्य गर्न प्रयास गरेको हुनाले पहिलो पटक म्याद थप भएको अबका दिनमा त्यस्ता आयोजना थप गर्न नसकिने निर्देशनालयले जनाएको छ ।
ठेकेदारको लापर्वाहीका कारण बनेको पूर्वाधारका काम पनि जीर्ण बनिरहेको र ठेकेदारहरु बलिया भएका कारणले माथिबाट नै प्रसय पाउने भएका कारणले अहिले आयोजना रुग्ण राख्ने निर्माण कम्पनीका ठेकेदारहरुलाई तोकेता गरिएको निर्देशनालयले जनाएको छ । ‘हामीले यहाँबाट जति प्रयास गर्दा पनि ठेकेदारहरुले टेर्दैनन् । उनीहरुले माथि नै सेटिङ मिलाएर राजनीतिक पहुँचका आधारमा ठेक्का रुष्ण राख्ने गरेका छन्,’ निर्देशनालयका वरिष्ठ कर्मचारीले भने,‘त्यसैले अहिले हामीले यही कार्यालयबाट नै ताकेता गरेका छौं । काम नभए कालोसूचीमा राख्ने योजना रहेको छ ।’
आयोजनाको ठेक्का लिएर लामो समयसम्म रुष्ण अवस्था राख्ने ठेकदार कम्पनी वा तिनका एजेन्टहरुलाई कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास तथा सहरी मन्त्रालयले यही १३ गते मन्त्रालयमा बैठकको आयोजना गरेको छ । बैठकमा बोलाएर उनीहरुलाई रुग्ण आयोजना तत्काल निर्माण गर्न निर्देशन दिइने मन्त्रालयले जनाएको छ ।
तीन कम्पनीलाई दिएको चेतावनी
कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालय अन्तर्गतका देहाय बमोजिमका निर्माण कम्पनीले ठेक्का म्याद सकिइसक्दा समेत कार्य सम्पन्न नगरी सम्पर्क विहिन रहेको र लामो समयसम्म निर्माण स्थलमा कुनैपनि निर्माण कार्य गरिरहेको नपाइएको सन्दर्भमा निर्देशनालयद्वारा विभिन्न मितिमा कार्य सम्पन्न गर्न मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा समेत कार्य सम्पन्न गर्न अटेरी गरेको विषयमा निर्देशनालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सम्झौता अनुसार स्वीकृत कार्य सम्पन्न नगरेको, निर्माण कार्य अलपत्र पारी चरम लापरवाही गरेको र आफैले पेश गरेको कार्य तालिका अनुसारको प्रगति नगरेको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र सम्झौताको शर्त र प्रचलित कानून बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कार्वाही प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै उचित कारण भएमा प्रमाणसहित स्पष्टिकरण पत्र पेश गर्नका सूचना प्रकाशन गरिएको छ ।
समयमा स्पष्टिकरण पेश नगरेमा वा स्पष्टिकरणमा ठेक्का अन्त्य नगर्नुपर्ने भनी पेश भएको प्रमाण वा कारण उचित नपाइएमा सम्झौताका शर्त र प्रचलित कानून अनुसार ठेक्का सम्झौता अन्त्य गरि आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईने निर्देशनालयले जनाएको छ ।