“महिला अधिकारको व्यवहारिक कार्यान्वयन आवश्यक“: सांसद सन्जु चौधरी
सरला सुवेदी
बाँके, २४ फागुन ।
कोहलपुर नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने नाराका साथ महिला बालबालिका तथा समावेशीकरण शाखाको संयोजनमा महिला भलिबल प्रतियोगिता, विल्चियर प्रतियोगिता, प्रभातफेरी, सभा लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।
मार्च ८ का दिन संसारभर महिला अधिकार, समानता र सशक्तीकरणको पक्षमा आवाज उठाइन्छ। यस अवसरमा कोहलपुर खुल्ला मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य सन्जु कुमारी चौधरीले महिला दिवसको ऐतिहाँसिक पृष्ठभूमि बारे जानकारी दिँदै नेपालमा महिला अधिकारको दायरा फराकिलो भए तापनि व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको बताइन् ।
उनका अनुसार, संविधानले महिला अधिकारलाई सुनिश्चित गरे पनि समान कामको समान ज्याला अझै लागू नभएकाले निरन्तर संघर्ष आवश्यक छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यले महिलाहरूको चेतना स्तर उच्च भए तापनि समाजमा व्याप्त विभेद अन्त्य गर्न अझै धेरै काम गर्नुपर्ने धारणा व्यक्त गरे । पछाडि पारिएका महिलाहरूको मुद्दालाई सम्बोधन गर्दै उहाँले अधिकारसहित कर्तव्यको पालनामा पनि ध्यान दिनुपर्ने बताए ।
नगर उपप्रमुख संगिता सुवेदीले महिलाको राजनीतिक, सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय सहभागिता बढ्दै गएको उल्लेख गर्दै महिलाविरुद्धको विभेद कम हुँदै गए पनि पूर्ण रूपमा अन्त्य नभएकाले अझै प्रयास गर्नुपर्ने बताइन् ।
दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारले श्रममा हुने विभेद अन्त्य गर्न सबैको एक्यबद्धता आवश्यक रहेको बताएकि छिन् । नेकपा समाजवादी नेतृ नारायणी ओलीले महिला अधिकारको लडाइ अझै कायम रहेको भन्दै महिला दिवसलाई सार्थक बनाउन सबै खाले विभेद हटाउनुपर्ने बताएकि छिन् ।
सामाजिक विकास समिति संयोजक इश्वरी विकको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा महिला बालबालिका तथा समावेशीकरण शाखाकी प्रमुख घटना शाहका अनुसार विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षक, विद्यार्थी, सहकारीकर्मी लगायतको उपस्थिति रहेको थियो ।