मापदण्ड विपरित बधशाला सञ्चालन, नगरपालिकालाई टेर्दैनन् सञ्चालक

वीरेन्द्रनगरमा सञ्चालन हुँदै आएका नाम मात्रका बधशालाले जनस्वास्थ्यमा गम्भिर असर पारिरहेका छन् । वीरेन्द्रनगर–१० मा माझीगाउँ कृषि फर्म र वीरेन्द्रनगर नं. १३ करेखोलामा ग्लोबल एल.एस.पि.एग्रो प्रा.लि. ले खुलमखुला मापदण्ड विपरितका बधशाला सञ्चालन गरी आम नागरिकको स्वास्थ्यमा गम्भिर खेलबाड गर्दै आएका छन् ।
पशु बधशाला र मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०५५ ले जनस्वास्थ्यलाई हितमा राखेर विभिन्न मापदण्डहरु अनिर्वाय पुरा गर्नुपर्ने व्यवस्था गरेको भएपनि यी व्यवसायीले उक्त ऐनलाई नै चुनौती दिँदै आएका छन् ।
यति मात्रै होइन सञ्चालकहरुले नियामक निकायको निर्देशनसमेत टेर्दैनन् । १६ फागुन २०७९ मा तत्कालिन वीरेन्द्रनगर नगरपालिकाको उद्योग तथा नियमन शाखाका प्रमुख टंकप्रसाद लामिछानेको संयोजकत्वमा उल्लेखित बधशालाको अनुगमन गरेको थियो ।
उक्त अनुगमनले बधशालाहरु मासु जाँच ऐन २०५५ र नियमावली २०५७ मा भएको व्यवस्था विपरित भएको भन्दै मापदण्ड पुरा गर्न वीरेन्द्रनगर नगरपालिकाले निर्देशन दिएको थियो । तर, सञ्चालकहरुले उक्त निर्देशन हालसम्म पनि पुरा गरेका छैनन् ।
अनुगमनका क्रममा मूल्य सूचि, साइनबोर्ड नराखेको, नाप तौल तथा लेवलिङ्गमा मापदण्ड पुरा नगरेको, म्याद नाघेका सामग्री राखेको, बिक्री बिल नराखेको, खाद्य अनुज्ञा पत्र नलिएको, मासु निरिक्षकको व्यवस्था नगरेको, बध गर्ने पशुको रेकर्ड नराखेको, सरसफाईका लागि प्रसस्त निर्मलिकरण गर्ने व्यवस्था नगरेको पाइएको थियो ।
त्यस्तै, पशुको जात अनुसार छुट्टाछट्टै बध गर्ने व्यवस्था, बधशालामा जैविक सुरक्षा अर्थात बधशालामा पशु तथा मानिसको स्वास्थ्यको लागि जैविक सुरक्षाका विधीहरु अपनाइएका छैनन् । बधशालाबाट निस्किएको फोहोरमैलालाई व्यवस्थापनका लागि प्रभावकारी व्यवस्थासमेत गरिएको छैन । बधशालाबाट निस्किएको फोहोरहरु फोहोर पिटमा जाने व्यवस्था छ तर, छाला र हड्डी राखेको ठाउँबाट वातावरणमा दुर्गन्ध फैलिरहँदा यसलाई रोक्ने विधि सञ्चालकहरुले अपनाएका छैनन् ।
बध गरिएको पशुलाई झुण्ड्याएर छाला काट्नुको साटो भुईमै राखेर राम्ररी सरसफाई नगरेका व्यक्तिले मासु काट्ने गरेको अनुगमनका क्रममा भेटिएको थियो । त्यस्तै, बिरामी पशुलाई अलग नराखिएको, बधशालाभित्र काम गर्ने कर्मचारीहरुको निरोगिताको प्रमाणपत्र नभएको तथा शंकास्पद देखिएको मासु तत्काल परीक्षणका लागि प्रयोगशाला तथा उपकरणहरु नै नराखी भटाभट मासु बेच्ने गरेको अनुगमनका क्रममा पाइएको थियो ।
२१ कार्तिक २०८० मा वीरेन्द्रनगर–१३ का यामला लामिछाने र खड्कबहादुर घर्तीले मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको गुनासो सुन्ने निकाय हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कक्षमा गुनासो दर्ता गराएका थिए । उक्त गुनासोमा करेखोलामा रहेको ग्लोबल एल.एस.पि. एग्रो प्रालिले सञ्चालन गरेको बधशाला व्यवस्थित नहँुदा टोलनै दुर्गन्धित भई स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भिर असर परेको उल्लेख गरिएको थियो ।
गुनासो उपर सुनुवाई गर्दै मुख्यमन्त्री कार्यालयले वीरेन्द्रनगर नगरपालिकालाई गुनासो सम्बोधन गर्न पत्र पठाएको थियो । कार्यालयको उक्त पत्रमा नगरपालिकाले पशु सेवा शाखलाई १० मंसिर २०८० मा स्थलगत हेरी समस्या समाधान गर्न निर्देशनसहितको पत्र लेखेको छ ।
त्यस्तै, २६ मंसिर २०८० मा वीरेन्द्रनगर–१३ ले पनि नगरपालिकाको नाममा पत्र लेखेको छ । ‘बधशालाबाट निस्कने फोहोरले वातावरणलाई प्रदुषित बनाएको विषयमा पटक–पटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा समेत संचालकले वेवास्ता गरिएको हुँदा तत्काल फोहोर व्यवस्थापनका लागी त्यहाँ कार्यालयबाट आवस्यक सहयोग गरिदिनहुन सिफारिस साथ अनुरोध छ ।’ वडाले लेखेको पत्रमा भनिएको छ ।
नगरपालिकालाई टेर्दैनन् सञ्चालक
स्थानीयको बारम्बारको गुनासोपछि मुख्यमन्त्री कार्यालय र वडा कार्यालयको पत्रको सम्बोधन गर्दै शुक्रवार वीरेन्द्रनगर नगरपालिका पशु सेवा शाखाका प्रमुख यज्ञ पाण्डेयसहितको प्राविधिक टोलीले करेखोला पुगेर पुनः अनुगमन गरेको छ ।
यो अनुगमन पहिलो पटक भने होइन । यस अघि १६ फागुन २०७९ मै नगरपालिकाले बधशाला अनुगमन गरी मापदण्ड पुरा गर्न निर्देशन दिएको भए पनि सञ्चालकहरु अटेरी बनिरहेका छन् । अनुगमनमा क्रममा नियमानुसार मापदण्ड पुरा गरेर बधशाला सञ्चालन नभएको प्रमुख पाण्डेयले बताए ।
‘बधशाला सञ्चालन सम्बन्धि ऐन तथा नियमावलीमा व्यवस्था गरिएका जैविक सुरक्षाका लागि अपनाईनु पर्ने विधिहरु अपनाइएका छैनन्,’ उनले भने । बधशाला वरीपरी घेरबार नभएको, बधशालाबाट निस्किएको फोहोर प्रभावकारी विसर्जन नगरिएको, पशुवस्तुको लादी, रगत र हड्डी खुला ठाउँमा फालिएकाले वातावरण प्रदुषणसमेत भइरहेको प्रमुख पाण्डेयले बताए ।
वडा र सम्बन्धित समुदायबाट पछिल्लो समय बारम्बार गुनासो आउने गरेको उल्लेख गर्दै प्रमुख पाण्डेयले भने, ‘वडा र समुदायबाट बारम्बार गुनासो आइरहँदा हामीले पटक पटक मापदण्ड अनुसार जान निर्देशन गरेका छौं, तर उहाँहरुले निर्देशन अनुसार काम गर्नु भएको छैन ।’ पछिल्लो पटक आफूले गरेको अनुगमनको प्रतिवेदन तयार गर्न लागेको बताउँदै उनले सञ्चालकहरुलाई नगरपालिकामा बोलाएर निर्णायक छलफल गरी समस्या समाधान गर्ने उनले बताए ।
समयमै इजाजत नपाउँदा समस्या ः सञ्चालक
यता ग्लोबल एल.एस.पि. एग्रो प्रालिका अध्यक्ष लोकबहादुर ढाडा सरकारले बधशाला सञ्चालनका लागि समयमै इजाजत नदिदा लगानी डुब्ने डरले थप संरचना निर्माण गर्न नसकिएको गैरजिम्मेवार जवाफ दिए ।
मानव स्वास्थ्यसँग जोडिएको विषयमा किन लापरवाही भन्ने प्रश्नमा उनले भने, ‘हामीले दुई÷तीन वर्षदेखि बधशाला सञ्चालनका लागि सरकारसँग इजाजत मागेका मागै छौंँ, यता ठुलो राशीमा लगानी भइहाल्ने पछि सरकारले इजाजत नदिएको खण्डमा लगानी डुब्ने चिन्ता त हामीलाई पनि त हुन्छ, उहाँहरुले भने जस्तो सबै त होइन केही संरचना बनेका छैनन्, त्यो हामी बनाउने चरणमा छौं ।’ ३ माघमा संघीय मन्त्रीपरिषद्को बैठकले बधशाला निर्माणका लागि इजाजत दिने निर्णयसँगै आफूहरु थप लगानीमा मापदण्डसहितका संरचना निर्माण थाल्ने उनले बताए ।





