मेडिकल शिक्षाकाे हव बन्दै कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान
पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्ला मेडिकल शिक्षा हव बन्न थालेको छ । मेडिकल शिक्षा अध्ययनको लागि प्रतिष्ठान स्वदेशी तथा विदेशी विद्यार्थीको रोजाइमा पर्न थालेको हो । भने सरकारले पनि प्रतिष्ठानलाइ डाक्टर उत्पादनको कोटा बढाउदै गएको छ । प्रतिष्ठानमा चिकित्सा शिक्षा तर्फ चार वटा स्कुलमा स्नातक र स्नातकोत्तर गरी १३ वटा कार्यक्रम चलिरहेका छन् । अध्ययनका लागि हरेक वर्ष बढ्दो विद्यार्थी आकर्षणलाइ हेर्दा प्रतिष्ठान मेडिकल शिक्षा हव बन्न थालेको हो ।
हाल प्रतिष्ठानले धमाधम डाक्टर उत्पादन गरिरहेकाले अबको केही वर्षभित्र कर्णालीमा स्वास्थ्य जनशक्ति समेत अभाव नहुने देखिन्छ । एमबीबीएसदेखि विभिन्न विधाका विशेषज्ञ चिकित्सकसमेत कर्णालीले देश विदेशलाई आपूर्ति गर्न सुरु गरेको छ । प्रतिष्ठानले यसै वर्षदेखि चिकित्सा शास्त्रअन्तर्गत् एमबीबीएस पढाउन ५० विद्यार्थीको भर्ना लिएको छ । जसमा ३ जना भारतीय विद्यार्थी समेत छन् । तीमध्ये २ छात्रा र १ छात्र छन् । दुवै छात्रा जम्मु काश्मिरकी हुन् भने छात्र अल्लाहपुर, उत्तर प्रदेशका हुन् ।
प्रतिष्ठानले एमबीबीएस अध्यापन सुरु गरेको तीन बर्ष भइसकेको छ । चौँथो ब्याचमा भारतीय विद्यार्थीहरु समेत भर्ना हुन आइपुगेका छन् । प्रतिष्ठानले पहिलो बर्ष एमबीबीएस अध्यापनको लागि २० जनाको कोटा पाएको थियो । पछिल्लो दुई बर्षमा ३०÷३० जना भर्ना लियो । यो बर्षदेखि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा दिएपछि जुम्लामा चहलपहल बढेको छ ।
प्रतिष्ठानमा डक्टरी बिषयमा गुणस्तरीय पठनपाठन भइरहेकोले आगामी वर्षमा पनि विदेशी विद्यार्थीहरु आउने संभावना बढेको छ । हाल संचालित चिकित्सा शिक्षाका चार वटा स्कुलहरुमा स्कुल अफ मेडिसिन, स्कुल अफ फार्मेसी र स्कुल अफ पब्लिक हेल्थमा स्नातकदेखि स्नातकोत्तरसम्मका कार्यक्रम सञ्चालनमा छन् । भने स्कुल अफ नर्सिङमा अहिलेसम्म स्नातक मात्रै भएपनि अर्को सत्रबाट स्नातकोत्तर कार्यक्रम थपिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका रजिष्टार निर्पेन्द्र महतका अनुसार चिकित्सा शिक्षाका सबै कार्यक्रमका लागि झण्डै एक सय शिक्षक–प्राध्यापक खटिएका छन् । भने हाल ३ सय बढि विद्यार्थी अध्ययनरत छन् । प्रतिष्ठानमा एमबीबीएस, एमडी, बीएससी नर्सिङ, बीएनएस, बी फार्मा, एमपीएचलगायत शैक्षिक कार्यक्रम संचालित छन् । ‘सम्बन्धित काउन्सिलका परीक्षामा समेत बीपीएच र नर्सिङमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छौं’ रजिष्टार महतले भने, ‘अन्य विधामा पनि यहाँ पढेका विद्यार्थीले राष्ट्रिय औसतभन्दा राम्रो स्थान ओगटेका छन् ।’ प्रतिष्ठान कर्णालीवासी र नेपालीसँगै विदेशी विद्यार्थीको समेत शैक्षिक गन्तव्य बन्दै गएको छ ।
अनुभव साट्न बैदेशिक सहकार्य
रजिष्टार महतका अनुसार प्रतिष्ठानले मलेसियाको सनवे विश्वविद्यालयअन्तर्गतको सनवे मेडिकल सेन्टरसँग अनुभव आदानप्रदान गर्दैछ । यसका लागि समझदारी भइसकेको छ । जसअनुसार, ५ जना एमडी र नर्स आगामी केही महिनामा मलेसिया गएर तालिम गर्नेछन् । भने त्यहाँबाट पनि केही कर्णालीमा आएर अभ्यास गर्नेछन् । एमडी र नर्स गरी ५ जनाले त्यहाँ काम गर्न पाउने र त्यहाँका चिकित्सक पनि कर्णालीमा आउनेछन् । यस्तै अमेरिकाको हृयुस्टन मेडिकल स्कुलका प्राध्यापक पनि प्रतिष्ठानमा योगदान गर्नेछन् ।
यता मेमोरियल युनिभर्सिटी अफ क्यानाडासंग अनुसन्धान र एमडीजीपी कार्यक्रमका लागि सहकार्य भएको छ । दुवै संस्थाबीच शिक्षक–प्राध्यापकसमेत आदानप्रदान हुने गरी प्रक्रिया अघि बढेको प्रतिष्ठानले जनाएको छ । पछिल्लो समय प्रतिष्ठानको आम्दानी पनि गएका ३ वर्षमा ७ गुणाले बढेको छ । ३ वर्षअघिसम्म वार्षिक ५ करोड आम्दानी हुने प्रतिष्ठानले गत वर्ष २७ करोड कमाएको थियो । यो वर्ष ३२ करोड बढि आम्दानी हुने अनुमान छ । आन्तरिक आय बढे पनि प्रतिष्ठान अझै आत्मनिर्भर भने हुन सकेको छैन । बढिरहेका कार्यक्रमका लागि शिक्षक तथा कर्मचारीको संख्या पनि बढिरहेकाले बजेट अपुग भइरहेको रजिष्टार महतले बताए ।
प्रतिष्ठानले आवश्यकता अनुसार पूर्वाधार बनाउन सकेको छैन । २०७२ सालमा जुम्लामा ३ सय सैयाको अस्पताल बनेको छे । कक्षा सञ्चालन, छात्रावास र शिक्षक–प्राध्यापकका लागि आवास बनाउन बाँकी नै छ । भौतिक सुविधाको अभाव र न्यून तलबका कारण विशेषज्ञ चिकित्सक टिकाउन भने प्रतिष्ठानलाई हम्मेहम्मे परेको छ ।
स्वास्थ्य अनुसन्धानमा फड्को मार्दै
दैनिक ६ सय बढि विरामीको धुँइचो लाग्ने प्रतिष्ठानले स्वास्थ्य अनुसन्धानमा पनि फड्को मार्न थालेको छ । सुविधायुक्त अत्याधुनिक प्रविधिबाट उपचारसँगै स्वास्थ्य शिक्षा र अनुसन्धानमा पनि प्रतिष्ठान फड्को मार्दै भएको हो । स्वास्थ्य शिक्षासँगै अनुसन्धानलाइ तिब्र पारेको प्रतिष्ठानले आसपासका अरू धेरै जिल्लाका विरामीलाइ सहज होस् भन्ने ध्ययेले दैलेखको राकम कर्णालीमा एक सय सैयाको स्याटेलाइट अस्पताल बनाउने योजनामा ल्याएको छ । दैनिक २ हजार बिरामीको उपचार गर्न सकियोस् भनेर राकममा स्याटेलाइट अस्पताल बनाउने योजना ल्याइएको हो ।
कर्णाली प्रदेश र सुदूरपश्चिमको करिब १० लाख जनसंख्यालाई आफ्नो सेवा क्षेत्रमा समेट्ने प्रक्षेपण छ । जुम्लामै विशेषज्ञ सेवा उपलब्ध भएपछि एकातिर जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ । भने अर्कोतिर नेपालगंज लगाएतका सहरमा गएर उपचार गराउने महंगो खर्च जोगिएको छ ।
संकटमा नागरिकलाइ साथ
कर्णालीका नागरिकले कोभिड महामारी, भुकम्प जस्ता विभिन्न प्राकृतिक संकटको समयमा कर्णाली प्रतिष्ठानको साथ पाएका छन् । कुनैपनि संकट आएमा प्रतिष्ठानले सबैभन्दा छिटो डाक्टरहरु परिचालन गर्ने गरेको छ । कर्णालीमा पहिलाजस्तो हैँजा वा रुघाखोकीको महामारीमा कसैलाइ मर्न नदिने र अन्य ठूला महामारी र स्वास्थ्य संकटसँग जुध्ने प्रष्ठिानले क्षमता राखेको छ । कोभिडकालमा महामारीसंग लड्न प्रतिष्ठानले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भागका लागि ठूलो भरथेग गरेको थियो ।
केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, टेकुपछि सर्वाधिक नमुना परीक्षण गर्ने संस्थामा यही प्रतिष्ठान ठहरिएको थियो । नेपालगंजको भेरी अस्पतालमा आईसीयु चलाउन पनि जुम्लाबाट डक्टरहरु गएका थिए । प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाइ समेत घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको थियो । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल, शिक्षाध्यक्ष डा डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा रविन खातुङ, डा तोसिमा कार्की भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेलाई उपचार गरेर फर्केका थिए । जाजरकोटको भेरीगङ्गा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेकालगायत सबैखाले समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको थियो ।
हेर्नुहाेस इपेपर ।