‘म भीरबाट खसेँ, छिटो आउनु’ भनेर फोनमा बोल्दा–बोल्दै भण्डारीको प्राण गयो


बाजुरा । स्वार्मीकार्तिक खापर गाउँपालिका–२, फ्याल गाउँका पुसे भण्डारी आइतबार माछा मार्न बिहानै घरबाट निस्किए । करिब ४० वर्षका पुसे माछा मार्न अनुभवी मानिन्थे । गाउँबाट करिब तीन–चार घण्टाको बाटो पार गरेर उनी कर्णाली नदीको किनारमा पुगे । स्थानीय गणेश बुढाका अनुसार पुसे जहिल्यै जोखिम मोलेर माछा मार्न जान्थे । गाउँलेहरू पनि उनलाई भीर चढ्ने मान्छे भनेर चिन्थे । तर भीर जति चढे पनि, त्यो दिन भीरले उनलाई छोडेन । साँझ पर्न लाग्दा उनी घर फर्किने तयारी गर्दै थिए । अचानक उनी भीरमाबाट तल खसे ।

लड्दै तल पुगेका पुसे अर्धचेत अवस्थामा थिए । उनी अशक्त थिए । बेसुर थिए, तर उनले आँट हारेनन् । उनको हातमा मोबाइल थियो । काँपिरहेको हातले उनले घरमा फोन गरे– ‘म भीरबाट खसेँ । घाइते भएँ । छिटो आउनु ।’ फोन उठाउने परिवारको मन काम्यो । उनीहरूले गाउँलेलाई खबर गरे । गाउँलेहरू दौडिए । समूह बनाएर कर्णाली नदीतर्फ लागे । तर भीर उस्तै उकालो थियो, झन् अन्धकार छाउँदै थियो । उता पुसेको आवाज कमजोर हुँदै गयो । ‘म अब सक्दिनँ,’ फोनमै बोल्दै–बोल्दै उनको प्राण गयो ।

गाउँले पुगे, तर ढिलो भइसकेको थियो । शव उतार्न खोजे, तर जोखिम धेरै थियो । त्यसपछि प्रहरीलाई खबर गरियो । प्रहरी निरीक्षक देव चौधरीका अनुसार तत्कालै जुड्डी प्रहरी चौकीबाट टोली खटियो । तर शव निकाल्न सक्ने अवस्था छैन । भीर यति अप्ठ्यारो छ कि गाउँलेहरू मात्र होइन, प्रहरी टोली पनि सहजै पुग्न सकेन ।

स्थानीय गणेश बुढा भन्छन्, ‘हामी ८–१० जना वारिबाट गयौँ, ८–१० जना पारीबाट गयौँ, तर कोही भीरमै अड्कियौँ । उद्धार गर्नै सकिएन ।’ रातभरि प्रहरी र गाउँलेहरू आगो बालेर बसे । कर्णाली नदीको छेउमा पुसेको लास छ । आज र्‍याफ्टिङ टोली आउँदैछ । इलाका प्रहरी कार्यालय कोल्टीबाट थप टोली घटनास्थलमा छ । हिमाली गाउँपालिकाबाट बोट टोली झिकाएर उद्धारको प्रयास भइरहेको छ । गाउँलेहरूले पुसेको शव उद्धार होस् भन्ने पर्खाइमा छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *