‘राजनीतिक मुद्दा हो भन्थे, कुनै दुव्र्यवहार गरेनन्’
दैलेख : अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले आफूमाथि कुनै दुव्र्यवहार नभएको बताएका छन् ।
शनिवार राती विप्लव समूहको अपहरणमा परेका उनलाई प्रहरीले कालिकोटबाट उद्दार गरेर जिल्ला सदरमुकाम ल्याएको छ ।
उनीमाथि पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा अनियमिता गरेको आरोप लगाउँदै विप्लव समूहले अपहरण गरेको थियो ।
तर आफूलाई अपहरणपछि कुनै दुव्र्यवहार नभएको अध्यक्ष शाहीले बताएका छन् । उनले भने,‘१८ घण्टासम्म ममाथि उनीहरुले सम्मानजनक व्यवहार नै गरे, बरु आफू भोकै बसेर मलाई भने खाना खुवाएका थिए ।’
अपहरणपछि उक्त समूहले आफूलाई सम्मान र राजनीतिक व्यवहार गरेको अध्यक्ष शाहीको भनाइ छ । उनले भने,‘उनीहरुले बारम्बार यो राजनीतिक मुद्दा हो भन्थे, उनीहरुको उदेश्य आफ्ना कार्यकर्ता छुटाउन दवाव दिनु रहेछ ।
त्यसैमा राज्यलाई दवाव पुगोस् भनेर मलाई ल्याएका हौं भन्थे ।’ सम्मानजनक व्यवहार गरिएको भन्दै उनले आफूलाई जंगल र हिँउ परेको बाटोमा हिँड्न भने कठिन भएको बताए ।
उनलाई अहिले प्रहरीको सुरक्षामा राखिएको छ । केहिदिन जिल्ला सदरमुकाममा बसेर नियमित काममा फर्कने अध्यक्ष शाहीले बताए । आफूलाई कुनै धम्की नदिएको र आफू गाउँ फर्केर काममा जुट्ने बताए । शनिवार राती आफ्नै घरमा सुतिरहेका अध्यक्ष शाहीलाई विप्लव समूहले अपहरण गरेको थियो ।