रारालाई नजरअन्दाज किन ?
अहिले राराले कर्णालीमा पर्यटक भित्र्याउन मुख्य भूमिका निर्वाह गरिरहेको छ । मोटरसाइकलमा यात्रा गर्न रुचाउनेहरु हुन् या गाडीमा, रारा पुग्न जोकोहि उमेर तथा समुहका पर्यटकहरुको रोजाईमा रारा प्राथमिकतामा नै छ । नेपालभर राराको नाउँ अलि लोकप्रिय हुन थालेको संघीयता पछि नै हो । कर्णाली प्रदेश सरकारले २०७५ लाई रारा–कर्णाली भ्रमण वर्षका रुपमा नै मनायो । राराका विषयमा राष्ट्रिय सञ्चार माध्ययमहरुले समेत चासो दिए । पर्यटनमा भ्रमण सेवा उपलब्ध गराईरहेका ‘टुर्स कम्पनी’हरुले समेत राराका लागि छुट्टै सेवा जारी गरे । त्यसयता रारा भित्रने पर्यटक मात्र होइन रारामा लगानी समेत बढिरहेको छ ।
पूर्वाधारका दृष्टिकोणमा रारा अझै विकास भने भएको देखिदैन । पहिले जस्तो थियो, स्वर्गको अप्सरा नाउँ पाएको रारा अहिले पनि उस्तै नै छ । मात्र यहाँका पर्यटकहरुका लागि केहि वर्ष यता निजी क्षेत्रले लगानी बढाएका छन् । रारा आउने पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रले घोडाको सवारी, होटल तथा लज, होम–स्टेको सुविधा लगायतका क्षेत्रमा केहि लगानी बढाएको देखिन्छ । यता कर्णाली प्रदेश सरकारको हालको वार्षिक विकास कार्यक्रममा रारा नाउँ मात्र खोजियो भने पनि यहाँ लगानी थुप्रो देखिन्छ । रारामा साइकल लेन, पदमार्ग, होम–स्टे, आसपासका गाउँमा अर्गानिक कृषि उपज उत्पादन, लोकल कुखुरा उत्पादन विस्तार, प्याराग्लाइडिङ लगायतका थुप्रै कार्यक्रमहरुले रारालाई लक्षित गरेका छन् । तर कार्यान्वयनको अवस्था हेर्ने हो भने शून्य नै छ । ६ वर्ष अघि बजेटमा देखिएको साइकल लेन अहिलेसम्म निर्माण सम्पन्न भएको छैन । वार्षिक करोडौं रुपैयाँ विनियोजन भईरहेको रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजना त अदालत सम्म नै पुग्यो । ठेकेदार कम्पनी र प्रदेश सरकार आयोजना निर्माणको विषयलाई लिएर अदालतको ढोकामै पुगेका थिए । अहिले पनि रारा पर्यटकीय पूर्वाधार निर्माण कार्यक्रम कार्यान्वयनको चरणमा छ, सम्पन्न हुने ठेगान भने छैन ।
एकातिर राराका लागि पूर्वाधार निर्माण गर्न बजेट विनियोजन भईराख्ने अर्को तर्फ स्थानीय स्तरमा बजेट खर्च नै नहुने विषयले रारालाई नजरअन्दाज गरिएको हो । रारा हामी सबैको साझा सम्पत्ति हो । राराले भिœयाउने पर्यटकहरुबाट हुने आम्दानी नै कर्णालीको लागि अर्को स्रोत सावित हुन सक्छ । रारामा लगानी र यसको कार्यान्वयनको फाइदा कर्णालीका रैथाने उत्पादनमा समेत छ । जुम्लामा बिक्रिका लागि राखिएका रैथाने उत्पादनहरु राराबाट फर्किने पर्यटकहरुका लागि मुख्य रोजाईं बनेको छ । तर हामीले रारामाथी भएको लगानीलाई भने समयमा नै खर्च गर्न नसक्दा वा त्यस प्रकारको व्यवस्थापन अभावले रारालाई नजरअन्दाज गरिरहेका छौँ । पर्यटकीय स्थल जहिलेपनि चलायमान हुनुपर्छ । एक पटक रारा पुगेको पर्यटकमा पुनः रारा पुग्ने मनस्थितीको सिर्जना हुनुपर्छ । तर हालसम्म पनि प्रदेश सरकारले राराका लागि छुट्टाएको रकम पनि खर्च गर्न नसक्दा पर्यटकहरु दोह्रोरिएर रारा पुग्न चाहदैनन् । सकसपूर्ण सडक यात्रा, अव्यवस्थित वसोवास, अन्य सहायक पर्यटकीय सामाग्रीको अभावले रारा पुग्ने पर्यटक र यहाँको पर्यटनमा चुनौति थपिदिएको छ । चाहे होटल हुन् या पर्यटकीय स्थल, यसका उपभोक्ताहरुलाई त्यहाँ नियमितताका लागि नौलो विषयले नै हो आकर्षण गर्ने । यि क्षेत्रमा पुग्ने उपभोक्तालाई प्रत्येक भ्रमणमा नौलोपन महशुस हुनुपर्छ । तर रारामा भएको लगानी खर्च नहुँदा राराको आकर्षण थप बढ्न सकेको छैन । यस तर्फ प्रदेश सरकार लगायत सम्बन्धित अन्य पक्ष सदैव सजक हुन जरुरी छ । राराको विकास र लगानीलाई गम्भिरतापूर्वक लिनुपर्छ ।