रेडपाण्डा जोगाउनः ‘वन अभिभावक’


जुम्लाका पाँच वटा सामुदायिक वनमा रहेको रातो हाब्रे (रेडपाण्डा) जोगाउन ‘वन अभिभावक’ को व्यवस्था गरिएको छ । वनमा पाइने वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले ‘वन अभिभावक’को व्यवस्था गरिएको हो ।

दुर्लभ मानिने रेड पाण्डाको संरक्षण गर्ने,जडीबुटीको अवैध चोरी निकासी रोक्ने,अनुसन्धान गर्ने,जंगल जोगाउने,वन्यजन्तुको सिकार नियन्त्रण गर्ने र अवलोकन गर्नका लागि ८ जनालाई वन अभिभावक’ को जिम्मेवारी तोकिएको छ । जसमध्ये दुई जना महिला छन् । जुम्लाको सिंजा गाउँपालिकाको – १ वडामा पर्ने बडाथुम र सियालामुल सामुदायिक वनमा प्रेमबहादुर खत्री र धर्मराज तिवारीलाई ‘वन अभिभावक’ जिम्मेवारी दिइएको छ ।

तातोपानी गाउँपालिका –८ मा अवस्थित नदै सामुदायिक वनका लागि मनिता रावत कमला (रावत) बुढा छन् । मनिता र कमला महिला हुन् । पातारासी गाउँपालिका –७ को महारुद्र सामुदायिक वनमा चन्द्रमल थापा र बिजा रावत छन् । त्यस्तै तातोपानी गाउँपालिका –४ मा रहेको सिद्धिविनाएक सामुदायिक वनमा रतन खत्री र कृष्ण जैसी ‘वन अभिभावक’को भुमिका छन् ।

जुम्लामा पहिलो पटक ‘वन अभिभावक’को व्यवस्था गरिएको हो । उनिहरुलाई ‘वन अभिभावक’ लाई रेडपाण्डाको अवस्था अध्ययन गर्ने जिम्मेवारी दिएको छ । धर्मराज तिवारी भन्छन्,‘दुर्लभ वन्यजन्तु रेडपाण्डा मासिँदै जान थालेपछि संरक्षणका लागि गाउँबाटै पहल हुन थालेको हो । यो भुमिका पाउँदा निकै उत्साहित छु ।’

यस्तै अर्की कमला रावतले भनिन् गाउँलेलाई वन्यजन्तु संरक्षणबारेमा सहजीकरण गर्ने जिम्मेवारी छ । उनका अनुसार वन्यजन्तुको खानपान, हिँडडुलदेखि चरिचरनका बारेमा बुझ्ने गर्छौं, ‘पहिलो प्राथमिकता रेडपाण्डाको संरक्षण नै हो।’ निगाली झार संरक्षण गर्न समुदायस्तरमा छलफल चलाउँछौ।जंगल जाँदा उनीहरू रेडपाण्डाको स्टिकर राखिएको क्यापटोपी,ज्याकेट जुता र आइडी कार्ड लगाउने गर्छन् ।

निगालोबाट डोको र छाप्री बन्छ । नदै सामुदायिक वनले निगालो काट्न अनुमति दिने गरेको छ । रेडपाण्डा पाइने क्षेत्रमा गएर रेड पाण्डाको दिसा संकलन गर्ने, रेडपाण्डाले छोडेका संकेतहरु र चोरी सिकारी सम्वन्धी रेखदेख गर्ने हाम्रो जिम्मेवारी छ।कात्तिक, चैत र साउन महिनामा उनीहरू प्रायः जंगलतिरै भेटिन्छन् ।

उनी भन्छिन् ‘पहिलोपटक जंगल जाँदा रेडपाण्डा भेटेका थियौं । जंगल जाँदा कुकुर नलैजान र भेडाबाख्रा चराउन लैजाँदा वन्यजन्तु संरक्षणको पाटोलाई ख्याल गर्न आग्रह गर्छिन् । केही वर्षयता लोपोन्मुख रेडपाण्डाको बासस्थानमा असर पर्दै गएको अध्ययनले देखाए पछि संरक्षणमा स्थानीय तथा गैर –सरकारी क्षेत्रको ध्यान पुगेको छ ।

सडकसञ्जाल विस्तारले तथा चरीचरनले बासस्थानको विनाश हुनु, कुकुरको आक्रमण बढ्नु, आहारका रूपमा प्रयोग हुने निगालोको जंगल मासिंदै जानु, अवैध व्यापार बढ्दै जानु,जनावरहरूका लागि थापिने पासो र वन–जंगलमा लाग्ने डढेलोका कारण रेडपाण्डा मासिंदै गएको छ । रेडपाण्डा नेटवर्क काठमाडौं र हातेमालो नेपाल जुम्लाकाले वन अभिभावकलाई वन्यजन्तुको रेखदेख र जंगल संरक्षणमा खेलेको भूमिकालाई मध्यनजर गर्दै खर्चसमेत दिंदै आएको छ ।

उनिहरु वर्षमा कम्तीमा ३ पटक वन्यजन्तुको अवस्था अवलोकन गर्छन् । त्यो गरे बापत ८ जनाले प्रति व्याक्तिलाई दुई हजार रुपैयाँ पाउँछन् । हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतले वन अभिभावकले बस्तीस्तरमा सचेतना फैलाइरहेको बताए ।

रावतले वन अभिभावकलाई तालिम पनि सिकाउने गर्छौं । बास स्थान वास स्थान पहिचान, ब्लक निर्माण, जि.पि.एस. चलाउन , चोरी सिकारी नियन्त्रण अनुगमन फारम भर्ने देखि क्यामेरा ट्रयापिङ तथा अनुगमन बारेमा सिकाउने गरिन्छ । रेडपाण्डा नेटर्वकले स्थानीय संस्थासँग साझेदारी गरी अध्ययन, अनुगमन, सामुदायिक वन तथा स्थानीय बासिन्दालाई संरक्षण सचेतना जगाउने कार्यक्रम गर्दै आएको छ ।

समुन्द्र सहतबाट २ हजार २ सय मिटरदेखि ४ हजार ८ सय मिटर उचाइ सम्ममा रेडपाण्डा पाइने गरेको यस क्षेत्रका विज्ञहरुले बताउने गरेका छन् । वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा एक देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ । यसअघि जुम्लाका कुन जंगलमा रेडपाण्डा पाइन्छ भन्ने बिषयमा अनुसन्धान थालिएको थियो । जुम्लामा सन् २०१७ मा हातेमालो सेवा समाज र रेडपाण्डा नेटवर्कले जिल्लाको एक नगरपालिकासहित सातवटै गाउँपालिकामा रेडपाण्डाको अनुसन्धान गरेको थियो ।

सन २०२१ मा महारुद्र सामुदायिक वन पातारासी पटमारा र २०२२ मा नदै सामुदायिक वन तातोपानीमा रेडपाण्डा भेटिएको थियो । जुम्लाको सिँजा गाउँपालिका, कनकासुन्दरी, पातारासी, गुठिचौर, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका जंगलमा रेडपाण्डा पाइन्छ ।

रेडपाण्डा जोगाउनः ‘वन अभिभावक’

YUGAAWHAN NATIONAL DAILY (2081-08-12)