२०८१ चैत्र १
×

Now Playing

वनको संरक्षणमा जुटे जोडु गाउँका स्थानीय


जुम्लाको सिंजा गाउँपालिका –६ जोडु गाउँका स्थानीयले सामुदायिक वन संरक्षणमा सक्रिय भएका छन् । वनको स्तर सुधार्न उनीहरु सक्रिय भएका हुन् । धरपुला सामुदायिक वनका अध्यक्ष श्रीभक्त बुढाका अनुसार सामुदायिक वनको घेराबन्दी गरिएको छ ।

बोट विरुवा मास्नु हुदैन,वनमा आगलागी गर्नु हुदैन, छाडा गाईवस्तु छोड्न नहुने र जथाभावी रुख काट्नु हुने भन्ने सन्देश दिने गरिएको छ । धरपुला सामुदायिक वनको ३ सय हेक्टरमा काँडेतार घेरबार गरिएको वनका अध्यक्ष श्रीभक्त बुढाले बताए । अध्यक्ष बुढाले विगत १ वर्षदेखि आफूहरु सामुदायिक वनको स्तर सुधार्ने कार्यमा लागि परेको बताए ।

“स्थानीयहरु, हामीहरु वन संरक्षणमा जुटेका छौँ”, उनले भने, “वनजङ्गल जोगाउन हामी सचेत छौँ ।” सो सामुदायिक वनमा १ सय १० घरधुरी आबद्ध छन् । स्थानीयवासी सबैको वन संरक्षण अभियानमा हातेमालो छ।धरपुला सामुदायिक वन घेरवार कार्यक्रम स्याला(स्वतर) ल्याउने दाउरा पसाल्ने,कसैले नयाँ घर निर्माण गर्दा रुख काट्न पुर्जीको प्रवन्ध गरिएको छ ।

एक रुख काटेवापत ८ हजार ५ सय रुपैयाँ तिर्न गरिएको छ । भने दाउरा र स्याउलाको प्रति भारी ५० रुपैयाँ उठाउने गरिएको छ । एक वर्षमा तीन पटक दाउरा स्याउला पसाल्ने गरिएको सामुदायिक वनका अध्यक्ष बुढाले जनाए । उक्त संकलित रकम वनको नरालो(चौकिदार) तलब र वृक्षारोपण खर्च लगानी हुने गरेको छ । वनको नरालो(चौकिदार)लाई मासिक १५ हजार तलबको व्यवस्थापन गरिएको बताइएको छ । यता सिंजा –६ का वडा अध्यक्ष लालबहादुर बुढाले सामुदायिक वन जोगाउन वडाले ३ लाख ५० हजार रुपैयाँ लगानी गरेको बताए । धरपुला सामुदायिक वन घेरवार कार्यक्रम अन्तर्गत बजेट छुट्टयाइएको हो । बुढाले भने, “वन संरक्षणमा उपभोक्ताको सहभागिता उत्साहजनक छ । जुम्लाकमा विभिन्न कारणले वन क्षेत्र मासिँदै गइरहेकाले स्थानीय सरकारले यसको संरक्षणका लागि पहल गरिरहेको छ । सरकारको पहलले मात्रै वन संरक्षण हुने सम्भावना न्यून रहेकाले उपभोक्ता आफैँ अग्रसर हुन जरुरत छ ।”, उनले भने, “आफ्नो वन आफैँ जोगाउनुपर्छ भनेर हामी सबै जुटेका छौँ ।”

“यो वन जोगाउनुपर्छ,पाखोमा विरुवा वृक्षारोपण गर्ने र वनको सुरक्षा गर्ने भन्ने सोचको परिणाम हो ।” वन जोगे पानीका मुहान संरक्षण र व्यवस्थापनमा सजिलो हुनेछ । स्थानीय युवा दलबहादुर बुढाले वनको संरक्षण, संवद्र्धन, विकासमा वडा सरकारको महत्त्वपूर्ण योगदान गरेको बताए । सामुदायिक वनलाई समृद्धिको आधार बनाउन सरकार जिम्मेवार भएर लाग्नुको राम्रो कुरा हो ।

यता डिभिजन वन कार्यालय जुम्लाका अनुसार जुम्लाको कुल क्षेत्रफल २ लाख ५३ हजा १ सय हेक्टरमध्ये जम्मा वन क्षेत्र १ लाख ४ हजार ५ सय ७० हेक्टर (४१.३१४) छ । कुल सामुदायिक वन उपभोक्ता समुहहरु २ सय १६ वटा दर्ता छन् । सामुदायिक वन पनि सोहि संख्यामा रहेका छन् । ९ वटा निजी वन सम्वन्धित निकायमा दर्ता भएका छन्, भने यस्तै जुम्लामा १ सय २७ वटा कबुलियती वन दर्ता गरिएको छ ।

जुम्लाको वन क्षेत्रलाई वनस्पतिको प्रजातिको आधारमा, भौगोलिक वितरणको आधारमा र उचाईको आधारमा निम्न तालिकामा विभाजन गरिएको छ ।