२०८१ चैत्र ३
×

Now Playing

विद्युत सुविधा नहुँदा अस्पताल अन्धकारमा

डोल्पामा रहेको एक मात्र जिल्ला अस्पतालले विद्युतको चरम समस्या भोग्नु परेको छ । अस्पताल स्थापना भएदेखि नै देखिएको बत्तीको समस्या अझै जस्ताको तस्तै छ ।

जिल्ला अस्पतालमा नियमित विद्युत सुविधा नहुँदा कार्यरत चिकित्सकलाई उपचारमा समस्या भएको छ । विद्युत नियमित नआउने र घाम नलाग्दा सोलार पनि चार्ज हुन छोडेपछि मोबाइल बालेर जटिल खाले शल्याक्रिया गर्नु परेको डाक्टर अखण्ड उपाध्यायले गुनासो गरे ।

डाक्टर उपाध्यायले भने, ‘बजारमा बत्ती आउँछ तर अस्पतालमा बत्ती आउँदैन्, अस्पतालमा बत्ती नियमित गराउन विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रलाई अनुरोध गर्छौं तर पनि सुनुवाई हुँदैन ।’

‘जब शल्याक्रिया गनुपर्ने हुन्छ तब लाइन हुँदैन,उपचारमा संलग्न चिकित्सककै मोबाइलको टर्चको भरमा बिरामीको शल्याक्रिया गर्नुपर्छ ।’

मोबाइल टर्चको धिपधिपे उज्यालोमा शल्याक्रिया गर्दा चिरफार,ब्लड प्रेसर नाप्दा, सुइ लगाउँदा, उपकरण जुटाउँदा, औषधि दिँदा अनेक प्रकारका समस्या चिकित्सकले झेल्नु पर्ने डाक्टर उपाध्यायले बताए ।

जिल्लाका दुरदराजबाट बिरामीहरु उपचारका लागि डोल्पा अस्पतालमा पुग्ने भएकाले अस्पतालमा नियमित विद्युतको व्यवस्था गरिदिन आग्रह गरिएको छ ।

कर्णाली प्रदेश सरकारमा डोल्पाकै उर्मिला विश्वकर्मा जलस्रोत तथा उर्जा विकास मन्त्री छन् । तर पनि अस्पतालको समस्या समाधान हुन सकेको छैन ।

जिल्लाबाटै सम्बन्धित क्षेत्रको मन्त्री हुँदा पनि दुर्गममा सञ्चालित अस्पतालले उर्जाको समस्या वर्षौंदेखि भोग्नु दुखद भएको डोल्पाली बताउँछन् । आफू ठाउँमा भएको बेलामा अस्पतालको समस्या समाधान गर्न मन्त्री विश्वकर्मालाई उनीहरुले आग्रह गरेका छन् ।