विपद् जोखिम न्यूनिकरण गर्न : नगरमा स्वयंसेवक ब्युरो गठन
जुम्लाको चन्दननाथ नगरपालिकाले विपद् जोखिम न्यूनिकरण गर्न स्वयंसेवक ब्युरो गठन गरेको छ । स्वयंसेवक ब्युरोमा ४० जना युवायुवतीहरु समेटिएका छन् ।
पछिल्लो समयमा विपद्का घटना बढ्न थालेपछि सचेतना फैलाउनेदेखि खोज, उद्धारका कार्यमा परिचालन हुने गरेर स्वयंसेवक ब्युरो गठन गरिएको विपद् शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए । उनका अनुसार ब्युरोअर्न्तगत ७ वटा कार्यदल बनाइएको छ । उनीहरुले विपद् जोखिम न्यूनिकरणका लागि गर्नुपर्ने सचेतना फैलाउनेदेखि खोज, उद्धार र क्षतिको आँकलन गर्नेछन् ।
यता चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतका अनुसार प्राथमिक उपचार, स्वास्थ्य तथा सरसफाइ, खोज तथा उद्धार, क्षति आँकलन तथा आवश्यकता पहिचान, पूर्वसूचना प्रणाली, राहत व्यवस्थापन तथा पुनःस्थापन र लैंगिक समानता तथा संरक्षण कार्यदल बनाइएको छ । जसमा नगरपालिकाभित्रका १ देखि १० वटै वडाका युवायुवतीहरु सहभागीता गरिएको छ । आगामी दिनमा कार्यदललाई क्षमता विकास सीप दिएर नगरक्षेत्रमा कुनै पनि विपद्का गतिविधिदेखि सामाजिक सेवाका लागि खटाइनेछ ।
नगरपालिकाले नगर स्वयंसेवक ब्युरो कार्यविधि तयार पारेको छ । सोहीअनुसार कार्यक्षेत्रमा खटाइने र विपद् प्रतिकार्य योजना बनाएर उनीहरुलाई परिचालन गर्ने तयारी भइरहेको नगरप्रमुख कठायत बताउँछन् । नगरक्षेत्रमा भूकम्प, बाढीपहिरो, आगलागी,चट्याङ लगायतका विपद्बाट जोगिन सचेतना फैलाउन र खोज तथा उद्धारमा ब्युरोको भरपुर प्रयोग गरिनेछ ।
यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको सहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजना प्रमुख ईश्वरा सुवेदीले विपद् व्यवस्थापनमा चाहिने जनशक्ति निर्माण भइसकेको बताइन् ।
उनका अनुसार स्थानीय सरकारसँग पर्याप्त सचेतनाका साथै वित्तीय र भौतिक स्रोतको कमी रहेको अवस्थामा स्वयंसेवकहरुको भूमिका महत्वपूर्ण रहनेछ।स्वंसेवकका मार्गदर्शक मानवता, प्रतिवद्धता, स्वामित्व, समावेशिता, ऐक्यवद्धता, निश्पक्षता, तथष्टता रहेका छन्।बुधबार गठित ब्युरोलाई नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गर्ने छ । रेडक्रसले स्वयंसेवक ब्युरोलाई झोला र ज्याकेट दिइएको छ । चन्दननाथ नगरपालिका उप–प्रमुख रामुदेवी खड्काले नगरक्षेत्रमा आपतकालीन कुनै पनि समस्या संबोधनका लागि ब्युरोले साथ दिने बताइन् ।
उनले भनिन्, ‘विपद् रोक्न पूर्वतयारीस्वरुप ब्युरोको निर्माण गरिएको हो । अब सचेतनादेखि क्षमताको मूल्यांकन उसैले गर्नेछ ।’ यस्तै नेपाल रेडक्रस सोसाइटीका जुम्ला सभापति लोकदर्शन श्रेष्ठले विपद् तथा उद्धारमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्न ब्युरो सक्रिय रहने विश्वास व्यक्त गरे ।
विपद् आएको बेला स्थानीय साधनस्रोतहरुको व्यवस्थापन गरेर ब्युरोको परिचालन प्रभावकारी ढंगले हुनेछ । उनले भने, ‘नगरले यसलाई सक्षम जनशक्तिका रुपमा विकास गर्न जरुरी छ । जसमा रेडक्रसको निरन्तर सधैं साथ सहयोग रहनेछ ।’