शिक्षकहरुलाई शिक्षक संघको आग्रह : कोरोना खोप नलगाएसम्म विद्यालय नजानु
काठमाडौं । कोरोनाविरुद्धको खोप नलगाएसम्म विद्यालय नजान नेपाल शिक्षक संघले शिक्षकहरुलाई आग्रह गरेको छ। संघले संक्रमितका लागि निःशुल्क र सुलभ स्वास्थ्य उपचारको प्रबन्ध गर्न पनि सरकारसँग माग गरेको छ।
संघले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारीको विषम परिस्थितिमा समेत विद्यालयमा उपस्थित हुनैपर्ने अमानवीय उर्दी लगाउने स्थानीय सरकारहरुको ज्यादती तत्काल बन्द गर्नसमेत माग गरेको छ।
‘सम्पूर्ण शिक्षाकर्मीका लागि तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने अन्यथा नो स्कुल रिज्युम विथआउट भ्याक्सिन भन्ने नारालाई उद्घोष गर्दै राज्यले खोप उपलब्ध नगराउँदासम्म विद्यालय नजानका लागि शिक्षकहरुलाई आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।
स्वास्थ्य सुरक्षा बिमाको व्यवस्था गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र परिवारको कुनै एक सदस्यलाई रोजगारी दिन र पेन्सन अवधि नपुगेको भए अवधि थप गरी परिवारलाई निवृत्तिभरण उपलब्ध गराउन संघले सरकारसँग माग गरेको छ।
कोरोना संक्रमणबाट निधन भएका नेपाल शिक्षक सङ्घका सदस्यका परिवारलाई संघीय कार्यसमितिका तर्फबाट तत्कालका लागि दस हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि संघले गरेको छ।
शिक्षाकर्मीहरुको पेसागत सुरक्षा, हकहितको संवर्द्धन र शैक्षिक क्षेत्रको समस्याहरुको समाधानार्थ नेपाल शिक्षक महासंघद्वारा घोषणा गरिएको ध्यानाकर्षण तथा पक्षीकरणका कार्यक्रमलाई सक्रियतासाथ दबाब निर्माण गर्न संघले सबै संरचना र सदस्यलाई अनुरोध गरेको छ।