संघीय मन्त्रीपरिषद्मा ओली र देउवाको वर्चस्व रहदा कर्णाली पुछारमा
केन्द्रिकृत मानसिकतामा जहिल्यै हेपिने कर्णालीलाई यस पटक पनि दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले पुछारमा पारेका छन् । अन्य समय कर्णाली राजनीतिको केन्द्रविन्दुमा रहेको जनाउने यी दलले सोमबार गठन भएको मन्त्रीपरिषद्मा कर्णालीलाई पुछारमा पारेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको शपथ लिएसँगै मन्त्रीपरिषद् पनि गठन गरेका छन् । ओलीले २२ सदस्यीय मन्त्रीपरिषद् बनाएका छन्, जसमा दुई उपप्रधानमन्त्री छन् भने १९ मन्त्री छन् । शपथकै दिन प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्लाई पूर्णता दिएर काममा ध्यान केन्द्रित गर्ने लक्षण देखाएका छन् । तर, यो मन्त्रीपरिषद् समावेशीका दृष्टिले कमजोर देखिएको छ ।
महिला दुई जना मात्र छन् भने दलित शून्य छ । जनजाति चार जना छन् भने मधेशी समुदायको भने राम्रो उपस्थिति छ । प्रदेशगत प्रतिनिधित्वका हिसाबले सन्तुलन मिलेको छैन । कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने ओलीको मन्त्रीपरिषद्मा मधेश प्रदेशको वर्चस्व छ । मधेश प्रदेशबाट ६ मन्त्री बनेका छन् । ओलीको गृह प्रदेश कोशीबाट चार र कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम प्रदेशबाट पनि चार जना मन्त्री बनेका छन् ।
मन्त्रीपरिषद्मा अन्य ६ वटै प्रदेश प्राथमिकतामा पर्दा कर्णालीले भने एक मन्त्रालय मात्र पाएको छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको ओली नेतृत्वको सरकारमा कर्णालीको प्रतिनिधित्व गर्दै मुगुका कांग्रेस नेता ऐनबहादुर शाही वनमन्त्री बनेका छन् । यति मात्रै होइन ओली मन्त्रीपरिषद्मा उनलाई अन्तिम वरीयता राखिएको छ ।
सुरुमा कांग्रेसबाट सुर्खेतका हृदयराम थानी मन्त्री बन्ने चर्चा भएपनि अन्तिममा आएर उनको नाम काटिएको छ । थानी शेखर कोइराला समूहका नेता भएकाले उनी मन्त्रीको लाइनबाट हटाइएका हुन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कर्णालीमा निल रहेको एमालेले समानुपातिकतर्फका सांसदलाई मन्त्रीको लाइनमा ल्याउन चाहेन । पहिलो पटक मन्त्री बनेका शाही कांग्रेसभित्र शेरबहादुर देउवा निकटका हुन् । शाही मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । २०२६ फागुनमा मुगुको सोरु गाउँपालिका–२ मा जन्मेका शाही २०४४/०४५ बाट कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा होमिएका थिए ।
बहुदलीय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०७० मा पहिलोपटक संविधानसभा सदस्यको उम्मेदवार रहेका शाही झिनो मतान्तरले पराजित भएका थिए । उनी २०७८ मा पुनःकांग्रेस मुगु सभापति बनेका थिए ।
२०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका शाहीले निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई झण्डै चार हजार बढीको मन्तारन्तरले पराजित गर्दै पहिलो पटक सांसद भएका थिए । भद्र र सालिन नेताका रूपमा परिचित शाहीले समग्र मुगु जिल्लाको विकासमा ठुलो योगदान पु¥याएका छन् । हाल नेपाली कांग्रेसको मुगु सभापति रहेका शाहीले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् ।
ओली र देउवाकै वर्चश्व
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको नयाँ सरकारको मन्त्रीपरिषद्मा दुवै दलका शीर्ष नेताका गृह प्रदेशबाट समान चार–चार जना मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश कोशीबाट नवगठित मन्त्रीपरिषद्मा चार–चार जना परेका छन् ।
चौथो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका अध्यक्ष ओलीसहित कोशी प्रदेशबाट एमालेबाट ३ र कांग्रेसबाट १ जना मन्त्रीपरिषद्मा समेटिएका छन् । कोशी प्रदेशबाट एमालेबाट प्रधानमन्त्री ओलीसँगै भौतिक मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई तथा कांग्रेसबाट ऊर्जामन्त्री दीपक खड्का मन्त्री परिषद्मा समेटिएका छन् । कांग्रेस सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिमबाट कांग्रेसका ३ र एमालेका १ जना मन्त्री परिषद्मा समेटिएका छन् । कांग्रेसले समानुपातिक सांसद डा. आरजु राणा देउवासँगै कञ्चनपुरका रमेश लेखक र बाजुराका बद्री पाण्डे तथा एमालेले बैतडीका दामोदर भण्डारीलाई मन्त्री बनाएको छ ।
कांग्रेसले देउवापत्नी डा. राणालाई परराष्ट्र, कञ्चनपुर–३ बाट विजयी लेखकलाई गृह र बाजुराबाट विजयी पाण्डेलाई पर्यटन मन्त्री तथा एमालेले बैतडीबाट विजयी भण्डारीलाई उद्योगमन्त्री बनाएको छ । कांग्रेसका राणा र पाण्डेका लागि मन्त्रीपरिषद् नयाँ अनुभव हो । लेखकले यसअघि मन्त्रालय सम्हालिसकेका छन् । यस्तै एमालेका भण्डारी पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री थिए ।
अन्य दललाई सरकारमा सहभागी गराउँदा मधेश प्रदेशले ६ जना मन्त्री पाएको छ । मधेशले कांग्रेसबाट २, एमालेबाट १, सत्ता साझेदार जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ सहित ६ जना मन्त्री पाएको छ ।
कांग्रेसले ओली नेतृत्वको मन्त्रीपरिषद्मा मधेश प्रदेशबाट पर्सा–२ का अजयकुमार चौरसिया र सप्तरी–४ का तेजुलाल चौधरीलाई पठाउँदा एमालेले पर्सा–३ का राजकुमार गुप्तालाई सहभागी गराएको छ । त्यस्तै अशोक राई नेतृत्वको जसपाले प्रदीप यादव र नवलकिशोर साह सुडी तथा लोसपाले शरतसिंह भण्डारीलाई मधेसबाट मन्त्रीपरिषद्मा प्रतिनिधित्व गराएका छन् ।
ओली नेतृत्वको सरकारमा मधेश प्रदेशको पर्सा एक्लैले ३ जना मन्त्री पाएको छ । पर्साबाट जसपाका सांसद प्रदीप यादव, कांग्रेस सांसद अजयकुमार चौरसिया र एमाले सांसद राजकुमार गुप्ता मन्त्री बनेका छन् । यादव पर्सा–१, चौरसिया पर्सा–२ र गुप्ता पर्सा–३ बाट निर्वाचित सांसद हुन् ।
पर्सा–४ बाट निर्वाचित कांग्रेस सांसद रमेश रिजाल प्रचण्ड नेतृत्वको सरकारमा (२०८० फागुन २१ सम्म) उद्योगमन्त्री थिए । कांग्रेस–एमाले गठबन्धनको सरकारमा बागमतीबाट प्रकाशमान सिंह उपप्रधान तथा शहरी विकास, प्रदीप पौडेल स्वास्थ्य र रामनाथ अधिकारी कृषिमन्त्री छन् ।
उनीहरु तीनैजना कांग्रेस नेता हुन् । २०७९ को निर्वाचनमा सिंह काठमाडौं–१, पौडेल काठमाडौं–५ र अधिकारी धादिङ–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । गण्डकी प्रदेशबाट एमालेले दुई जना र लुम्बिनी प्रदेशबाट दुई जना मन्त्रीपरिषद्मा पठाएको छ ।
एमालेले गण्डकीबाट पृथ्वी सुब्बा गुरुङ र विद्या भट्टराई तथा लम्बिनीबाट विष्णुप्रसाद पौडेल र बलराम अधिकारीलाई ओली नेतृत्वको सरकारमा मन्त्रीका रुपमा पठाएको हो । गण्डकीबाट गुरुङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ भने भट्टराईलाई शिक्षा मन्त्री बनाइएको छ । त्यस्तै लुम्बिनीबाट पौडेललाई उपप्रधान तथा अर्थ मन्त्री बनाएर सरकारमा पठाइएको हो भने अधिकारी भूमिसुधार मन्त्री छन् । उनी पूर्ववर्ति प्रचण्ड नेतृत्वको सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारीमा थिए ।