सन्दीप लामिछानेमाथि शर्तैशर्त : विदेश जान रोकदेखि मोबाइल ट्र्याक गर्नेसम्म
काठमाडौं,२९ पाैष ।
क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन्। उनी भोलि धरौटी जम्मा गरेर रिहा हुनेछन्। उच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो।
उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ। अदालतले लामिछानेको मोबाइल ट्र्याक गर्ने अधिकारसमेत प्रहरीलाई दिएको छ। पीडित किशोरी उनको परिवारलाई समेत भेटघाट गर्न नदिने शर्त आदेशमा उल्लेख छ।
’प्रस्तुत मुद्दाको फैसला नभएसम्मको लागि प्रतिवादीलाई नेपालबाहिर जानबाट रोक लगाइएको छ। प्रतिवादीको नाउँमा जारी भएको राहदानी रोक्का गर्नु र प्रतिवादीलाई विदेश जानबाट रोक लगाइएको यस आदेशको कार्यान्वयन गर्नु भनी यथाशिघ्र नेपाल सरकार गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा लेखी पठाउनू,’ आदेशमा भनिएको छ, ।
’प्रस्तुत मुद्दाको जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारको सदस्यको सम्बन्धमा वा प्रस्तुत विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा कुनै टीका टिप्पणी वा धारणा व्यक्त गर्न प्रतिवादीलाई रोक लगाइएको छ।
आफू वा आफू सम्बद्ध सस्था वा व्यक्तिहरुवाट जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारसंग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सोसम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ।’
त्यस्तै काठमाडौं उपत्यका छाड्नसमेत लामिछानेले प्रहरीलाई निवेदन लेख्नुपर्नेछ। ’कुनै काम विशेषका कारण प्रतिवादीले काठमाडौं उपत्यका छोड्नु पर्दा छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोको लिखित जानकारी दिनुपर्ने छ। सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्किने मिति तथा उपत्यका बाहिर रहने स्थानसमेत खुलाउनु पर्नेछ,’ आदेशमा भनिएको छ,।
’माथिका खण्डहरुमा उल्लिखित आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनको लागि प्रतिवादीको गतिविधिको निगरानी गर्ने एवं निजको मोबाइल नम्बर, टेलिफोन नम्वरमा सेवा प्रदायक संस्थामार्फत् पहुँच राखी सोसँग सम्बन्धित सामग्री या विवरणको सञ्चार अभिलेख गर्नको लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ। त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री या विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्ने छ। जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री या विवरण उपलब्ध गराउनु पर्नेछ। यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिनु।’
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।
कान्तिपुर