सम्पादकीयः प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर !
यति बेला सिङ्गो नेपाल पत्रकार महासंघ देशव्यापी आन्दोलमा छ । १५ चैतमा काठमाण्डौंको तिनकुनेमा राजतन्त्र पक्षधरको अराजक आन्दोलनमा सिङ्गो प्रेस स्वतन्त्रतामाथि हमाल भएपछि महासंघले सांकेतिक आन्दोलन थालेको हो । बहुमत जनताले अस्वीकृत गरिसकेको राजतन्त्र पुनसर््थापनाको माग गर्दै सडकमा उत्रिएका आन्दोलनकारीको अराजकताका कारण एक जना पत्रकारको आगोमा जलि ज्यान गएको छ । अन्य केही पत्रकारहरु घाइते भएका छन्, भने सञ्चारगृहमाथि योजनावद्ध तरिकाबाट हमाला गरिएको छ । आमनागरिकमा सूचना सम्प्रेषण र विचार निर्माण गर्न सघाउने स्वतन्त्र प्रेसमाथी हमाला भएको घटनालाई सामान्यरुपमा लिन सकिँदैन । पत्रकार हत्यामा संलग्न व्यक्तिमाथी अनुसन्धान गरी फौजदारी अभियोगमा कारबाही हुनुपर्दछ । परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था यथाशिघ्र हुनुपर्दछ । घाइते पत्रकारको उपचारको उचित प्रबन्ध राज्यले मिलाउनु पर्दछ । लोकतन्त्रको मेरुदण्ड मानिएको प्रेस स्वतन्त्रता कुनै पनि राष्ट्रको समुन्नति र प्रजातान्त्रिक मूल्यमान्यताको आधारभूत तत्व हो ।
स्वतन्त्र प्रेस बिना नागरिकको सत्य सूचना पाउने अधिकार गुम्छ । सरकारको पारदर्शिता खण्डित हुन्छ र समाजमा निरंकुशता मौलाउने खतरा बढ्छ । तर, पछिल्लो समय नेपालमा प्रेस स्वतन्त्रतामाथी विभिन्न बहानामा अंकुश लगाउने प्रवृत्ति देखिन थालेको छ । जसले लोकतन्त्रलाई कमजोर बनाउने बनाइरहेको छ । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको भएपनि व्यवहारमा भने पत्रकारहरू धम्की, दबाब र हिंसाको शिकार भइरहेका छन् । राज्यका विभिन्न संयन्त्रहरू, कानुनी जटिलता तथा अन्य आर्थिक तथा सामाजिक प्रभावहरू पत्रकारितालाई स्वतन्त्र रूपमा सञ्चालन गर्न अवरोध बन्दै आएका छन् । कतिपय अवस्थामा सूचना प्रवाहलाई नियन्त्रित गर्न खोजिएको देखिन्छ ।
जसले नागरिकलाई सत्य जान्ने अवसरबाट बञ्चित गर्दछ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने अवस्था सिर्जना भएमा समाजको अन्य क्षेत्रहरू पनि प्रभावित हुन्छन् । प्रेस स्वतन्त्रतामाथीको कुनै पनि प्रकारको हस्तक्षेपले नागरिकको बौद्धिक स्वतन्त्रता, निर्णय क्षमता र लोकतान्त्रिक प्रक्रियामा भाग लिन सक्ने अवसरलाई सीमित बनाउँछ । त्यसैले, सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रभावकारी कदम चाल्न आवश्यक छ । प्रेस स्वतन्त्रताविरोधी कानुनी प्रावधानलाई परिमार्जन गर्न, पत्रकारहरूमाथी हुने दमन अन्त्य गर्न र प्रेस जगतलाई सुरक्षित तथा सशक्त बनाउन ठोस नीति ल्याउन जरुरी छ । साथै, आम नागरिक, नागरिक समाज र स्वयं पत्रकारहरूले पनि प्रेस स्वतन्त्रताको पक्षमा एकजुट भएर आवाज उठाउनु आवश्यक छ । लोकतन्त्रलाई जीवन्त राख्न स्वतन्त्र प्रेस अपरिहार्य छ । यसर्थ, सरकार र सरोकारवाला पक्षहरूले प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्ने सुनिश्चितता गर्नुपर्छ । प्रेस स्वतन्त्रताको रक्षा गर्नु भनेको लोकतन्त्रको रक्षा गर्नु हो । कुनै पनि बहानामा प्रेस स्वतन्त्रता कुण्ठित हुनु स्वीकार्य छैन ।