सम्पादकीय: अपराध न्यूनिकरणमा सचेत बनौं


कर्णाली प्रदेशमा पछिल्ला वर्षहरुमा अपराधका घटनाहरु बृद्धि हुँदै गएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकलाई विष्लेषण गर्ने हो भने पछिल्ला वर्षहरुमा अपराधिक घटनाले बढवा पाउँदै गएको देखाउँछ । जसमा विगता चार वर्षमा कर्णालीमा ६ हजार तीन सय ८० अपराधका घटनाहरु भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष ०८१÷०८२ को माघ महिनासम्ममाएक हजार ८९ वटा अपराधका घटना भए । आर्थिक वर्ष २०८०÷०८१ मा दुई हजार २० वटा, आर्थिक वर्ष २०७९÷०८० मा एक हजार सात सय ५७ वटा र आर्थिक वर्ष २०७८÷०८९ मा एक हजार पाँच सय ४० वटा अपराधका घटना प्रहरीमा दर्ता भएको तथ्यांक छ । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या सम्बन्धी अपराधका घटना धेरै हुने गरेकाछन् । पछिल्लो चार वर्षको अवधीमा कर्णाली प्रदेशका १० जिल्लामा एक हजार एक सय ९२ वटा आत्महत्याका घटना भएका छन् ।प्रदेशमा घट्ने धेरै जसो अपराधका घटना आर्थिकसँग जोडिने गरेका छन् । पैसा छिटो कमाउने उद्देश्यले जानेर वा नजानेर अपराधका घटनाहरू हुने प्रहरीको तथ्यांक छ ।प्रहरीको यो तथ्यांकले समाजको कुरुपता देखाउछ । समाजको स्थायित्व, शान्ति र समृद्धिको मुख्य आधार कानुनी शासन तथा नैतिक उत्तरदायित्व हो ।

तर, पछिल्लो समय अपराधका घटनाहरू दिन प्रतिदिन बढ्दै गएका छन् । चोरी, डकैती, हत्या, बलात्कार, ठगीजस्ता जघन्य अपराधहरू मात्र होइन, साइबर अपराध, लागुऔषध ओसारपसार, भ्रष्टाचार र सामाजिक हिंसाले पनि समाजलाई विकृत बनाइरहेको छ । यस्तो परिस्थितिमा अपराध न्यूनीकरण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । अपराध न्यूनिकरणका लागि पहिलो र सबैभन्दा प्रभावकारी उपाय कानूनको कडाइपूर्ण कार्यान्वयन हो । यदि कानूनी व्यवस्था चुस्त र प्रभावकारी भएन भने अपराधीहरू दण्डहिनताको महसुस गर्छन्, जसले अपराधको वृद्धि गर्न प्रेरित गर्छ। अपराधीहरूलाई शीघ्र न्याय दिलाउने, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउने र भ्रष्टाचारमुक्त प्रशासनिक संयन्त्र निर्माण गर्ने कार्य गर्नुपर्ने आवश्यकता छ ।त्यस्तै, अपराध नियन्त्रणमा समाज र परिवारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। अपराध न्यूनीकरणका लागि नैतिक शिक्षा, सामाजिक सचेतना र रोजगारका अवसरहरू सिर्जना गर्नु अपरिहार्य छ।

गरिबी, अशिक्षा, बेरोजगारीजस्ता सामाजिक कारणहरू अपराध वृद्धि हुनुको मुख्य कारण हुन्। यदि युवा पुस्तालाई सीपमूलक तालिम, रोजगारका अवसरहरू तथा सकारात्मक क्रियाकलापहरूमा संलग्न गराइयो भने उनीहरू अपराधको बाटोबाट टाढा रहनेछन् ।सुरक्षा निकायको सुदृढीकरण, प्रविधिको प्रभावकारी प्रयोग, सामुदायिक पुलिसिङ प्रणालीको विकास, साइबर सुरक्षा सचेतना तथा सामाजिक मूल्य–मान्यताप्रति बढ्दो प्रतिबद्धता अपराध न्यूनीकरणका लागि आवश्यक छन् । साथै, प्रत्येक नागरिकले कानूनको पालना गर्ने बानी बसाल्नु, शंकास्पद गतिविधिहरूको बारेमा सुरक्षा निकायलाई खबर गर्ने तथा सामाजिक सचेतना अभियानमा सक्रिय सहभागिता जनाउनु अनिवार्य छ । हामी सबैको साझा प्रयासबाट मात्र अपराधरहित समाजको निर्माण सम्भव छ । अतः अपराध न्यूनीकरणका लागि हामी सबै सचेत बनौं, कानूनी शासनको सम्मान गरौं, समाजका विकृति हटाउन जुटौं र सुरक्षित तथा समुन्नत भविष्यतर्फ उन्मुख होऔं ।

Leave a comment

Your email address will not be published. Required fields are marked *