२०८१ चैत्र २
×

Now Playing

सम्पादकीय: कर्णाली राजमार्गमा कहिलेसम्म सास्ती ?

सुर्खेतबाट साविकको कर्णाली जोड्ने राजमार्ग बनेको दुई दशक पुग्न लाग्यो । कर्णाली राजमार्गले चिनिने सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत सुर्खेतको बांगेसिमलबाट जुम्ला जुगाड खोलासम्मको लम्बाइ २ सय ३२ किलोमिटर छ । कर्णाली भ्रमणमा आउँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहको हुकुमपछि नेपाली सेनाले द्रूत गतिमा सडकको ट्रयाक खोलेको थियो । २०६३ साल चैत ३० गते पहिलो पटक जुम्लामा गाडी पुगेको थियो । यो राजमार्गमा गाडी चल्न थालेपछि यहाँका नागरिकको जीवनस्तरमा धेरै परिवर्तन ल्यायो । यसले कर्णालीका नागरिकलाई कैलाली, बर्दिया राजापुरको हाट बजारसम्म मात्र ल्याएन, कर्णालीलाई संघीय राजधानीसँग जोड्न पनि सहज बनायो ।

कर्णालीमा यातायात सेवा पुगेसँगै यहाँका नागरिक र बाहिरबाट आउने नागरिकको आवातजावतले तिला र कर्णालीका उजाड बगरहरू बजारीकरण भए । यहाँका पसलेहरू होलसेल बिक्रेतामा रूपान्तरण भए । पैदलयात्रा गरेर २६ दिन लगाएर जाने हाट एक दिनमा नजिकियो । विगतमा हिँडेका गोरेटाहरू अहिले बाटोहरू बने । ठाउँ–ठाउँमा होटलहरू खोलिए । बगरको बालुवामा हटेरु–नुन तेल लिन हाटबजार जानेहरूले खाना पकाएर खाने दिन पनि गए । मानिस हाटबजार जाँदा होटलमा पैसा तिरेर खाना खान थाले । यसले यातायात सेवा पुगेपछि गाउँहरू सहरहरूसँग जोडिँदा कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव दिलायो । मुगु, जुम्ला र कालीकोटका स्याउ, सिमी, फापरलगायतका स्थानीय बालीहरू सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौंसम्म पुगे । यो राजमार्गले सहरका वस्तुहरू गाउँमा, गाउँका वस्तुहरू सहरमा, सहरको संस्कृति गाउँमा, गाउँको संस्कृति सहरमा घुलमिल गरायो। जसको प्रतिफल आधुनिकताले सडक छेउ मात्र होइन, गाउँ बस्तीलाई समेत छोडेन ।

कर्णाली राजमार्ग सञ्चालनपछि यहाँका हरेक नागरिकलाई ‘सहरिया’ बनायो । गाउँमा कुटो कोदालो गरेर बसेका मानिसहरू राजमार्ग छेउका डरलाग्दा भीरमा पनि घरटहरा निर्माण गरेर व्यापार व्यवसाय गर्न थाले । यहाँका भीरपाखामा व्यापार व्यवसाय गरेर होस् वा यहाँका विकट बस्तीहरूमा जागिर खाएर कमाएको पैसाले सुर्खेत, नेपालगन्ज, काठमाडौंका साथै मुलुकका अन्य ठूला सहरमा घर घडेरी जोड्न थाले । यहाँका कमाउने हरेक परिवारको सपना ठूला शहरमा घडेरी जोड्ने सपनामा परिवर्तन भयो । प्रायः यहाँका कमाउने हरेक परिवारहरूले अहिले सुर्खेत, नेपालगन्ज, कैलालीदेखि काठमाडौंमा, कहीँ न कहीँ घरघडेरी बनाएका छन् ।

कर्णालीमा सडकले जन्माएका सपनाबाट सिर्जित कार्यले सडक छेउका केही नागरिकलाई त सफलता मिल्यो । तर, यहाँका बिकट बस्तीका अन्य नागरिकले भने धेरै सास्ती भोग्नु परेको छ । कर्णाली राजमार्गअन्र्तगत बढीजसो कालीकोट र केही दैलेख सडक खण्डमा निर्माण गरिएका कतिपय घरहरू बाढी र पहिरोको उच्च जोखिममा छन् । साँघुरो सडक छेउमा बस्दै आएका यहाँका नागरिकलाई आफ्ना घरमा कहिले यातायातका साधन ठोकिने हो भन्ने समस्या छ । कहिले भिरै भत्केर कर्णाली नदीमा परिएला कि भन्ने पिर पनि उस्तै छ । साँघुरो र जीर्ण यो राजमार्गमा यात्रा गर्ने कैयौंले ज्यान पनि गुमाएका छन् ।

कर्णाली राजमार्ग कर्णालीवासीहरूका लागि मृत्युमार्गका रूपमा लिने गरिएको छ । यो राजमार्ग सञ्चालन भएदेखि हालसम्म यात्रुबाहक बस, ट्याक्टर, मिनी टाटा, मिनी ट्रक, जिपलगायत साना ठूला गरी २ सयभन्दा बढी सडक दुर्घटना भएका छनू । एक सयभन्दा बढी दुर्घटना त कालीकोट खण्डमा मात्र भएका छन् । दैलेख र जुम्लामा पनि सयभन्दा बढी दुर्घटना भएका छन् । कर्णाली राजमार्ग मात्र होइन, कर्णालीका दशवटै जिल्ला जोड्ने सबै राजमार्गको अवस्था नाजुक छ । हरेक राजमार्गमा यात्रा गर्दा यात्रुलाई गन्तव्यमा पुग्नै मुस्किल पर्ने गरेको छ । सवारी दुर्घटनाको सामाजिक, मानवीय र भौतिक क्षतिको हिसाब किताब गर्नै कठिन छ । प्रदेश ट्राफिक प्रहरीको तथ्यांकले कर्णालीमा बर्सेनि सडक दुर्घटनाको दर बढिरहेको देखाउँछ । कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालीकोट खण्डका विभिन्न स्थानमा साँघुरा मोडहरू छन् । राजमार्गको एक मोडबाट अर्को मोडमा आएको गाडी देख्न सकिँदैन । कर्णालीका धेरै सडकमा ट्राफिक संकेत पनि छैन । यसले दुर्घटनाको जोखिम बढाइरहेको छ। साँघुरा र अप्ठ्यारा सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायतका कारण राजमार्गमा दुर्घटना बढिरहेको छ ।

कर्णालीमा जम्मा ३ हजार ४ सय ३८ किलोमिटरमात्र सडक बनेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । तर, कर्णालीमा राष्ट्रिय सडक सञ्जाल, प्रादेशिक सडकहरू तथा ग्रामीण सडकहरूको एकिन विवरण कुनै पनि निकायले राखेको छैन । कर्णाली प्रदेशमा भौगोलिक जटिलता र सरकारी प्राथमिकता कम हुँदा सडक निर्माणले गति पाउन सकेको छैन । हालसम्म बनेका सडकहरूको अवस्था पनि बेहाल छ । कर्णाली राजमार्ग, छिन्चु–जाजरकोट–डोल्पा सडक खण्ड, सुर्खेत–दैलेख सडक खण्ड तत्काल सुधार गर्न आवश्यक छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको त्रिपक्षिय साझेदारीमा यी सडकको स्तरोन्नती, मर्मत, सुधार, चौडाई विस्तार गर्न आवश्यक छ । प्रदेशका मुख्यमन्त्रीले आफ्नो प्रमुख एजेण्डकै रुपमा दुई वडा सडकलाई केन्द्र सरकारसंग बजेट थप, छुट्टै कार्यालय, कार्यक्रम थप गरिदिन आग्रह गर्दै आएका छन् । यो सकारात्मक पहल हो । पक्ष, प्रतिपक्ष नभेर कर्णालीका लागि सबै प्रतिपक्ष भएर पनि केन्द्रमा दवाव दिन आवश्यक छ ।

कर्णाली राजमार्गको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा चर्चाको विषय बनेको छ । यस क्षेत्रका माननियहरुले विशेष समयमा विशेष प्रस्तावका रुपमा सामुहिक एजेण्डालाई दर्ता गराउन सफल भएका छन् । अब यो विषयले कर्णाली प्रदेश सभामा पनि प्रवेश पाउनुपर्छ । छलफल हुनुपर्छ । सडक दुर्घटनाका घाइते, अपाङ्गता भएको निःशुल्क आजिवन उपचार, घाइते र मृतकका आश्रित परिवारलाई रोजगारीको सुनिश्चिता र छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्छ । एक पटकलाई होइन कानून बनाएर दिर्घकालिन रुपमा सडक दुर्घटना र त्यसको क्षतिका विषयमा प्राथमिकिकरण गरिनुपर्छ । राहत तथा सहुलियको व्यवस्था गरिनुपर्छ । यस क्षेत्रका नागरिक, बुद्धिजिवी सबैको हातेमालोबाट मात्रै कर्णाली सडक सुधार, आम नागरिकको जिवन रक्षा, घाइते तथा अपाङ्गता भएकाहरुको सहज जिवनयापन, छोराछोरीको उच्च शिक्षासम्म सहयोगमा विशेष पहल, खबरदारी गर्न आवश्यक छ ।

सम्पादकीय: कर्णाली राजमार्गमा कहिलेसम्म सास्ती ?

YUGAAWHAN NATIONAL DAILY (2081-05-20)