सम्पादकीय : दशौं राष्ट्रिय खेलको मिति तय गर
गत साताको आइतबार अर्थात २ मंसिरमा कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरको ठुलो खेलकुद प्रतियोगिता आयोजना हुने मिति प्रस्ताव गरिएको थियो । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई सुम्पिएका थिए । ३ कार्तिक २०७९ मा प्रधानमन्त्री देउवाले कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गर्दै प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी कर्णालीलाई सुम्पिएका थिए । गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरामा २०७९ जेठ २२ देखि २८ सम्म भएको नवौँ राष्ट्रिय खेलकुद समापन समारोहबाट कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा मात्रै ल्याएको थिएन, प्रतियोगिता आयोजनाका लागि व्यापक तयारीसमेत गरिरहेको थियो ।
उती बेला राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले परिषद्को ११५ औं बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने निर्णय भएको घोषणा गरेका थिए । सदस्य सचिव घिसिङले घोषणा गरेअनुरुप भएको भए यो सयममा कर्णाली खेलकुदमय बनिरहेको हुने थियो । तर, खेल पूर्वाधार अभावकै कारण कर्णालीमा प्रतियोगिता सञ्चालन हुने वा नहुने भन्नेमा अन्यौलता छाएको छ । कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदकै लागि भनेर खेलपूर्वाधार निर्माण, खेलाडी छनौंटदेखि खेलकुद गतिविधिलाई तिव्रता दिएको भएपनि अन्ततः तोकिएकै समयमा प्रदेश रंगाशाला निर्माण हुन नसक्दा खेलको महाकुम्भ मानिएको प्रतियोगिता अनिश्चितातर्फ धकेलिन गएको छ । पहिलोपटक ठूलो प्रकृतिको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएको कर्णालीले नयाँ खेलकुद पूर्वाधार निर्माणदेखि भएका पूर्वाधारहरू सुधार तथा खेलकुद गतिविधिलाई तिव्रता दिएको कर्णाली खेलकुद विकास परिषद्ले दाबी गर्दै आएको थियो । कर्णालीमा खेलाउन सकिने खेलहरूको वर्गीकरण गरेर १० वटै जिल्लामा सञ्चालन गर्ने गरी तयारी रहेको परिषद्को दाबी थियो । कर्णालीको खेलकुद विकासका लागि पाँच ‘प’ को अवधारणामा काम भइरहेको दाबी गर्ने परिषद् तिनै पाँच ‘प’ मध्येको एक पूर्वाधार निर्माणमा चुकेको छ । पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र प्रतिभा पहिचान नभई कर्णालीको खेल विकास सम्भव नरहेको बताउँने परिषद्ले २ मंसिरलाई आधार मानेर एक सय दिने काउन्ट डाउन सुरुवात समेत गरिसकेको थियो । तर, अधिकांश खेलकुद सञ्चालन हुने कर्णाली प्रादेशिक रंगशाला भने परिषद्ले तय गरेको दशौं खेलकुद प्रतियोगिता समाप्त हुने मितिसम्म पनि सम्पन्न हुने छाँट देखिँदैन । पूर्वाधार निर्माणको चुनौतीका बिच परिषद्को हतारोले दुई अंकको पदक चुम्ने लक्ष्यसहित बन्द प्रशिक्षणमा रहेका १५० बढी खेलाडीहरू निराश बन्दै घर फर्किएका छन् ।
प्रतियोगिता अनिश्चित हुनुको मुख्य कारण नै प्रदेश रंगशाला हो । खेलकुद परिषद्ले प्रतियोगिता प्रस्ताव गरिएको मितिसम्म रंगशाला तयार हुने जनाउँदै आएको थियो । तर, रंगशाला निर्माणको काम अझै बाँकी छ । यसले प्रतियोगितालाई थप पछाडि धकेलेको छ । हालसम्म रंगाशाला निर्माणको काम ९८ प्रतिशत मात्रै सम्पन्न भएको छ । रंगशालाको निर्माणको कार्यप्रगति हेर्ने हो भने अझै पूर्णरुपमा सम्पन्न हुन अझै एकदेखि दुई महिना लाग्ने देखिन्छ । मुख्य आयोजक र व्यवस्थापक रहेका संघ र प्रदेश सरकारले पूर्वाधार निर्माणलाई जोड दिएर प्रतियोगिता सञ्चालन गर्न खोजे पनि परिषद् तावा नतातिँदै बिड तातियो भने झै रंगशालालाई तोकिएकै समयमा निर्माण गर्न छाडेर सय दिने काउण्ट डाउनमा लाग्नु नै हतारो थियो । राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रियस्तरमै महत्वका साथ हेरिने प्रतियोगिता सञ्चालनमा पूर्वाधारको टुङ्गो नलाग्दै हतारिएको खेलकुद परिषद्को कार्यशैलीको गम्भीर समीक्षा हुन जरुरी छ ।
प्रतियोगिताको नयाँ मिति तय नहुँदा प्रतियोगिता सञ्चालनमा अहिले अन्यौलता सिर्जना भएको छ । संघीय सरकारले प्रतियोगिताको नयाँ मिति यथाशिघ्र तय गरेर के कारणले प्रस्ताव गरिएको समयमै प्रतियोगिता सञ्चालन हुन सकेन भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्छ । किन भने पूर्वाधारको सुनिश्चितता नहँुदै आम जनमानसमा सरकार नै दोषी हो हामी तयारी अवस्थामा थियौं भन्ने गलत सन्देश प्रवाह गर्ने परिषद्ले सबक सिकोस । यसले आगामी दिनमा परिषद्लाई आफ्नो जिम्मेवारी पुरा गर्न जवाफदेही बनाउँनेछ । अर्कोतर्फ संघीय सरकारले खेलकुदको नयाँ मिति तय गरी अनिश्चित बनेका खेलकुद गतिविधिहरु चलायमान गराउनु पर्दछ । दशौं खेलकुदका लागि आवश्यक पर्ने कानुनी मापदण्ड, कार्यविधि तथा संरचनाहरु यथाशिघ्र निर्माण गरी आम खेलक्षेत्र मनोबल माथी उठाउन ढिलाइ गरिनु हुँदैन ।