सम्पादकीय : देखाउने दाँत नबनोस् प्रदेश सरकारको कार्य प्रगति
कर्णाली प्रदेश सरकारले आफ्ना कार्यप्रगति सार्वजनिक गरेको छ । सार्वजनिक कार्यप्रगतिमा प्रदेश सरकारले विगतका सरकारभन्दा पृथक कामको सुरुवात गरेको दावी गरेको छ । हरेक सुचाङ्कमा पुछारमा रहेको कर्णाली प्रदेशको प्रणाली सुधारमा नेकपा एमालेका नेता यामलाल कँडेलप्रति नागरिकले ठुलो अपेक्षा राखेका छन् । प्रदेश स्थापनादेखि नै कर्णालीको समृद्धिको विषयमा खरो आवाज उठाउने नेताका रुपमा पनि कँडेललाई आम जनमानसले बुझेका छन् । देश संघीयताको अभ्यासमा गएसँगै स्थापना भएको कर्णाली प्रदेश सरकारले आमनागरिकका जनजिविकासँग जोडिएका विषलाई सम्बोधन गर्न नसकेको आरोप खेप्दै आएकको छ । यसलाई त्यति व्याख्या गरिरहन परेन । जो विगतमा अभ्यास भइसकेको छ ।
खासमा कर्णालीलाई विकासको मुल प्रवाहमा ल्याउन पूर्वाधार विकास बिना सम्भव छैन । कर्णालीलाई विकास मुल प्रवाहमा जोड्न ‘कनेक्टिभिटी’ का तीनवटा ‘वे’ हाइवे, इन्फोवे, ट्रान्सवे अर्थात् यातायात, डिजिटल प्रविधि र विद्युत् पूर्वाधारहरू मुख्य हुन् । सोही बमोजिम कर्णालीको विकटता नभई भूगोललाई विकाससँग जोडिनुपर्छ भन्ने सिद्धान्तका आधारमा विकास मोडल अघि नसारे कर्णाली जहाँको त्यहीँ रहन्छ भनेर भनि रहन पर्दैन । यी पूर्वाधार बिना समृद्ध कर्णाली सम्भव छैन । तर, कर्णालीमा यी तीनवटै कनेक्टिभिटीका ‘वे’ लाई हेर्दा कर्णालीको अवस्था विकट देशभित्रको पनि विकट प्रदेश बन्नुपर्ने बाध्यता छ । कर्णालीमा १२ महिना चल्ने सडक एउटा पनि छैनन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालको कुल जनसंख्याको झण्डै ९२–९३ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँचमा रहेको भने पनि, कर्णालीका ६७ दशमलव ५ प्रतिशत नागरिक अझै बिजुलीको पहुँचबाट टाढा छन् । यो आफैमा लज्जास्पद विषय हो ।
प्रदेश स्थापनाको सुरुवात बाटै कर्णालीको नेतृत्वमा आउन चाहेका नेता पनि हुन मुख्यमन्त्री कँडेल । प्रदेश स्थापनाको पहिलो कार्यकालमा मुख्यमन्त्री बन्न नपाएका कँडेललाई दोस्रो कार्यकालमा नेतृत्व लिने अवसर जुरेको छ । यो उनका लागि आफ्नो क्षमता देखाउँने समय पनि हो । प्रदेशको नेतृत्वमा आएको पाँच महिनापछि कँडेलले आफ्ना कार्यप्रगति सार्वजनिक गरेका छन् । सकारात्मक सोचका साथ हेर्ने हो भने कँडेलले केहीँ नयाँ अभ्यासको सुरु गरेका छन् । जस्तो कि विगतका सरकारहरुले तय गर्ने वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश हुने बार्षिक स्वीकृत कार्यक्रम समयमै कार्यायान्वयनको तहमा लैजान नसक्दा विकास बजेट खर्चको अवस्था निराशाजनक छ । यसो हुनुको कारण समयमै खरिद आदेशका प्रक्रिया अगाडि नबढ्नु हो । यसमा सरकारको नेतृत्वमा रहनेहरुले सुधारमा खासै ध्यान दिन सकेनन् । यसो भन्नुको अर्थ विगतका सरकारले कामै गर्न सकेनन् भन्ने होइन ।
प्रदेश सभामार्फत जनताबाट चुनिएर आएका जनप्रतिनिधिले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको जिम्मा स्थायी सरकार मानिने कर्मचारीतन्त्रको हो । सरकारले अघि सारेका कार्यक्रमलाई समयमै कार्यान्वयनको तहमा लैजाने जिम्मेवारी पनि निजामति कर्मचारीकै हो । तर, राजनीतिभन्दा अस्थिर कर्मचारीतन्त्रका कारण कर्णालीले विकासको अपेक्षित गति लिन सकेको छैन । अर्को कुरा प्राविधिक जनशक्तिको अभाव पनि यसमा जोडिएको छ । संविधानले परिकल्पना गरे अनुसार संघीयतामा प्रदेशले पाउनुपर्ने अधिकार उपभोग गर्न पाएको छैनन् । कर्णाली आफैमा राज्यले पछाडि पारेको क्षेत्र हो । राज्य पुनरसंचना गर्दा कर्णालीलाई ल्याण्ड लक गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा कर्णालीसँग जोडिने दक्षिणका बाँके र बर्दियालाई कर्णालीबाट अलग गरिदा कर्णालीले आन्तरिक आम्दानीको स्रोत गुमाएको छ । यसतर्फ कर्णालीको नेतृत्वले ध्यान पु¥याउन उतिबेला सकेन । कालखण्ड अनुसार कर्णालीलाई प्रत्यक्ष असर पर्ने खालका जस्तो सुकै कार्य भएता पनि अब भने कर्णालीको नेतृत्व सचेत हुने बेला भएको छ ।
राजनीतिक फेरबदलबाट जो व्यक्ति सरकारमा आएपनि काम गर्ने भनेको समर्ग कर्णालीका लागि हो । यसअघिका सरकारले पनि आफ्ना पालामा उलटपुलट कै काम भएको दावी प्रस्तुत गर्दै आएका थिए । वर्तमान मुख्यमन्त्री कँडेलले पनि यसकै निरन्तरता दिएका हुन् । उनले कर्णालीमा रहेको मुख्य समस्या विकास बजेट कार्यान्वयनमा रहको विलम्बलाई अन्त्य गरेको दाबी गर्दै आएका छन् । यो सकारात्मक पक्ष पनि हो । कँडेलले सुधार गरे भन्दै दावी गरेको प्रणाली सत्य हो वा होइन थाहा पाउन धेरै टाढा जानुपर्ने स्थिती भने छैन । संघीयतमा प्रदेशले पाउने अधिकार प्राप्तिका लागि मुख्यमन्त्री कँडेलले संघीय सरकारसँग समन्वय गरिरहेको दावी पनि गरेका छन् । यो विगतका सरकारले पनि गर्दै आएका थिए । जे होस् कर्णालीका नागरिकले सरकारको नेतृत्वमा जो सुकै व्यक्ति हुन् उनीहरुबाट खोजेको समृद्धि हो । मुख्यमन्त्रीले सार्वजनिक गरेको कार्य प्रगति कर्णालीको अवस्था परिवर्तनसँग जोडियोस् । अन्यथा सरकारको नेतृत्वमा आएपछि सरकारले अनिवार्य गर्नै पर्ने कामलाई आफ्ना कार्यप्रगतिसँग जोड्ने काम देखाउँने दाँत मात्रै हो ।