सम्पादकीय : भेरीगंगामा आँप महोत्सव लगाऊ

नेपालमै मिठो आँप पाईने ठाउँ हो सुर्खेतको भेरीगंगा नगरपालिका । जहाँ बर्षेनी आँप कृषकले आँप राम्रै उत्पादन गरिरहेका छन् । सम्भवत् जुम्लाको स्याउ जत्तिकै रामघाटका आँप आफ्ना आफन्तलाई कोसेलीका रुपमा देशका सबै ठाँउमा पुगेकै छन् । यो भेरीगंगा सुर्खेत र कर्णालीकै खुशीको कुरा हो । कर्णालीकै स्याउको उच्च माग हुनु र कर्णालीमै उत्पादित आँपको उच्च माग हुनु पनि आफैमा गौरवको कुरा हो ।

तर दुखद् कुरा किसानको एक्लो प्रयासमा जति भैरहेको छ त्यो आफैमा प्रयाप्त छैन । कहिले आँप किसानको आँप कुहिएर जान्छ, कहिले नबिकेर कुहिन्छ, कहिले बजार मुल्य उच्च हुन्छ तर किसानले लागत पनि नपाउने गरी विचौलियाले लगेर आफुले लुट्छन । यो विषयमा स्थानीय सरकारले केही सोचिँदिनु परो जतिसक्यो उत्पादक किसानले आफ्नो लागत उठाएर नाफा लिन पाएमात्रै थप कृषक बृद्धि हुन्छन ।

स्थानीय उत्पादनको प्रवद्र्धनमा स्थानीय सरकारले कृषकको जत्तिकै चासो नलिएसम्म किसानको एक्लो प्रयासले आफ्नो पुर्खेउली पेशा प्रतिको माया, ईमानदारीता बाहेक अर्को जिविकोपार्जन र व्यवसायिक रुपमा यो पेशामा कोही आउनेवाला देखिन्न । बजारको अवस्था, अहिलेको कृषकका उत्पादन गर्दाका समस्या, उत्पादन गरिसकेपछीका बजारका समस्या, मुल्यको समस्या लगायतका विषयमा कृषकको एकल प्रयासले सोचेजति प्रतिफल नदिन सक्छ ।

तर किसानसंगै स्थानीय सरकार समेत साथमै छ भन्ने जुन अनुभूति कृषकले पाउँछन तब यसको उहिलेको माग थेग्न सक्ने र यसले बैदेशिक रोजगारीमा मात्रै पैसा कमाईन्छ भन्ने दिमागी समस्या भएका युवा पुस्ता समेतले यहीं बसेर व्यवसायिक कृषि मार्फत आफु, आफन्त, समाज, प्रदेश र सिङ्गो देशकै लागी खेती किसानीमार्फत नै उच्च योगदान दिन सक्ने वातावरण कहिले बनाउँछ स्थानीय सरकारले ?

स्थानीय सरकार गठन भएको यतिका समयसम्म पनि यस्तो राम्रो उत्पादन र बजार भएको आँपको विषयमा समेत सरकार चासो र चिन्ता लिँदैन भने गर्छ चाँही के ? किसानका लागि स्थानीय सरकार अनेक थरी शिर्षकमा कर उठाउनलाई मात्रै हो त ? होईन भने किसानसंग आधा भन्दा कम मुल्यमा उठाएर बजारमा उपभोक्तासम्म पुग्दासम्म डबलभन्दा पनि धेरै नाफा बिचौलीयाले खाँदासम्म स्थानीय सरकार भएको अनुभुति कहिल्यै गर्न पाए किसानले ? पाएनन भने किन पाएनन ? आवश्यकता हो की होईन ? सबै किसान आफैले सबै कुरा जानेका हुँदैनन ।

देखासिकीमै भएको कृषि कर्मले समेत यति राम्रो उपलब्धि भएको छ भने स्थानीय सरकारको सानो सहयोग प्राविधिक, नैतिक, हामी छौं तपाईलाई केही अप्ठ्यारो भयो भने भन्नुस न है भन्ने मात्र आधार भएको भए ति किसानमा कति हौसला र आत्मविश्वास दरिलो हुँदो हो ? पालिकामा कृषि शाखा छ बजेट छ तर बिल बनाएर तलब खानेमात्र काम गरेका छन कि किसानका खेतवारीमा पनि पुगेका छन् ?

पालिकाले सबै कुरा नसक्ला तर सकेको र सम्भव भएका कुराहरु किन नगर्ने ? सुर्खेतमा रामघाट भन्ने ठाँउ छ रे मिठो आँप पाउछ रे तर कसरी लिने ? मान्छेहरु अलमल छन यता किसानले बिचौलीयालाई लागत पनि नआउने मुल्यमा समेत दिन बाध्य छन । न किसानले राम्रो मुल्य पाए न त उपभोक्ताले सस्तोमा उपभोग गर्न नै पाए ।

यसको मध्यस्तताको रुपमा पालिका सरकारले सिजनेवल रुपमा मेला लगाउन पनि त सक्छ हैन र ? हुन त फ्याट्ट विल हालेर स्याट्ट खान नपाईने ठाँउमा न जनप्रतिनिधीको न त कर्मचारीको नै ध्यान जान्छ त्यतातिर त । आपको पाक्ने सिजनमा केही समयका लागी आँप मेला लगाईदियोस पालिकाले जसले गर्दा उपभोक्तालाई सस्तो परोस र किसानले पनि आफ्नो मुल्य राम्रो पाउँछ ।

सम्पादकीय : भेरीगंगामा आँप महोत्सव लगाऊ

YUGAAWHAN NATIONAL DAILY (2081-04-03)