२०८१ चैत्र ३
×

Now Playing

सम्पादकीय : मौसमी राडार तुरुन्त चलाउ

औषत रुपमा नेपालमा जुन १३ मा सुरु भएर अक्टोवर २ सम्म सरदर एक सय १२ दिन मनसुन रहने गर्छ । यस वर्ष भने नेपालमा सरदरभन्दा अगाडी नै मनसुन सोमवारबाट प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा ३५ देखी ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ । पछिल्लो समयमा मनसुन भन्ने बित्तिकै बाली लगाउने भन्दा पनि बाढी, पहिरो, हावाहुरी, चट्याङ लगायतका प्राकृतिक विपद्का घटनाहरु बढ्दै गैरहेका छन् । नेपालमा औषतभन्दा झण्डै ५० प्रतिशत बढी पानी पर्ने भन्ने बित्तिकै खुशी हुनुपर्ने हो तर विगत केही वर्षदेखि डुवान र बाढी पहिरोका कारण भएको मानविय र भौतिक क्षति सम्झेरै मानिसहरुमा त्रासको वातावरण छाएको छ ।

जथाभावि प्रयोग गरेर क्षतविच्छेद् बनाएको भुगोलका कारणले बाढी, पहिरोको जोखिम बढाएको छ जसका कारण एकै पटकमा ठूलो मानविय र भौतिक क्षति हुन जान्छ । त्यसैले नेपालमा मौसमको सम्बन्ध प्राकृतिक विपद्संग धेरै जोडिन थालेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेश विभिन्न मौसमजन्य प्रकोपको दृष्टिले उच्च जोखिममा रहेका क्षेत्र हुन । बर्षेनी मौसमजन्य घटनाहरु जस्तै हुरी, बतास, असिना, अविरल वर्षा, बाढी पहिरो, अत्याधिक हिमपात, चट्याङ, लामो खडेरी लगायतका जोखिमहरु दिनानुदिन बढेको बढ्दै छ ।

विषेशगरी पश्चिम क्षेत्रका लुम्बिनीका ३ जिल्ला बाँके, बर्दिया, दाङ तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको मौसमी गतिविधीको निगरानी गर्न १७ मंसिर २०७६ मा सुर्खेत र दैलेख जिल्लाको सिमाना क्षेत्र वीरेन्द्रनगर–१४ स्थित रातानाङ्लामा मौसमी राडार जडान गरी सञ्चालनमा ल्याईएको हो । उक्त राडारले वर्षा हुनुभन्दा ३÷४ घण्टा अगाडी नै अघि र पछि मौसममा आउने फेरबदल अथवा कति वर्षा हुँदैछ, हावा कुन गतिमा कहाँबाट बहँदै छ, तापक्रम घटबढको अवस्था र आँधीहुरी तथा बाढी पहिरोको पूर्वानुमान गरी हुन सक्ने जोखिमलाई कम गर्नका लागी यो स्थापना गरिएको हो । कर्णाली र सुदुरपश्चिमको मौसमजन्य घटनाहरुको बाह्रै महिना पूर्वानुमानको विष्लेषण गरी पूर्व सुचना प्रवाह गर्न स्थापना गरिएको अत्याधूनिक प्रविधियुक्त रेडियो डिटेक्सन एण्ड रेन्जिङ राडार दुई बर्षदेखि प्रयोगविहिन बनेको छ । नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गरी प्रयोगमा ल्याईएको थियो । प्रयोगविहीन बनेको मौसमी राडार त्यो पनि कर्णाली र सुदुरपश्चिम जस्तो प्राकृतिक विपद्को जोखिमा रहेको ठाउँको राडार प्रयोग विहीन हुँदा फेरी मनसुन सुरु हुनै लाग्दा पनि प्रयोगमा ल्याउने कुनै पहल नगर्नु के उपयोग विहीन संरचनामा लगानी गर्नु मात्रै ठूलो कुरा हो र ?

सोही राडारले हवाई उडान गर्ने ठाउँको समेत मौसमी जानकारी दिने हुँदा चौतर्फि उपयोगी जसलाई करोडौ सरकारको ढुकुटी सकाएर बनाएको छ त्यसलाई आवश्यक मर्मत सम्भार गरेर पुनः सञ्चालन तत्काल गर्नु आवश्यक छ । २ वर्ष अगाडी राडारमा परेको चट्याङको कारण १८ करोड लगानी गरेर बनाएको महत्वपूर्ण र अत्यावश्यक सो राडार मर्मतमा ध्यान नदिनु संघ तथा प्रदेश सरकारको समेत लाचारीपन हो । मर्मतका लागी जल तथा मौसम विज्ञान विभागले ४ पटकसम्म सूचना आव्हान गर्दासमेत कोही परामर्शदाता नआउनु आफैमा दुखद् कुरा हो । तर समाधान नै नभएको त होईन होला नि ? बैकल्पिक उपाए अपनाएर भएपनि यो मनसुन सुरु अगावै मौसमी राडार बनाउनु पर्छ प्रदेश सरकार आफै तातिएर भए पनि । क्षति भएपछी क्षतिपूर्तिको नाममा गर्ने खर्च सूचना र सतर्कताबाट जोगाउन सकिन्छ भने सरकारले किन नगर्ने ?

सम्पादकीय : मौसमी राडार तुरुन्त चलाउ

YUGAAWHAN NATIONAL DAILY (2081-02-32)