२०८१ फाल्गुन २९
×

Now Playing

सम्पादकीय : राराको सौन्दर्य जोगाउनतर्फ ध्यान देऊ

कर्णाली प्रदेशकै रमणीय र उत्कृष्ट ठाउँ त्यसैमा पनि स्वर्गको उपमा पाएको ताल हो रारा । जो मुगु जिल्लामा अवस्थित नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । रारा ताल घुमफिर गर्ने समयमा भने आन्तरिक तथा वाह्य पर्यटकको बाक्लो भिड लाग्ने गर्छ । गर्मी मौसम सुरु भएपछि रारामा घुमफिर गर्न अत्यन्तै रमाइलो र आनन्द हुने हुँदा पर्यटकको रोजाइमा रारा ताल पर्छ । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको रारा ताल समुन्द्री सतहबाट २ हजार नौ सय ९० मिटर उचाइमा रहेको छ ।

सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १० दशमलव आठ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । तालको औसत लम्बाइ ५ किलोमिटर, चौडाई ३ किलोमिटर र गहिराइ १६७ मिटर छ । रारा ताललाई राजा महेन्द्र शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।

रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा बनावट हेर्नका लागि समुद्री सतहबाट करीब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप पुग्नु पर्दछ । यो स्थानबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङ्खलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देख्न सकिनछ ।

तर, आजभोली रारा ताल वरपर खुला पशुचौपायाले भरिभराउ हुँदा यसको असर सौन्र्यतामा परेको छ । ताल क्षेत्रको हरियाली र फूल्दै गरेका फूल पशुचौपायाले खाएर रारा ताल आसपासमा फूलेका फूल देख्न पाइदैन् । ताल वरपर चरिचरनका लागि पशुचौपाया छाडा छोडिदा ताल वरपरको सुन्दरातामा कमी आएको छ । रामसार क्षेत्रमा पर्ने ताल आजभोलि चरन क्षेत्र बनेको छ । ताल आसपासमा पलाउन लागेका हरियो घाँसलगायत विभिन्न प्रजातिका फूल पशुवस्तुले खाएर, कुल्चेर उजाड बनाएका छन् ।

छाडा पशुचौपायाको मलमूत्र र दिसा पिसाबले रारा तालमा पाइने विश्वमै दुर्लभ माछा र अन्य जलचरको प्रजनन् र स्वास्थ्यमा समेत असर परेको छ । तालवरिपरिको चौर तल्लो मिली, माथिलो मिली, दोफ्या, ठाकुरज्युले लात्ती हान्ना, ओखरबोट लगायतका क्षेत्र खुला चरिचरनका रूपमा प्रयोग हुँदै आएको छ । रारा क्षेत्र आसपास पहिला देखिनै चरन क्षेत्रका रुपमा प्रयोग हुँदै आएको छ । खडेरीको समयमा तालमा पानी खुवाउनका लागि मुम्रा गाउँ बासीले आफ्ना पशुवस्तु रारामा छोड्ने गरेका छन् । मुम्रा गाउँका मान्छे आवतजावत गर्नका लागि मुख्य चलन चल्तीको बाटो राराको किनारबाटै छ । गोठालाहरुले पशुवस्तुलाई पानी खुलाउन ल्याउने नाममा रारामै छोड्ने गरेका छन् ।

पर्यटकिय दृष्टिकोणले ठुलो सम्भावना बोकेको रारा त्यसै पनि सरकारी उपेक्षामा छ । यसको सम्बद्र्धन, प्रवद्र्धन र प्रचारप्रसारमा तीन तहका सरकारले खासै मेहनत गर्न सकेका छैनन् । मानव विकास सुचकको पुछारमा रहेको कर्णालीका लागि रारा समृद्धिको मार्ग बन्नेतर्फ सरकारी ध्यान अझै जान सकेको अवस्था छैन । आन्तरिकसँगै बाह्य पर्यटकको रोजाईमा पर्ने रारासम्म पुग्ने सहज खालका पूर्वाधार निर्माणमा विलम्ब भइरहेको छ ।

जसका कारण राराको सुन्दरता उजागर हुन सकेको छैन । पूर्वाधारको अभावमा जसतसो रारा पुग्ने पर्यटकलाई छाडा पशुचौपायले ताल वरपर गर्ने फोहोरले हैरानी व्यहोर्नुपर्ने अवस्था छ । तालवरपरका वस्तीहरुबाट पानी खान आउने पशुवस्तुलाई तालमा आउन नदिने खालका योजनाहरु अगाडि सारिएका छैनन् । जसले पनि समस्या भइरहेको छ । स्वर्गकी अप्सराको उपमा पाएको राराको सौन्दर्य जोगाउन स्थानीय नागरिकलाई जनचेतनासँगै रारा राष्ट्रिय निकुञ्जले पशुचौपायका लागि आवश्यक पर्ने पानीको व्यवस्थापन गरी खुला चरिचरन क्षेत्र हुन नदिनतर्फ ध्यान दिन आवश्यक छ ।