सम्पादकीय: रुख कटानको प्रक्रिया तत्काल अघि बढाऊ
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरदेखि खम्बागाडे सडकको १३.१ किलोमिटरमा जग्गा भोगाधिकार र रुख कटानको बाटो खुलेको छ । साढे दुई वर्षदेखि राष्ट्रिय प्राथमिकताप्राप्त सडकलाई कर्णाली प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएपछि सिर्जना भएको अवरोध अन्ततः हट्ने भएको छ ।संघीय मन्त्रीपरिषद् बैठकले उक्त खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) स्वीकृत गरेसँगै लामो समयदेखिको भोगाधिकार र रुख कटानको अल्झन सुल्झिने संकेत देखा परेको छ । तै पनि अझैँ धेरै प्रक्रिया पुरा गर्न बाँकी छन् । स्थानीय सरकार, प्रदेश सरकारले गर्नुपर्ने काम बाँकी रहेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) स्वीकृत भइसकेपछि परियोजना कार्यान्वयनका लागि विभिन्न प्रक्रिया अपनाइन्छ । आइई स्वीकृति सम्बन्धी निर्णयलाई सम्बन्धित निकाय, सरोकारवालाहरु र सार्वजनिक रुपमा जानकारी गराउनुपर्छ । परियोजनाबाट प्रभावित हुने समुदाय तथा सरोकारवालाका गुनासोहरु सुन्ने र समाधान गर्नेतर्फ अब सबैको ध्यान जान जरुरी छ । त्यसका लागि स्थानीय तह, सरकार तथा नियामक निकायसँग समन्वय गरी समस्याहरू समाधान गर्नेतर्फ लाग्न आवश्यक देखिन्छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त सडकमा हात हालेको प्रदेश सरकारले संघीय सरकारलाई जग्गा भोगाधिकारको अनुमति नपाइने छाँट देखापरेपछि पुनःमदन भण्डारी राजमार्गकै स्वामित्वमा रहने गरी प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेको थियो । प्रदेश सरकारको अनुरोधपछि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बड्डीचौर–खम्बागाडे सडकलाई राष्ट्रिय प्राथमिकतामा समावेश गरिदिन राष्ट्रिय योजना आयोगलाई पत्र लेखेको थियो । आयोगले संघीय वन तथा वातावरण मन्त्रालयलाई पत्र लेख्दै मदन भण्डारी लोकमार्गअन्तर्गत बड्डीचौर–बिउरेनी–बावियाचौर–विद्यापुर सडक खण्ड (१३.१ किमि) स्तरोन्नति गर्ने कार्यका लागि आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० को दफा १० बमोजिम राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोकेपछि आइई स्वीकृतीको प्रक्रिया अघि बढेको थियो । आइई स्वीकृत भएसँगै बड्डीचौर–खम्बागाडे सडक खण्डमा पर्ने जग्गा भोगाधिकार र रुख कटानका बाँकी प्रक्रिया अघि बढ्ने छन् । अब वन मन्त्रालयले स्वीकृति प्रदान गरेपछि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) बमोजिम उक्त सडक खण्डमा पर्ने रुख कटान र जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइनेछ । पश्चिम सुर्खेत मात्रै होइन, समग्र सुर्खेत जिल्ला नै मदन भण्डारी राजमार्गका कारण मुहार फेर्ने सुरसारमा छ । यो राजमार्ग सुर्खेतका नौमध्ये छ वटा स्थानीय तहको बीचभागबाट पूर्वपश्चिम लाग्छ ।
गुर्भाकोट, लेकबेँसी, वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकाको बीच भागबाट छिचोलिने यो सडकलाई नागरिकहरूले लाइफ लाइनका रुपमा बुझेका छन् । २०५१ सालमै पश्चिम सुर्खेतलाई सडक सञ्जालमा जोड्न ट्याक खोलिएको थियो । तर, भण्डै ३१ वर्षसम्म पनि यो सडकको स्तरोन्नति नहुँदा नागरिक चार घण्टा लाग्ने बाटोमा दुई दिन लगाएर कष्टकर यात्रा गर्न बाध्य छन् । सरकारले मदन भण्डारी सडक नामाकरण गरी धमाधम स्तरोन्नतिको काम अघि बढाएपछि यहाँका नागरिकमा आशाको सञ्चार भइरहेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत खण्डको कामले गति लिएसँगै बिस्तारसँगै सडकछेउमा व्यवस्थित ठूला बस्ती विकास हुँदै गएका छन् भने स्थानीयहरू आर्थिक उपार्जनमा समेत जोडिँदै जान थालेका छन् । यसले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।ढिलै भएपनि बड्डिचौर–खम्बागाडे सडकको आइई स्वीकृतभएपछि पश्चिमका जनतामा आशा पलाएको छ ।रुख कटान र जोग्गा भोगाधिकारकाबाँकी प्रक्रिया यथासिंघ्र पुरा गरी सडकलाई पूर्णता दिनतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।