२०८२ बैशाख ८ गते
×

Now Playing

सम्पादकीय: सडक दुर्घटना न्यूनिकरणमा ध्यान देऊ


नेपाली नयाँ वर्ष २०८२ सोमबारबाट सुरु भएको छ । विगतका वर्षहरु झै २०८१ को वर्षभर कर्णाली प्रदेशलाई सडक दुर्घटनाले सताई रह्यो । २०८१ शुभारम्भदेखि अन्त्यसम्म कर्णालीमा सडक दुर्घटनाका कारण ठुलो संख्यामा जनधनको क्षति भएको छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार कर्णाली प्रदेशमा २०८१ मा ६ सय २२ सडक दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ९० जनाले ज्यान गुमाउँदा एक हजार तीन सय २१ जना घाइते भएका छन् । सडक अनुसार कर्णालीमा सबैभन्दा धेरै मुख्य हाइवेमा दुई सय ३३ सडक दुर्घटना भएका छन् । त्यसपछि ग्रामीण सडकमा दुई सय सात दुर्घटना हुँदा सहरी सडकमा एक सय ८२ दुर्घटना भएका छन् । कर्णालीमा सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही हो । एक वर्षको अवधिमा चालकको लापरवाहीले चार सय ६२ सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ । प्रहरीको सडक दुर्घटनाको यो तथ्यांक आफैमा कहाली लाग्दो हो । कर्णालीमा मापदण्डविपरितका सडकले झन् दुर्घटनाको जोखिम बढाइरहेका छन् ।

कर्णाली प्रदेश, जहाँको भौगोलिक बनोट विकट र दुर्गम छ । विकासका सूचकहरूमा अझै पछाडि परिरहेको क्षेत्र हो । पछिल्ला वर्षहरूमा सडक विस्तारले यहाँको जनजीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । तर, यी परिवर्तनहरूका साथसाथै सडक दुर्घटनामा भएको वृद्धि एक गम्भीर चिन्ताको विषय बनेको छ । असुरक्षित सडक संरचना, चालकमाथी निगरानीको अभाव, अत्याधिक भार बोकेका सवारी साधन र ट्राफिक नियमहरूको अवज्ञा लगायतका कारण कर्णालीमा सडक दुर्घटनाको जोखिम बढेको छ । विगत केही महिनाका तथ्याङ्क हेर्दा कर्णाली प्रदेशमा भएको दुर्घटनाको संख्या र तिनले पु¥याएको मानवीय क्षतिले राज्यका नीति निर्मातालाई झस्काउने खालका छन् । अधिकांश दुर्घटनाहरू चिप्लो र अपुग सडक, तेज गतिमा चलाइने सवारी साधन र नियमित मर्मत सम्भारको अभावका कारण भइरहेका छन् । अझ पीडादायी पक्ष त के भने, धेरैजसो दुर्घटनामा निर्दोष नागरिकले ज्यान गुमाउने गरेका छन् ।

सडक दुर्घटना न्यूनिकरणका लागि अब कर्णाली सरकारले रणनीतिक, दिगो र व्यवहारिक पहल लिनुपर्छ । पहिलो सडक निर्माणमा गुणस्तरीय सामग्री र प्रविधिको प्रयोग अनिवार्य गरिनुपर्छ । दोस्रो, चालकलाई नियमित तालिम, अनुज्ञापत्र प्रणालीमा कडाइ र ट्राफिक नियमको कडाभन्दा कडा कार्यान्वयन गरिनुपर्छ । तेस्रो, स्थानीय स्तरमा ट्राफिक प्रहरीको उपस्थिति र निगरानीलाई मजबुत पार्न आवश्यक छ । चौथो, सडक किनारमा आवश्यक चेतनामूलक बोर्ड, संकेत र सावधानीसूचक चिन्हहरू स्थापना गर्नु पनि महत्वपूर्ण छ । सरकार, नागरिक समाज, मिडिया र स्थानीय समुदायबीच समन्वय गरी जनचेतनामूलक अभियानहरू सञ्चालन गर्न सकिन्छ । जसबाट मानिसहरू सजग बन्न सकून् । सडकलाई केवल यातायातको साधन मात्र होइन, जीवनको मार्ग मान्नुपर्ने हुन्छ । सडक दुर्घटनाबाट हुने मृत्यु र क्षति कुनै पनि हालतमा सामान्य मान्न मिल्दैन । त्यसैले अब कर्णाली सरकारले पूर्व तयारी र सतर्कतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । विकासका मार्ग सुरक्षित नभएसम्म ती मार्गहरू दुःखका गन्तव्य मात्रै हुन्छन । यसतर्फ सरकारको ध्यान जाओस् ।

सम्पादकीय: सडक दुर्घटना न्यूनिकरणमा ध्यान देऊ

वैशाख ३, ४ र ५ गते कर्णाली

Leave a comment

Your email address will not be published. Required fields are marked *