सम्पादकीय : सडक सुरक्षामा खेलबाड किन ?
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रन्द्रनगर बजार क्षेत्रका मुख्य सडकमा रेखाङ्कन गरिएका सडक संकेतहरु खुइलिएका छन् । सवारी तथा यात्रुको बढी चाप हुने वीरेन्द्रनगरका मुख्य सडकमा जेब्राक्रस तथा सडक संकेत नहुँदा र भएका पनि मेटिँदा दुर्घटनाको जोखिम बढेको छ । अहिले वीरेन्द्रनगरका अधिकांश सडकमा जेब्राक्रसदेखि लेन मार्किङसम्म मेटिएका छन् । पछिल्लो समय प्रदेश राजधानी भएसँगै वीेरेन्द्रनगरमा सवारी साधनसँगै जनघनत्व पनि बढ्दै गएको छ । यात्रु र सवारीको बढी चाप हुने क्षेत्रमा ट्राफिक लेन व्यवस्थित नुहँदा पैदल यात्रु दुर्घटनामा पर्ने जोखिम उच्च हुँदै गएको छ । वीरेन्द्रनगरका सडकमा ट्राफिक बत्तीको व्यवस्था त गरिएको छैन सडकमा लेनको मार्किङसमेत राम्रोसँग हुन सकेको छैन । रत्नराजमार्ग अन्तर्गत धुलियाविट–बाङ्गेसिमल खण्डको मुख्य सडकमा जेब्रा क्रस र सडक चिन्ह भेट्न मुस्किल छ । त्यसैगरी भित्रि सडकको अवस्था पनि उस्तै छ । सडकमा सवारी साधन र जेब्राक्रस व्यवस्थित बनाउने लेन मेटिएपछि जेब्राक्रसमा ओहोरदोहर गर्ने पैदलयात्रुलाई बाटो पार गर्न मुस्किल छ । लेन मार्किङ र जेब्रा क्रसिङ स्पष्ट नदेखिदा यात्रुसँगै सवारी चालकसमेत झुक्किने गरेका छन् ।
जेब्रा क्रसिङ र सडक चिन्हको अत्तोपत्तो नहुँदा पैदल यात्रुलाई कहाँबाट सडक पार गर्ने भन्नेमा अन्यौलता हुने गरेको छ । यति मात्रै होइन जेब्रा क्रसबाट बाटो काट्दा सवारी चालकको लापरवाहीले यात्रुलाई जोखिम मोल्नुपर्ने बाध्यता छ । जेब्राक्रसिङका बारेमा सवारी चालकलाई ज्ञान नै छैन । उनीहरु जेब्राक्रसमा पैदल यात्रु हिँडेकै अवस्थामा पनि सिधै कुल्चने गरी आउँदा दुर्घटनाको जोखिम हुने गरेको छ । पैदल यात्रुलाई पनि ट्राफिक नियमका बारेमा आवश्यक जानकारी छैन । थाहा भएकाहरु पनि जहाँ पायो त्यहीँबाट सडक पार गर्ने परम्पराले वीरेन्द्रनगरमा सडक दुर्घटना न्यूनिकरणको विषय चुनौतीपूर्ण बन्दै गएको छ । मुख्य बजार क्षेत्र मंगलगढीदेखि गणेशचौक लगायतका भित्र सडकहरुमा उचित पार्किङसहितको फुटपाथको व्यवस्था नहँुदा पैदल यात्रुलाई सकस हुने गरेको छ । सहरी सडकहरु बर्षमा दुई र राजमार्गहरु बर्षको एक पटक जेब्राक्रस र सडक मार्किङ गर्ने नियम छ । यसमा सडकको प्रकृति हेरेर संघ, प्रदेश र स्थानीय तहले सुरक्षा सम्वेदनशिलता अपनाउनु पर्ने हुन्छ । वीरेन्द्रनगर क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले निर्माण गरेका सडकहरु छन् । संघ सरकारको जिम्मेवारीमा रहेका सडकहरु सडक डिभिजन, प्रदेशको मातहतमा रहेका सडक प्रदेश सरकार र स्थानीय तहको जिम्मेवारीमा रहेका सडकहरुमा वीरेन्द्रनगर नगरपालिकाले आवश्यक जेब्रा क्रसिङ, लेन मार्किङ, सडक बत्ति लगायतका ट्राफिक संकेत राख्नुपर्ने हुन्छ । तर, नियामक निकाय सडक डिभिजन, प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले सडक सुरक्षामा खेलबाड गरिरहेका छन् ।
वीरेन्द्रनगर बजार क्षेत्र विशेषगरी रत्नराजमार्ग अन्तरगत धुलियाबिट–मंगलगढी हुँदै बाङ्गेसिमल खण्डमा पर्ने अधिकांश क्षेत्रको ट्राफिक व्यवस्थापन भद्रगोल बनिरहेको छ । सवारी र यात्रुको बढी चाप हुने मुख्य क्षेत्र दैलेख रोड चोक, मंगलगढी, यरीचोक, मुलपानी, वीरेन्द्रचौक, गणेश चौक, भैरवस्थान, इत्राम, खजुरा लगायतका क्षेत्रको फुटपाथ ठेलामा व्यापार गर्नेहरुको कब्जामा छ । पदैल यात्री हिँड्ने फुटपाथमा साना व्ययवसायीले अव्यवस्थितरुपमा ठेला राख्दा थप दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडककै किनारामा जथाभावी ठेला, निर्माण सामाग्री, अटो तथा साना ठुला गाडिहरु पार्किङ गर्दा पैदल यात्रुलाई सहज आवागमनमा बाधा भइरहेको छ । अनावश्यक रुपमा सडक अतिक्रमण हुँदा नियामक निकाय मुख दर्शक बनेर बसेका छन् । सडक सुरक्षा जस्तो संवेदनशिल सार्वजनिक महत्वको विषय सरकारको प्राथमिकतामा नपर्नु कानुनी राज्यको उपहास हो । सडक सुरक्षाको विषयलाई प्राथमिकतामा राख्न नसक्नेहरुबाट नागरिकले अरु के अपेक्षा राख्ने ? यसर्थ नागरिकको सुरक्षासँग जोडिएको विषयमा खेलबाड होइन व्यवस्थित र सुरक्षित बनाउनतर्फ ध्यान देऊ ।