सम्पादकीय :२०८२ कर्णाली समृद्धिको मियो बनोस्


नेपालले आफ्नो मौलिक पात्रो अनुसार नयाँ वर्ष २०८२ को स्वागत गरिरहेको छ। नयाँ वर्ष केवल पात्रोको पाना पल्टिने दिन मात्र होइन, यो विगतको मूल्यांकन र भविष्यको नयाँ संकल्प गर्ने महत्वपूर्ण अवसर हो। यस वर्षलाई हामीले कर्णाली समृद्धिको मियो बनाउने अवसरका रूपमा लिनु आजको आवश्यकता हो।विगतका वर्षहरूमा हामीले थुप्रै उतार चढाब देख्यौं। राजनीतिक अस्थिरता, बेरोजगारी, महंगी, भ्रष्टाचार, प्राकृतिक प्रकोप लगायतका समस्याले नागरिकको जीवनस्तर उठाउन कठिन बनाएको छ। विकासको गति सुस्त छ, भने जनताको जीवनस्तर सुधारमा खासै परिवर्तन देखिएको छैन। तर,यी सबै चुनौतीबीच पनि हामीले केही सकारात्मक परिवर्तनहरू देख्न सक्यौं । जस्तै आधारभूत संरचनामा सुधार, सूचना प्रविधिमा वृद्धि, नागरिकको सचेतता र युवा पुस्ताको सक्रियता।नयाँ वर्ष २०८२ को स्वागत गर्दै गर्दा कर्णाली प्रदेशका जनतामा पनि नयाँ उत्साह, नयाँ आशा र नयाँ संकल्प देखिएका छन् ।

सम्भावनायुक्त, तर पछि पारिएको प्रदेश कर्णाली आज विकास र समृद्धिको यात्रामा नयाँ मोडमा उभिएको छ। यही अवसरमा हामीले नयाँ वर्षलाई कर्णाली प्रदेशको समृद्धिको मियो बनाउने संकल्प गर्नु कर्णाली बनाउने अभियान हो ।कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ ।यहाँका नदीनाला, खोला, जंगल, औषधीय वनस्पति, कृषि योग्य जमिन, पर्यटन सम्भावना आदि समृद्धिको मूल आधार बन्न सक्ने सम्पत्ति हुन्। तर, यी सबै साधनको समुचित उपयोग हुन नसक्दा प्रदेश अझै पनि पछाडि पर्ने अवस्थामा छ। आधारभूत पूर्वाधारको अभाव, शिक्षाको पहुँचमा कमी, कमजोर स्वास्थ्य सेवा, बेरोजगारी र गरिबीका कारण यहाँका जनताले लामो समयदेखि अभावपूर्ण जीवन बिताउँदै आएका छन्।अब समय आएको छ, यी समस्या समाधान गरेर कर्णालीलाई दिगो विकासको मार्गमा अघि बढाउने।

यसका लागि सबै तहका सरकार, नीति निर्माताहरू, निजी क्षेत्र, नागरिक समाज र जनताबीच सहकार्य आवश्यक छ। प्रदेश सरकारले कृषि, पर्यटन, जलस्रोत र वन सम्पदामा आधारित दीर्घकालीन योजना बनाउनुपर्छ, जसले रोजगारी सिर्जना गर्नेछ र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनेछ।युवाशक्ति कर्णालीको ठूलो पूँजी हो। तिनीहरूको सीप विकास, व्यवसायिक तालिम, स्टार्टअप प्रवद्र्धन जस्ता काममा लगानी गर्नु अत्यावश्यक छ। शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सुधार ल्याएर मानव विकास सूचकांकमा सुधार गर्नु अहिलेको प्रमुख आवश्यकता हो।यसै सन्दर्भमा, नयाँ वर्ष २०८२ लाई हामीले ‘कर्णाली प्रदेश समृद्धिको मियो बनोस’ भन्ने उद्देश्यका साथ स्वागत गर्नुपर्छ। यो बर्षले नयाँ सोच, नवीन योजना र ठोस कार्यान्वयनको सुरुवात गरिदियोस्। अब कर्णाली विकासका गफ मात्र होइन, काम देखाउने प्रदेश बनोस्। सबै नागरिकमा विश्वास, आत्मबल र सहभागिताको भावना जागृत होस्।नयाँ वर्ष २०८२ कर्णालीका जनताको जीवनमा उज्यालो र समृद्धि लिएर आओस् भन्ने शुभकामनासहित सम्पूर्ण कर्णालीवासीमा नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना!

Leave a comment

Your email address will not be published. Required fields are marked *