सुर्खेत र सल्यानका ३८ प्रतिशत नागरिकमा कान कमसुन्ने समस्या
सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिक कान कम सुन्ने समस्याले पीडित छन् । सुर्खेत र सल्यानका पाँच वर्ष भन्दा माथिको उमेर समूहका ३८.९ प्रतिशत मानिसहरुमा कान कम सुन्ने समस्या देखिएको हो । अनुसन्धान अनुसार कर्णालीमा सुगम मानिने सुर्खेत र सल्यान जिल्लामै श्रवण शक्ति कमजोर भएका मानिसको अवस्था भयाभह छ भने अन्य दुर्गम जिल्लाका नागरिक झनै पीडामा छन् भन्ने पृष्टि गर्दछ ।
नेपालमै पहिलो पटक कर्णाली प्रदेशका सुर्खेत र सल्यानमा गरिएको श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन (२०२४) ले यहाँका नागरिकहरुको श्रवण क्षमताको अवस्था पत्ता लागेको हो । जर्मन सहयोगमा सिबिएम नेपालले गरेको यस अनुसन्धानले सुर्खेत र सल्यानका अधिकांश मानिसहरुमा विभिन्न कारणले श्रवण क्षमता ह्रास हुँदै गएको देखाउँछ ।
नेपाल नेत्र ज्योती संघ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आयोजनामा विहिबार श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन नतिजा सार्वजनिक गरिएको हो । उक्त नजिता अनुसार सुर्खेत र सल्यानका गरी दुई हजार एक सय ४८ व्यक्ति अनुसन्धानको क्रममा सहभागी भएका थिए । जसमा ४१.२ प्रतिशत पुरुष र ५८.८ प्रतिशत महिला सहभागी थिए । कुल सहभागी मध्ये एक हजार नौ सय ४६ जना व्यक्ति पाँच बर्षभन्दा माथिका रहेका छन् ।
अनुसन्धानको क्रममा सुर्खेतका जम्मा सहभागी ७१.८ प्रतिशत व्यक्तिमध्ये ३९.८ प्रतिशत व्यक्तिमा श्रवण कमजोरी देखिएको छ । त्यस्तै सल्यानका जम्मा सहभागी २८.२ प्रतिशत व्यक्तिमध्ये ३६.६ प्रतिशतमा श्रवण कमजोरी रहेको पत्ता लागेको छ । मुख्य अनुसन्धानकर्ता डा. ऋषि भट्टका अनुसार सात वटा श्रेणीहरुको आधारमा श्रवण क्षमता पत्ता लगाईएको थियो । उनका अनुसार श्रवण क्षमताको श्रेणीका आधारमा १९.६ प्रतिशत मानिसमा हल्का श्रवण कमजोरी देखिएको थियो । जसमा सुर्खेतका १९.१ र सल्यानका २०.९ प्रतिशत नागरिक रहेका छन् ।
त्यस्तै मध्यम श्रवण क्षमता भएका १० प्रतिशतमा मानिसमा सुर्खेतका १०.८ र सल्यानका ८ प्रतिशत नागरिक रहेका छन् । गम्भिर माध्यममा सुर्खेतका ४.२ र सल्यानका ४.३ प्रतिशत नागरिक, अत्यन्त गम्भिरमा सुर्खेत ०.६ र सल्यान ०.२ प्रतिशत, सुन्नै नसक्नेमा सुर्खेत ०.२ र सल्यान ०.२ प्रतिशत र एक कानबाट मात्र सुन्नेमा सुर्खेतका २.५ र सल्यानका २.१ प्रतिशत नागरिक रहेका छन् ।
उमेर अनुसारको श्रवण कमजोरी हुने सुर्खेतमा ५ देखि १४ वर्षका ११.३ प्रतिशत बालबालिका रहेका छन् । भने सल्यानमा ६.७ प्रतिशत बालबालिका छन् । त्यस्तै सुर्खेतमा १५ देखि ४४ वर्षका २४.४ र सल्यानमा २१.२ प्रतिशत मानिसमा श्रवण कमजोरी देखिएको छ ।
डाक्टर ऋषि भट्टका अनुसार सुर्खेतमा ४५ देखि ६० वर्ष उमेरका ६३.५ र सल्यानमा ५८.५ प्रतिशत मानिसमा श्रवण कमजोरी रहेको पत्ता लागेको छ । त्यस्तै सुर्खेतमा ६० वर्षमाथिका ९३.२ र सल्यानमा ९४.४ प्रतिशत मानिसमा श्रवण कमजोरी पत्ता लागेको हो ।
अनुसन्धानको क्रममा कानको नली सुन्निएको, बाहिरी कानको संक्रमण, कानको हड्डी खिइने रोग, घोचेर वा कुनै घटनाबाट कानमा असर, कानभित्र बाहिरी वस्तुहरु छिरेको, बाहिरी कानको बनोट राम्रो नभएको, फन्गल इन्फेक्सन, कानको बाहिरी र भित्रि भागका पिप बग्ने, मध्य कानको संक्रमण, कानको जालीमा प्वाल, कानेगुजी टाँसिको अवस्था, कान र नाक जोड्ने नलिमा समस्या र कानभित्रको हावाको चापमा गडबडी समस्या भएका व्यक्तिहरु भेटिएका भिए ।
कर्णालीबाट सुरु भयो, कान स्वास्थ्य कार्यक्रम
हाल विश्वमा करिब डेढ अर्ब मानिस कान कम सुन्ने पीडामा छन् । कर्णालीमा मात्रै एक सय व्यक्तिमा करिब २० जनाले कम कान सुन्छन् । हरेक नेपाली नागरिक यो समस्याको पीडामा छन् र भविष्यमा स्थिती भयावह हुनसक्छ ।
सरकारी तवरबाट कान शिविर सञ्चालन तथा सचेतना फैलाउने काम भएको छैन । भने मानिसमा नियमित कान चेकजाँच गर्ने बानीको विकास भएको छैन । यही स्थितीलाई मध्येनजर गर्दै विश्व स्वास्थ्य संगठनको पछिल्लो रणनीति अनुसार कर्णाली प्रदेशबाट कान स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ । नेपाल नेत्र ज्योती संघले सिबिएमसँगको सहकार्यमा कर्णाली प्रदेशबाट यो कार्यक्रम सुरु गरेको हो । हाल यो कार्यक्रम कर्णालीका सुर्खेत र सल्यानका ६ पालिकामा लागु भएको छ ।
सुर्खेतको गुर्भाकोट र वीरेन्द्रनगर नगरपालिका तथा बराहताल गाउँपालिकामा लागु भएको हो । त्यस्तै सल्यानका बागचौर र सारदा नगरपालिका तथा सिद्धकुमाख गाउँपालिकामा कार्यक्रम लागु छ । विस्तारै यो कार्यक्रम सबै प्रदेशमा लागु गर्ने लक्ष्य रहेको नेपाल नेत्र ज्योती संघका केन्द्रिय महासचिव भरत बहादुर चन्दले बताए । कान स्वास्थ्य कार्यक्रम अन्तर्गत कर्णालीका सबै जिल्लामा श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन गर्न जरुरी रहेको उनी बताउँछन् । कर्णाली सरकारले अध्ययन सुरु गरेको खण्डमा नेत्र ज्योती संघ आवश्यक सहयोग गर्न तयार रहेको चन्दले बताए ।
‘श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययनले सुर्खेत र सल्यानबाट राम्रो तथ्यांक आयो’ विश्व स्वास्थ्य संगठनका प्रतिनिधि प्रदिप अधिकारीले भने, ‘सोही आधारमा कर्णालीका सबै जिल्लामा अनुसन्धान गर्न जरुरी छ । जसले गर्दा समस्याको दिगो निराकरण गर्ने उपाय पनि पत्ता लाग्नेछन ।’ कर्णाली प्रदेश अन्य कुरामा पछि भएपनि आँखा र कान स्वास्थ्यका बारेमा अन्य प्रदेशलाई सिकाउने गरी कामका आधारमा सबैभन्दा अघि रहेको सिबिएमका कार्यक्रम व्यवस्थापक मिलन पौडेलले बताए ।
कार्यक्रमलाई नीतिगत रुपमै समावेश गर्न पहल
कर्णालीमा कान स्वास्थ्य कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि नीति तथा कार्यक्रममै समावेश गर्न पहल सुरु भएको छ । आगामी बजेटमै सम्बोधन हुने गरी यो कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिर्घबहादुर पोखरेलले बताए ।
‘सुर्खेत र सल्यानका भएको अनुसन्धानको नतिजा विश्वसनिय छ । यसले हामीलाई बुझाई दियो’ उनले भने, ‘भविष्यमा भयावह अवस्था आउन नदिन अब प्रदेशभर कान स्वास्थ्य कार्यक्रम लागु गरेर कार्यान्वयनमा ल्याउँछौं ।’ मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बिर्षबहादुर शाहीले नीति, लगानी र निजी क्षेत्रको सहकार्यमा आँखा स्वास्थ्य कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै मन्त्रालयले अब कान स्वास्थ्य कार्यक्रम पनि सोही अनुसार अघि बढाउने बताए ।
प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र प्रमुख डा. शक्ति प्रसाद सुवेदीले जनस्वाथ्यका अन्य कार्यक्रमसँगै अब कान स्वास्थ्य कार्यक्रमलाई पनि प्राथमिकता दिन आवश्यक रहेको औंल्याए । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले आँखा र कानबिचको अन्तरसम्बन्ध उल्लेख गर्दै कान स्वास्थ्यलाई पनि जोड दिन उल्लेख गरे ।
वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा, जनस्वास्थ्य अधिकृत भुपेन्द्रदेव गिरीले नगरको नीति तथा कार्यक्रम र बजेटमा कान स्वास्थ्यको कार्यक्रम समावेश गर्न पहल गर्ने बताए । ‘कर्णालीको वस्तुस्थिती वीरेन्द्रनगरले देखाउँछ, यहाँ भएको अनुसन्धानले कर्णाली दर्शाएको छ’ उनले भने, ‘अब यो कार्यक्रमलाई नीतिगत रुपमै समावेश गर्न नगर कार्यपालिकासँग अनुरोध गर्नेछुँ ।’