हरियो रुखमै विद्युतको तार
रुकुमपश्चिमको जिल्ला सदरमुकामनजिकै एक टोलमा हरियो रुखलाई विद्युतको पोल बनाएर विद्युत लाइन विस्तार गरिएको छ । मुसीकोट नगरपालिका–१ को रावलबारा टोलमा रुखलाई पोल बनाएर नाङ्गो विद्युत लाइन वितरण गरिएको हो । घाँसदाउराको प्रयोजनका लागि हुर्काइएको रुखमा विद्युतको नाङ्गो तार राखेर करेन्ट प्रवाह भएसँगै यहाँका बासिन्दा त्रसित भएका छन् । स्थानीय भानु केसीले रुखमै बेरेर आएको विद्युतको तारबाट टोलमा विद्युत् लाइन वितरण भएको बताए । उनले उक्त स्थानका दुई वटा हरियो रुखलाई विद्युत को पोलका रूपमा प्रयोग गरिएको जानकारी दिए । हावा लाग्दा, रुख हल्लिँदा झन् डर लाग्ने गरेको उनको भनाइ छ ।
सोही टोलकी मनीषा रावलले विद्युत लाइन जोडिएका रुखको नजिक जानै डर लाग्ने बताए । उनले भने, ‘कहिलेकाहीँ बालबच्चा जान्छन् कि भन्ने ठुलो डर छ । बाध्यताले गर्दा टोलका सबैले रुखबाटै जोडिएको लाइनबाट विद्युत सेवा लिनु परेको छ ।’
हरियो रुखबाट करेन्ट प्रवाह हुने जान्दाजान्दै विद्युत कार्यालयले भिमल र बकैना जातको रुखमा विद्युत्को नाङ्गो तार जोडिदिएको छ । यहाँका पाँच घरमा जडान गरिएको विद्युत सेवाका लागि दुई रुखलाई विद्युत्को पोल बनाइएको छ । स्थानीयले पटक पटक विद्युत कार्यालयसमक्ष पोलको माग गर्दा सुनुवाइ नभएको बताएका छन् । घरछेउमै रहेको रुखमा विद्युतको नाङ्गो तार जोडिएपछि निर्धक्कसाथ आउजाउ गर्नसमेत नसक्ने अवस्था रहेको बताइन्छ ।
विद्युत वितरण केन्द्र रुकुमपश्चिमका प्रमुख शिवजीप्रसाद साहले हरियो रुखमा नाङ्गो तार जोड्ने काम जोखिमपूर्ण रहेको बताए । उनले त्यस विषयमा कार्यालयका तर्फबाट आवश्यक पहल गरेर तत्कालै समस्या समाधान गरिने उल्लेख गरे । कार्यालय प्रमुख साहले रुखमा विद्युत्को नाङ्गो तार जोड्नु नै जोखिम बढाउने काम भएकाले त्यसो नगर्नसमेत अनुरोध गरे । पछिल्लो समय विद्युतको करेन्टका कारण मृत्यु हुने, घाइते हुने, घर आगलागी हुने घटनासमेत बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युत पोलको करेन्टका कारण पछिल्लो वर्ष दुई जनाको मृत्यु भएको तथ्याङ्क छ ।