अहिले नै विवाह ! ‘नो’ अभिनय !!

वर्षा महर्जन 

‘कोठामा मधुरो प्रकाश फैलिएको छ । त्यसकै बीचमा उभिएकी छन् एक किशोरी । कालो वर्ण, होचो कदकी ती किशोरी आफ्नो शारीरिक बनावटका कारण आफ्ना केटा साथीहरु मात्रै होइन, केटी साथीहरु पनि नभएको गुनासो गर्छिन् । कारण उनी आफ्ना साथीहरु जति राम्री छैनन् ।’

यो दृश्य केही महिनाअघि शिल्पी थिएटरमा मञ्चन भएको नाटक ‘आँधीको मनोरम नृत्य’को हो । दृश्य नाटकको भए पनि यसको वास्तविक पात्र सङ्गीता उराँवको जीवनमा पनि केही हदसम्म मेल खान्छ । कारण, उनको वर्ण कालो छ । उचाई कम छ । सुनसरी गडीगाउँकी उनी चार वर्षदेखि शिल्पी नाटक घरमा रङ्गकर्मीका रुपमा काम गरिरहेकी छन् ।

गाउँघरबाट पहिलो पटक काठमाडौं आउँदा आफ्नो लवज र शारीरिक बनावटका कारण उनले धेरै समस्या झेल्नुपर्‍यो । फरक भाषा र संस्कृतिबाट आएकी उनलाई सुरुमा त शुद्ध नेपाली बोल्नै कठिन पर्‍यो । कलेजमा जाँदा पनि सबैले आफूलाई नै ट्वालट्वाल्ती हेरिरहेको हो कि भन्ने लागेर उनी अप्ठ्यारो महसुस गर्थिन् ।

“मलाई देखेर सबै अच्चम मान्दा म जस्तो अरु व्यक्ति नै छैनन् र जस्तो लाग्थ्यो,” थोरै निराशा र केही आक्रोश मिश्रित आवाजमा उनी भन्छिन् । कलेजमा साथी बनाउन उनलाई दुई वर्ष लाग्यो ।

कलेजमा मात्रै होइन, जुन सपना बोकेर उनी काठमाडौं आएकी थिइन्, त्यो क्षेत्रमा पनि कहिलेकाहीँ आफ्नो शारीरिक बनावट र लवज कमजोरी बनेको उनलाई महसुस हुने गर्छ । भन्न त उनलाई कसैले पनि प्रत्यक्ष रुपमा त्यस्तो कुरा गरेका छैनन् । तर पनि हाउभाउ र केही अप्रत्यक्ष कुराकानीमा उनी ती कुराहरु महसुुस गर्छिन् ।

“भृकृटी नाटकको लागि कलाकार छान्ने कुरा चलिरहेको थियो । म शिल्पी नाटकको विद्यार्थीमध्ये २–३ ब्याच सिनियर भएका कारण भृकृटीमा छानिन्छु जस्तो लागेको थियो,” उनी भन्छिन्, ‘‘तर म मूल क्यारेक्टरमा परिनँ, सहपाठी हुने कुरा भयो । मलाई भृकुटी बन्ने इच्छा थियो ।’’ त्यसबखत उनले केही भनिनन्, तर मनमा कतकता चिसो भने पसेको थियो ।

‘भृकृटी भनेको त गोरी, राम्री अनि अग्ली हुनुपर्ने हो नि त’ उनलाई लाग्यो । अप्रत्क्ष रुपमा आफ्नो शारीरिक बनावट नै यसपटक पनि कमजोरी भएको उनले ठहर गरिन् । रिहर्सल चलिरहँदै गर्दा एक दिन अर्को सहकर्मीसँगै सङ्गीतालाई पनि त्यो भूमिकामा रिहर्सल गराउने कुरा भयो । उनले सोचिन्– अब मौका पाएँ, निकै मेहनतका साथ काम गर्नेछु ।

उनले ‘एक शो’मा भृकृटी बन्ने मौका पनि पाइन् र राम्रैसँग भूमिका निर्वाह गरिन् । मञ्चन सकिनैबित्तिकै उनी आफ्नो कोठामा गएर भक्कानिएर निकैबेर रोइन् । आफ्नो इच्छा पूरा हुँदाहुँदै पनि किन रोइन् त्यो उनी आफैंलाई थाहा छैन ।

अभिनयक्रम चलिरहँदै गर्दा र विभिन्न क्यारेक्टरलाई उतार्दै जाँदा अचेल सङ्गीतालाई आफू शारीरिक रुपमा कमजोर लाग्दैन । नाट्य गुरु घिमिरे युवराजले पनि उनलाई धेरै हौसला र साथ दिने गरेका छन् । सोही कारण पनि अहिले ती कुराहरुले केही फरक नपारेको उनी बताउँछिन् ।

०००

सानैदेखि नक्कल पार्न, अभिनय गर्न र नाच्न रुचि राख्थिन् उनी । “पहिले शिशु क्लास पढ्दादेखि नै मम्मीले लिपिस्टक, नङ पालिस, गाजल लगाइदिनुहुन्थ्यो । स्कुल जाँदा पनि बाटोमा साथीहरुसँग जिस्किँदै जाने गरेको अहिले पनि सम्झना आँउछ,” उनी आफ्नो बाल्यकाल सम्झिन्छिन् ।
काठमाडौंमा जस्तो छत भएको कक्षा र राम्रो अनि चिप्लो बेन्चमा बसेर पढ्न नपाइने । पाँच वर्षमुनिका बच्चाहरुलाई जम्मा गरेर अलि ठूलो आँगनमा त्रिपाल ओछ्याएर पढाइन्थ्यो ।

सानैदेखि अभिनय गर्ने रहरले होला ४–५ कक्षामा पुग्दा नै उनले सडक नाटकमा अभिनय गर्न थालिसकेकी थिइन् । यो अवसर उनलाई स्कुलबाट भन्दा पनि बालक्लबबाट मिलेको थियो । सानैदेखि चञ्चल अनि बोल्नमा पनि अगाडि । त्यही कारण होला उनी बालक्लबमा आवद्ध भइन् । र, सडक नाटकहरु गर्न थालिन् । गडीगाउँको त्यो विकट अनि निम्नवर्गीय परिवारकी जेठी छोरी सङ्गीताको आत्मविश्वास विस्तारै बढ्न थाल्यो । जेठी छोरी भएकाले आफूभन्दा साना दुई भाइ र एक बहिनीलाई हेर्ने जिम्मा अनि आमालाई भान्छा र खेतीपातीमा सघाउने जिम्मा पनि उनकै काँधमा थियो ।

यति धेरै जिम्मेवारीबीच पनि नाटकप्रतिको मोह र लगावले त्यो १०–११ वर्षको कलिलो उमेरमै सङ्गीता आफ्ना सबै जिम्मेवारी पूरा गरेर हतारहतार बालक्लबको कार्यक्रम र बैठकहरुमा पुग्थिन् । बाल क्लबको सक्रिय सदस्य उनी कक्षा १० पुग्दा आत्मविश्वास र अभिनयको हिसाबमा अझै पोख्त भैसकेकी थिइन् ।

आत्मविश्वास र प्रतिभाका कारण नै उनले गाउँमा बालबालिका र किशोरकिशोरीहरुको लागि खोलिएको संस्था समता कला केन्द्रको उपाध्यक्षको जिम्मा पाइन् । नाटक गर्न भनेपछि भोकप्यास पनि बिर्सने सङ्गीताले समतामा आवद्ध भएसँगै आफ्नो अभिनय कलालाई अझै निखार्ने मौका पाइन् ।

उनले एक पटक विराटनगरमा १० दिनको नाटक कार्यशालामा भाग लिने मौका पाइन् । जहाँ सङ्गीताको भेट भयो शिल्पी थिएटरका सञ्चालक नाटककार, निर्देशक घिमिरे युवराजसँग ।

युवराजसँग भेट्नु नै नाटकमा अभिनय गर्ने उनको सपनालाई नयाँ दिशा दिने अवसर भइदियो । वर्षौंदेखि नाटकमा लागिरहेका युवराजले आफ्ना विद्यार्थीको भीडमा सङ्गीताको अभिनय ‘नोटिस’ गरिसकेका रहेछन् ।

०००

विनाशकारी भूकम्प गएको दुई महिना बितेको थियो । गाउँघरमा खेतीपातीको चटारो थियो । सङ्गीता पनि आमाबुबासँगै खेतीको काममा व्यस्त थिइन् ।

घन्टी बज्यो सङ्गीताको मोबाइलमा । घिमिरे युवराजले सङ्गीतलाई काठमाडौंमा ३ महिना नाटकको कक्षा हुने र इच्छा भए भाग लिन सुझाव दिए । सङ्गीता निकै खुसी भइन् ।

नाटक कार्यशालाबाटै धेरै ठाउँमा प्रस्तुति दिन जाने मौका पाइन् । र, सोही क्रममा थुप्रै ठाउँमा गएर अभिनय गर्न पनि पाइन् । नाटक सिकेर नाटकघरमा पनि प्रस्तुति दिन पाइन्छ भनेर उनले सपनामा पनि सोचेकी थिइनन् । किनभने, उनलाई काठमाडौंमा नाटकघर हुन्छ भनेर थाहै थिएन ।

काठमाडौं जाने कुराले जति उनमा उत्सुकता जगाएको थियो, त्यति नै चिन्ता पनि थियो । जान त जाने, तर कसरी जाने ? गएर कहाँ बस्ने ? पैसाको बन्दोबस्त कसरी हुन्छ ? एक्ली छोरी, घरभन्दा धेरै टाढाको सहरमा कसरी एक्लै बस्छे ? यावत प्रश्नहरु उठ्न थाले । यी सबै प्रश्नहरु सङ्गीताले भोलिपल्ट बिहानै युवराजलाई फोनमा पोखिन् । सङ्गीताको नाटकप्रतिको रुचि र लगाव देखिसकेका युवराजले उनलाई बस्ने र खाने बन्दोबस्त मिलाइदिने वाचा गरे ।

यताको व्यवस्था त मिल्यो । तर त्यहाँसम्म पुग्न खर्चको फेरि समस्या भयो । जसमा आमाले गहना बन्दकी राखेर ३ हजार र फुपुसँग २ हजार सहयोग लिई काठमाडौं पसिन् सङ्गीता ।

०००

सानोसानो घर, चारैतिर हरियाली र खुल्ला ठाउँमा हुर्केकी सङ्गीता । काठमाडौंका ठूलाठूला घर, जता हे¥यो उतै मान्छेको भीड, कमिलासरी चल्ने गाडीहरु देख्दा अक्क न बक्क भइन् । “हाम्रोतिर त अहिले पनि गाडीको सुविधा छैन । सिटी सफारी रिजर्भ गरेर हिँड्नुपर्छ,” उनी भन्छिन् ।

काठमाडौंको परिवेश देखेर अचम्मित भएकी सङ्गीतलाई शिल्पी थिएटरको आँगनले थप अचम्मित बनायो । ‘‘यहाँ तल सानो खाले अभिमञ्च थियो,” छेउको शिल्पीको आँगनतर्फ इङ्गित गर्दै उनी भन्छिन्, “त्यहाँ आएर यसो नियालेको त किताब नै किताब ! ओहो यति धेरै किताब ! ३ महिना यहाँ बसियो भने त यी सबै किताब पनि पढ्न पाइन्छ होला भन्ने सोचेँ ।”

उनी पढेको विद्यालयमा कोर्सको किताबमात्रै पढ्न पाइन्थ्यो । कोर्सबाहिरको किताब त उनले काठमाडौं आएपछि नै पढ्न पाइन् । अझै नाटकको पनि किताब हुन्छ भनेर त उनले शिल्पीमा आएपछि मात्रै थाहा पाइन् ।

नाटकघरमै यति धेरै किताब देखेकी उनी थिएटरभित्र बाँसैबास प्रयोग गरेर सानो घर बनाइरहेको देख्दा फेरि तीनछक परिन् । त्यो समयमा शिल्पीको ‘गोठाले घर’ नाटकघरमा ‘लाटो पहाड’ को सेट बनाइँदै थियो ।

सङ्गीता फेरि अचम्मित भएर आफैसँग प्रश्न गर्न थालिन्, ‘काठमाडौंमा पनि बाँस प्रयोग गरिन्छ र ? बाँसको सेटमाथि सिलिङमा ठूलो कृत्रिम बत्ती !’

काठमाडौंको बसाइँ लम्बिएसँगै नयाँ परिवेशमा उनी घुलमिल पनि हुँदै जान थालिन् । त्यसपछि सुरु भयो ३ महिनाको कार्यशाला । त्यस अवधिमा उनी शिल्पीकै होस्टलमा बसिन् । सोही कार्यशाला टिमबाट एउटा सडक नाटक ‘त्रिपाल’ भन्ने तयार गरिएको थियो ।
भूकम्पका कारण घर भत्किएर त्रिपालमा गुजारा गरिरहेका नेपालीको कथालाई नाटकले टपक्क टिपेर टोली बढ्यो २० दिनको सडक नाटक लिएर विभिन्न जिल्लाहरुमा । त्यो समयसम्म सङ्गीताको अभिनय अझै माझिइसकेको थियो ।

कार्यशालाको ३ महिना पनि बितिसकेको थियो । दसैं पनि नजिकिँदै गरेकोले सङ्गीता घर फर्किन् । उनी फर्किएको ३ महिना बितिसकेको थियो । सङ्गीताका साथीहरु, दिदि, फुपु कक्षा १० सकिनेबित्तिकै बिहे गरेर गैसकेका थिए । उनी भने काठमाडौं आएकाले बिहा भएको थिएन ।

तर अब त कक्षा १२ पनि सकिसकेको र ३ महिने नाटक प्रशिक्षण पनि सकिसकेकोले उनले विवाह गर्दिनँ भन्ने कुनै बहाना नै भएन । घरमा उनको विवाहको कुरा चल्न थाल्यो । यही समयमा कक्षा १२ को नतिजा आयो, उनी उत्तीर्ण भइन् । आफू पास भएको खबर सुन्नेबित्तिकै सङ्गीताले सुरुमै शिल्पीका गुरु युवराजलाई खबर सुनाइन् ।

उनी पनि खुसी भए । र, सङ्गीतलाई फेरि पढ्ने इच्छाबारे सोधे । सङ्गीताले इच्छा भएको बताइन् । त्यो फोन कुराकानीमा युवराजले इच्छा त सोधे, तर त्यसलाई सम्बोधन गरिदिने केही कुरा गरेनन् ।

०००

उनलाई त्यति याद त छैन, त्यस्तै विहानको पहिलो सूर्यको प्रकाशले आँगनमा केही न्यानो प्रदान गरिरहेको थियो । सङ्गीता बहिनी, हजुरआमा र फुपुसँग आँगनमा माटो भर्नलाई कोदालो बोकी माटो खनिरहेकी थिइन् ।

युवराजको फोन आयो । उनले स्नातक पढ्ने भए शिल्पीले सहयोग गर्ने, तर त्यसको बदलामा उनले नाटकमा भने निरन्तरता दिनुपर्ने सर्त राखे ।

पढ्न पनि पाइने र आफ्नो रहरलाई पनि निरन्तरता दिन पाउने अफर सङ्गीताका लागि दुवै हातमा लड्डुसरह नै भयो । उनी फोन राख्नेबित्तिकै हातको कोदालो भुइँमा फालेर नाच्न थालिन् ।

बिहेको कुरा भैरहेको घरमा उनले अझै काठमाडौं गएर पढ्न पाउने मौकाबारे सुनाइन् । १२ सम्म मात्रै पढाइ हुन्छ भन्ने सोच भएको उनको आमाबुवाले प्रश्न गरे– अब कति पढ्छौ त ? अझै पढ्न मिल्छ र ?

तर उनको भित्री मनले भनिरहेको थियो– अहिले नै विवाह ! ‘नो’ अझै केही समय अभिनय ! अभिनय उनको सबैभन्दा प्रिय कर्म बनिसकेको थियो ।

त्यसैले सङ्गीताले बाबुआमालाई जवाफ दिइन्, “अब त १२ सकियो १३–१४–१५ पढ्ने हो नि ।” उनको परिवारले ब्याचलर भनेको बुझ्दैनथ्यो । उनी काठमाडौं आएर आफ्नो पढाइ पूरा गर्न पाउने खुसियाली मनाइरहँदा उनकी बहिनी भने दुःखी थिइन् । त्यही दिन बेलुकी खाना पकाइरहँदा बहिनीलाई ‘म जान्छु है पढ्न’ भन्दा सङ्गीताकी बहिनी भक्कानिएर रोइन् ।

“तपाईं गएपछि म अब एक्लै हुन्छु, घरको काममात्रै गर्नुपर्ने हुन्छ पढ्न पाउँदिनँ,” बहिनीको यो वाक्य अहिले पनि सङ्गीताको कानमा गुञ्जिरहन्छ ।

स्नातक पढ्न भनेर काठमाडौं आएकी उनलाई कुन विषय पढ्ने भन्ने अन्योलमा थियो । थिएटरकै सिनियर दिदीहरु र युवराजसँगको सल्लाहमा थिएटरसँगै सम्बन्धित विषय पढ्न सुझाव मिल्यो ।

०००

नृत्यमा पनि उत्तिकै रुचि भएकी उनले पद्मकन्या कलेजमा कत्थक पढ्ने निधो गरिन् । तर त्यहाँ त्यसबेला भर्नाको समय नाघिसकेको थियो । त्यसपछि रत्नराज्य पुगिन् । त्यहाँ कत्थकको कक्षा नभएकोले म्युजिकमा भर्ना भइन् । “म्युजिकको केही पनि थाहा थिएन, तर त्यसमा हामफालेँ,” उनी भन्छिन् ।

पहिलो वर्ष केही गाह्रो भए पनि अहिले उनले सङ्गीतको पनि कतिपय कुरा सिकिसकेकी छन् । जसले उनलाई नाटकमा पनि सहयोग मिलिरहेको छ । ‘यल्लो कमेडी’ नाटकबाट रङ्गकर्म यात्रा सुरु गरेकी उनले आजसम्म आँउदा ७–८ वटा नाटकमा अभिनय गरिसकेकी छन् । जसमध्ये उनलाई सबैभन्दा राम्रो लागेको नाटक हो ‘आँधीको मनोरम नृत्य’ र ‘पाहुना घरकी साहुनी’ ।

क्यारेक्टरभन्दा पनि स्क्रिप्ट हात पर्नेबित्तिकै त्यसलाई कसरी न्याय दिने भन्नेमा उनको ध्यान जान्छ । “कलाकार भएपछि यो क्यारेक्टर, त्यो क्यारेक्टर भन्दा पनि अभिनयमा ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ,” उनी भन्छिन् ।

२४ वर्षको उमेरमै नाटकमा जमिसकेकी सङ्गीताको सपना भनेको अभिनयमा रुचि भएर पनि मौका नपाएका गाउँघरका किशोरीलाई सहयोग गर्ने रहेको छ । “हाम्रो जस्तो पिछडिएको गाँउबाट इच्छा भएर पनि मौका नपाइरहेका थुपै कलाकारलाई अगाडि ल्याउनु छ,” उनी भन्छिन् ।

तपाईको प्रतिक्रिया