सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भागबण्डामा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ जना उम्मेदवारको टुंगो लगाएको हो ।
नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डाको आधारमा उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार तत्कालीन एमालेको तर्फबाट नौं र माओवादी केन्द्रको तर्फबाट सात सिटमा प्रतिनिधित्व रहनेगरी भागबण्डा गरिएको छ । नेकपाले कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र सुमित्रा विसीलाई उम्मेदवारका लागि छनौट गरेको हो ।
शर्मा तत्कालिन माओवादी र विसी तत्कालिन एमालेमा आवद्ध थिए । जनयुद्धमा भूभिगत बनेका शर्मा हाल नेकपा कर्णाली प्रदेशको सचिव हुन् । यस्तै तत्कालिन एमालेको महिला संगठन अनेमसंघको राजनीतिमा सक्रिय विसी पार्टी एकिकरण अघि तत्कालिन एमालेको केन्द्रिय निर्वाचन आयोगको सदस्य थिइन् । यस्तै नेकपाले प्रदेश १ बाट पूर्वएमाले समूहबाट इन्दु गौतम र देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ भने पूर्वमाओवादीबाट गोपी अछामीलाई उम्मेदवार बनाएको छ ।
यस्तै प्रदेश २ मा पूर्वएमालेबाट तुलसा दाहाल र पूर्वमाओवादीबाट राधेश्याम पासवान उम्मेदवार बनेका छन् भने प्रदेश नम्बर ३ बाट पूर्वमाओवादीबाट गंगा बेलबासे र पूर्व एमालेबाट बेदुराम भुसाल उम्मेदवार बनेका छन् । यसैगरी गण्डकी प्रदेशमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट भगवती न्यौपाने उम्मेदवार बन्दा प्रदेश ५ बाट पूर्व एमालेबाट विमिला घिमिरे र गोपाल भट्टराई तथा पूर्वमाओवादीबाट जगप्रसाद शर्मा उम्मेदवार बनेका छन् ।
यस्तै सूदूरपश्चिम प्रदेशबाट पूर्वमा ओवादीबाट तारामान स्वाँर र पूर्व एमालेबाट शारदा भट्ट उम्मेदवार सिफारिस भएका हुन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा पार्टी बनेको भए पनि सरकारदेखि संगठनसम्म भागबण्डाको आधारमा प्रतिनिधित्व हुँदै आएको छ ।
पार्टीले मूल्यांकन ग¥यो
जाजरकोट भेरी नगरपालिका–१२ जगतिपुरमा २०२० सालमा जन्मिएका मायाप्रसाद शर्मा २०३८ सालमा अखिलको सदस्य बने । २०४२ सालमा शिक्षक संगठनमा आवद्ध भएका शर्मा २०४७ सालदेखि पार्टी राजनीतिमा संलग्न भए ।
नेकपा मसालको जिल्ला कमिटी सदस्य, संयुक्त जनमोर्चाको जिल्ला उपाध्यक्ष, नेकपा माओवादीबाट २०५१ देखी २०६३ सम्म भुमिगत भएका थिए । केन्द्रिय सदस्य, पोलिटब्यूरो सदस्यहुँदै सचिवालय सदस्यसम्म भएका शर्मा २०६४ सालको संविधान सभाको निर्वाचनपछि २०६५ सालमा समानुपातिक सभासद बनेका थिए ।
२०६९ सालमा नेकपा माओवादी विभाजनपछि उनी मोहन वैद्य समुहमा लागेका थिए । भुमिगतको बेला पश्चिम जिल्लाको युद्ध मोर्चाको नेतृत्व गरेका थिए । आईएसम्मको अध्ययन पूरा गरेका शर्माले युद्धकालमा परिवारका धेरै सदस्य गुमाएका छन् ।
उम्मेदवारमा छनौट भएपछि शर्माले पार्टीले आफ्नो मुल्यांकन गरेको प्रतिक्रिया दिए । कर्णालीको भूगोलबारे आफू जानकार रहेकाले निर्वाचित भए यहाँको विकासका लागि केन्द्रमा सक्दो पहल गर्ने उनले प्रतिवद्धता जनाए ।
ढिलै भएनी न्याए पाएँ
सुर्खेतको खानीखोलामा २०१७ सालमा जन्मिएकी समित्रा विसीले तत्कालिन मालेबाट २०३५ सालबाट पार्टी राजनीतिमा प्रवेश गरिन् । २०३७ सालदेखी अखिल नेपाल महिला संघको पुनर्गठन भएपछि त्यसको सदस्यसमेत भइन् ।
२०३९ सालमा उनलाई पार्टीले सदस्यता दिएको थियो । तर त्यतिबेला पार्टीका दस्तावेज लुकाउँदा नभेटिँदा २०४३ सालमा पार्टीको सदस्यता कायम भयो । गाउँ, इलाका, नगर, जिल्ला अञ्चल कमिटीको सदस्य हुँदै काम गरेको अनुभव उनमा छ ।
तत्कालीन एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय सचिव भएर काम गरेको उनको अनुभव छ । तत्कालिन एमालेमा हुँदा उनले केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको सदस्य भएर काम गरिसकेकी छन् ।
२०७४ सालमा पार्टीले प्रतिनीधि सभा सदस्य पदको समानुपातिक उम्मेदवार बनाउने भनेपछि उनले राष्ट्रि वाणिज्य बैंकको जागिरबाट राजिनामा दिइन् । ‘पूराना कार्यकर्तालाई सम्झेर पार्टीले गरेको निर्णयको उच्च कदर गर्दछु’ विसीले भनिन्, ‘विवेक पु¥याएर पूराना नेतालाई पार्टीले ढिलै भएनी न्याए दियो ।’
बामदेवले उम्मेदवार बन्न मानेनन्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । नेकपा सचिवालयको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए ।
‘प्रचण्ड कमरेडले दुई जनाबारे के गर्ने पहिला यसमा छलफल गरौं भन्नुभयो’ एक नेता भन्छन्, ‘केपी कमरेडले यसमा छलफल नै गर्नुपर्दैन, निर्णय गरौं भन्नुभयो ।’
तर नेता गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन आफ्नै शर्त रहेको बताए ।
आफू प्रधानमन्त्री हुने राष्ट्रियसभामा जाने भन्दै उनले संविधान संशोधन गर्नुपर्ने शर्त राखे । तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गौतमको शर्त ठाडै अस्वीकार गरे । उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न नसकिने र गौतम अहिले प्रधानमन्त्री बन्न पनि सम्भव नभएको ओलीले बताए ।
त्यसो भए उम्मेदवार नबन्ने नेता गौतमले बताए । अर्का नेता श्रेष्ठले भने आफ्नो आकांक्षा नभएको तर पार्टीले अहिले राष्ट्रियसभामा गएर भूमिका खेल भन्छ भने त्यसमा शर्त नराख्ने बताएको एक नेताले सुनाए ।
युग संवाददाता । । १९ पुष २०७६, शनिबार १७:५९