सुर्खेत : जुम्लाको हिमा गाउँपालिकाको ओदी, तातोेपानी गाउँपालिकाको जर्मी, पातारासी गाउँपालिकाको माथीलोर्पा र चन्दननाथ नगरपालिकाको हरिबहादुर मार्गमा जनप्रतिनिधिको बलमिच्याईले सडक खनिए ।
जहाँ करोडौं रकम खर्च भयो । तर मापदण्ड विपरीत खनिएका यी सडकमा हाल गाडी भने गुड्दैनन् । यस्तै जिल्लाकै तिला, गुठिचौर, सिंजा र कनकासुन्दरी गाउँपालिकामा पनि दर्जनौं ग्रामीण सडक खनिएका छन् । तर ति सडक मापदण्ड अनुसार छैनन् । सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणिय प्रभाव मुल्यांकन (ईआइए) विना नै धमाधम सडक खनिए ।
जनप्रतिनिधिले आफ्नो स्वार्थ अनुसार बजेट खर्चिएका यी सडकमा पनि गाडी संचालन् भएका छैनन् । ति सडक गाडी गुड्न लायक पनि छैनन् । जुम्लामा मात्रै हैन, कर्णालीका अधिकांश स्थानीय तहमा सडक निर्माणमा मनलाग्दी हुने गरेको छ । मनलाग्दी सडक खन्ने र बजेट खर्च गरिए पनि त्यसको उपयोगिता भने छैन ।
दैलेखको तल्लोडुङ्गेश्वर–लुजै–मेला–बालेबजार जोड्ने सडक लाखौं रकम खर्चेर खनियो ।
वर्षातको बेला गएको पहिरोले यो सडकको स्तरोन्नोति गरिएको छैन । दैलेख जिल्लाका अधिकांश गाउँ र टोलहरुमा सडक खनिएका छन् । सडक खनिएको समयमा साना सवारी सञ्चालनमा आए पनि वर्षातको बेला पूर्ण रुपमा ठप्प हुन्छन् । ग्रामीण सडक निर्माणको नाममा जनप्रतिनिधिको कमाउधन्दा सुरु गरेकै कारण बनेका सडक दिगो नभएको गुनासो स्थानीयहरुको छ ।
अधिकांश सडक जनप्रतिनिधिले नै ठेक्का लिने र विना प्राविधिक अध्ययन डोजर चालकलाई सडक निर्माणको जिम्मेवारी सुम्पिनेक्रम कर्णालीका पालिकाहरुमा बढ्दो छ । पालिकाहरुले वातावरणिय प्रभाव मुल्यांकन नै नगरी सडक खन्ने काम धमाधम अघि बढाउँदा कतिपय ठाउँका वस्तीहरु जोखिममा छन् । खेतियोग्य जमिन सडकमा परिणत भएका छन् भने सडककै कारण भू–क्षयको त्रास छ ।
सडकहरु डोजर चालकले आफुलाई सहज हुने गरी निर्माण गर्दै आएका छन् । जसले गर्दासवारी आवतजावतमासमेत सकस हुने गरेको छ । ग्रामीण सडक जनप्रतिनिधिले जथाभावी मापदण्ड विपरित निर्माण गर्न थालेपछि सरोकारवालाले आलोचना गरेका छन् । जनप्रतिनिधिले आवश्यकता भन्दा पनि जवरजस्ती सडक खनेको भन्दै नागरिक समाज जुम्लाले आपत्ति जनाएको छ ।
तातोपानी गाँउपालिकाका स्थानीय नविन खत्रीले भने, ‘सडकभन्दा जनतालाई बास र गासको चिन्ता छ, तर नागरिकको घर नै भत्काएर सडक निर्माण गर्नुको औचित्य छैन ।’ जनप्रतिनिधिले स्थानीय कृषि उपज उत्पादनमा जोड दिनुको साटो नांगा डाँडाकाँडासम्म सडक विस्तार गरेर पर्यटक भित्र्याउने सपना बाँडेको सिंजा गाउँपालिका नराकोटका मोहन शाही बताउछन् । सडक निर्माण आयोजनाको न त सार्वजनिक सुनुवाई हुन्छ, न त कुनै स्टमेट बनाईन्छ । संम्भाव्यता अध्ययन नगरी मनपरी तरिकाले गाउँबस्तीको सौन्दर्य बिग्राने गरी सडक निर्माण भईरहेका छन् ।
गुरुयोजना बनाएर मात्र सडक निर्माण गरौं
प्रेमबहादुर थापा अध्यक्ष,
जिल्ला समन्वय समिति, दैलेख
दैलेखका सबै वडा र टोलमा सडक पुगेका छन् । तर ति सडकहरुमा अझै पनि बाह्रै महिना गाडी गुड्न सक्ने अवस्थाका छैनन् । अनुगमनका क्रममा हचुवाको भरमा सडक खनिएको भेटाएका छौं ।
सडकको स्तरोन्नतिभन्दा नयाँ–नयाँ सडक खन्ने प्रचलन पालिकाहरुले अहिले पनि यथावत राखेका छन् । तीन महिना पहिला सम्पन्न जिल्ला सभाको बैठकमा नयाँ सडक खन्नेभन्दा पनि खनिसकेका सडकहरुको विभाजन गरेर दिर्घकालिन बनाऔं भन्ने विषयमा छलफल भइसकेको छ ।
पालिका र वडा कार्यालयसम्म पुग्ने सडकहरु बाह्रैमास सञ्चालन हुनेगरी काम गर्न हाम्रो आग्रह हो । यदी अझै ध्यान नदिएर नयाँ सडक खन्ने हो भने भुक्षय हुने, पानीका स्रोत सुक्ने भयो, खेतीयोग्य जमिन मासिने र माटो खनेर समुन्द्रमा जाने स्थिति छ । नयाँ सडक खन्नुपर्ने अवस्थामा छैन् । बरु भएका सडकहरु स्तरोन्नति गर्नहोस् भनेका हौं । पालिकाका प्रमुखहरुले मान्नु भएको छैन ।
यसविषयमा प्रदेश सरकारले आयोजना गरेको समन्वय परिषद्को बैठकमा पनि गम्भीर भएर कुरा राखेको छु । तर केन्द्र र प्रदेश सरकारले रणनितिक सडकहरुको गुरुयोजना नबनाएसम्म पहाडका खेतीयोग्य जमिन मासिने हुने खतरा छ । सडकको मापन गर्ने नीति नबन्दासम्म पालिकाहरुमा वेथिति झन् बढ्ने मेरो दावी हो । मनलाग्दी पालिकाहरुले सडक खन्ने नीति यहीँ गतीमा अघि बढाए पहाडको बस्ती केही रहदैन् । गाडी चल्न सक्ने स्थिति पनि हुँदैन ।
टिकाउ सडक निर्माणमा पहल गर्नेछौं
भेमबहादुर सेन अध्यक्ष,
गाउँपालिका महासंघ, कर्णाली
गाउँपालिका महासंघ कर्णालीका अध्यक्ष भिमबहादुर सेनले मापदण्डविना नयाँ सडक नखन्न आग्रह गरेको बताएका छन् । उनले आवश्यकता आधारमा मात्रै सडक खन्नुपर्ने र मनलाग्दी खन्ने सडकले ठूलो असर गर्ने भएकाले सचेत हुन गाउँपालिकाका अध्यक्षहरुलाई आग्रह गरेको बताए ।
‘बढी वडाबाट सडक खन्ने योजना आउने गरेकाले त्यस विषयमा गम्भीर बन्न छलफल भइरहेको हुन्छ’ सेनले भने, ‘प्राथमिकता र मापदण्डविना कुनै पनि नयाँ सडक नखन्नुहोस् बरु भएका सडकहरु स्तरोन्नती गर्नुहोला भन्ने सुझाव हाम्रो छ ।’
स्थानीय तह निर्वाचन भएको झण्डै तीन वर्ष पुग्नै लाग्दा खन्नु पर्ने सडकहरु खनिसकिएकाले बाह्रै महिना गाडी चल्नेगरी सडकको मजबुत बनाउन आग्रह गरिरहेको उनको भनाइ छ । पालिकाको कमाइ खाने भाडो सडक बनाए भन्ने आरोप लाग्ने गरेकाले अब टिकाउ सडक बनाउनमा ध्यान पु¥याउन जरुरी रहेको सेनले जनाए ।
युग संवाददाता । । १७ माघ २०७६, शुक्रबार १२:५२