कालिकोट : कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण बनेको छ । जिल्लाको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सिमानामा रहेको दुई वटा राजमार्ग जोड्ने उक्त झोलुङ्गे पुल जिर्ण बनेको हो ।
कर्णालीको भविष्यसँग जोडिएको कर्णाली करिडोर जोड्ने खुलालु पुल नबन्दा विकास ओसार्न विकल्प बनेको उक्त झोलुङ्गे पुल जिर्ण बन्दै गएपछि विकासी सामान तथा यात्रा गर्न समस्या भएको छ । झोलुङ्गे पुलमा रहेको जाली च्यातिएको र पुलनै दिन प्रतिदिन कम्जोर हुँदै गएको छ । पुलबाट सामान लिँदा वा मानिसहरु आवतजावत गर्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
दैनिक रुपमा सयौंको संख्यामा यात्रुहरु र जिल्लाका पाँच वटा स्थानीय तहको विकासी सामानहरु कर्णाली तार्ने उक्त पुल जिर्ण बनेपछि सामान ढुवानी तथा आवतजावतका लागि समस्या भएको स्थानीय व्यपारी विजुत्त संज्यालले बताए । उनले भने, ‘जिते बजारमा फेरी पनि छ । तर त्यहाँ हिउँदको समयमा गाडी मात्र तारिन्छ । गाडीमा आएको सामान त्यही झोलुङ्गे पुलबाट कर्णाली तारिन्छ । फेरीमा वर्षामा गाडी तार्न पनि बन्द हुन्छ ।
सुर्खेत नेपालगञ्जबाट विकास निर्माण, स्थानीय हाटबजारका लागि आएको सबै किसिमको सामानहरु झोलुङ्गे पुलबाटै तार्नु पर्ने बाध्यता छ । तर पुल जिर्ण बन्दा कसैले पनि त्यसको मर्मतका लागि पहल गरेको छैन् । जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँ पालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेण गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा जाने हरेक विकासी सामानहरु पनि जितेमा रहेको झोलुङ्गे पुलबाटै कर्णाली तार्नु पर्नुपर्छ ।
उनका सरकारी तथा निजी मोटरसाइकहरुले पनि यो पुल भएर कर्णाली करिडोर र कर्णाली राजमार्गमा आउने जाने गरेका छन् । कर्णाली करिडोर सञ्चालनमा आएपछि कर्णाली तर्ने हरेक मोटरसाईकल यात्रुहरुले यही झोलुङ्गे पुल भएर आवतजावत गर्ने गरेका छन् । मान्छे र पशुवस्तु हिड्न बनाईएको झोलुङ्गे पुलमा मोटरसाईकल, विकासी सामानहरु ओसार्दा पुल जिर्ण भएको हो । पचालझरना गाउँपालिका जाजरकोटका हार्डवेयर व्यापारी ददी बुढाले जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण बनेपछि आफुहरुलाई सामान ढुवानी गर्न समस्या भएको बताए। पुल निर्माणको थालनी भएको १० वर्ष बित्तिसक्दा पनि खुलालु पुलमा जग मात्र खनिएको छ ।
बेलिब्रिज जडानको तयारी
सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन । सो पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसँग जोड्छ । विसं २०७५ पुसमा पक्की पुल बनाउन सर्भे गरिएको थियो ।
सडक डिभिजन कार्यालय जुम्लाले पुल बनाउन पहल नगरेपछि गाउँपालिकाले अहिले बेलिब्रिज जडान गर्ने तयारी थालेको छ । कर्णाली प्रदेश सरकारले पुलको सट्टा बेलिब्रिज जडान गरी तत्काल यातायात सञ्चालनमा ल्याई पचालझरना र पलाँता गाउँपालिकालाई सडक सञ्जालले जोड्ने काम अगाडि बढाएको छ।पचालझरना गाउँपालिकाको केन्द्र जारकोटस्थित घाटलाइने ढुङ्गामा बेलिब्रिज जडान गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलका प्राविधिक टोलीले सर्भे गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिए ।
‘जुन ठाउँको नजिकै गत पुसमा पक्की पुल बनाउन सडक डिभिजन कार्यालयले सर्भे गरेको थियो । त्यो ठाउँमा नगरेर अहिले छुट्टै ठाउँमा गरियो’, उनले भने, ‘जहाँ भए पनि पुल बने भइहाल्थ्यो तर अहिलेसम्म कुनै काम भएको छैन ।’ एशियाकै अग्लो पचालझरना अवलोकन गर्न जान चाटेबगरमा पुल बने निकै सहज हुने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । तर त्यो पुल बनाउने काम १३ महिनासम्म शुरु नहुँदा बेलिब्रिज जडानमा प्रदेश सरकारलाई आग्रह गरिएको उनले जानकारी दिए ।
युग संवाददाता । । २२ माघ २०७६, बुधबार १२:३१