आफू मरेर यात्रु बचाउने पाइलटको शालिकमा राजनीति

बाँके : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश भनेका थिए ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाइँहरुलाई बचाउँछौँ ।’ उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा प‍¥यो ।

कालीकोटको चिलखाँयामा फोर्स ल्याण्डिङ गर्ने क्रममा २०७२ साल फागुन १४ गते जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा सबै यात्रु सकुशल रहे तर क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले ज्यान गुमाए ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको जहाजको इञ्जिन फेल भएपछि फोर्स ल्यान्डिङ गर्ने क्रममा भएको उक्त दुर्घटनामा चालकद्वय बाहेक सबै यात्रु सकुसल रहे । ‘प्याक–७५० एक्सएल’ सिंगल इञ्जिन जहाज उडेको ३० मिनेटपछि दैलेखको हाउडेलेक आसपास पुग्दा प्राविधिक समस्या आएर इञ्जिनले पूर्णरुपमा काम गर्न छोड्यो । इञ्जिनलाई पुनः सञ्चालन गर्ने क्याप्टेन न्यौपानेको प्रयास सम्भव भएन ।

जहाज ग्लाइड (बेलुनजस्तै उडाएर) गरेर नजिकै फोर्स ल्यान्डिङका लागि उपयुक्त ठाउँ खोजियो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गराउँदा भिरालो जमीन र काल्नासहितको खेतका कारण विमान भित्तामा ठोक्किएर दुर्घटनामा प‍¥यो । इञ्जिनमा समस्या भएपछि  ‘इमर्जेन्सी पोर्सिडियर’ अन्तर्गत विमानलाई करिब पाँच मिनेट ग्लाइड गरेर आठ नटिकल माइल दूरी पार गराउन सफल भए पनि पाइलटद्वयले आफ्नो मृत्युलाई भने जित्न सकेनन् ।

विमानको अगाडिको भाग ठोक्किएपछि क्याप्टेन न्यौपाने र को–पाइलट राना ककपिटमै च्याप्पिएका थिए । क्याप्टेन न्यौपानको तत्कालै र को–पाइलट रानाको उद्दारमा ढिलाइ हुँदा करिब डेढ घण्टापछि निधन भएको थियो । चालक द्वयलेआफू मरेर पनि जहाजमा सवार एक नाबालकसहित नौको ज्यान जोगाएका थिए । जहाजको इञ्जिनभित्र रहेका ६ वटा बेरिङमध्ये पहिलो नम्बरको बेरिङ ड्यामेज हुँदा इञ्जिन फेल भएको तत्कालीन छानबिन आयोगको प्रतिवेदनले देखाएको छ ।

न्यौपानेले पाइलट कोर्स र सिनियर क्याप्टेनको तालीम अमेरिकामा लिएका थिए । जहाज उडाउन थालेको आठ वर्षमै न्यौपानेले दुर्घटनामा ज्यान गुमाएका थिए । यात्रुलाई जीवन दान दिएका न्यौपाने र रानाले वीर पदक पाएका थिए । २०७३ जेठ १५ गते नेपाल सरकारले चालकद्वयलाई शहीद घोषणा गरी मरणोपरान्त वीर पदकले सम्मान गरेको थियो । चालकद्वयकै सम्मानमा नेपालगञ्ज–२० मा रहेको राँझा चोकलाई पाइलटचोकका रुपमा नामकरण गरियो ।

उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोक पश्चिमतर्फ शालिक निर्माण गर्ने तयारी ग‍¥यो । राँझा चोक पाइलट चोकमा रुपान्तरण भएपछि शिलान्यास पनि भयो । महिना नबित्दै शिलान्यास गरिएको ठाउँबाट एकाएक बोर्ड हटाइयो । उपमहानगरपालिकाले बाटिका, प्रतीक्षालयसहित क्याप्टेनद्वयको शालिक राख्नका लागि १० धुर जग्गा उपलब्ध गराएको छ ।

चालक दिनेशका बुबा मानदत्त न्यौपानेले भने, ‘दुःखमा रहेका हामीलाई त्यतिबेला झुठो आश्वासन दिइयो । अहिले राँझा चोकमा दुई पाइलटको शालिक राखेर नामकरण गर्ने विषयमा राजनीति गर्न खोजिएको छ । हामीसँग पैसा असुल्न खोजियो ।’ नेपालगञ्ज–१२ मुक्तिपुर निवासी क्याप्टेन दिनेश र पाल्पा निवासी को–पाइलट रानाको शालिक राख्ने विषय केही समस्या देखिएको दिनेशका बुबा मानदत्तले बताए ।

तपाईको प्रतिक्रिया