स्याउका बिरुवा जोगाउनेलाई पुरस्कार !

डोल्पा : कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले वितरण गरेका स्याउँका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुकाउनेलाई प्रतिबिरुवावापत एकसय दिने नीति बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । उनका अनुसार, दोस्रो वर्ष प्रतिबिरुवा हुर्काएवापत ७५, तेस्रो वर्ष ५० दिने कार्यक्रम रहेको छ । ५० प्रतिशतभन्दा तल बिरुवा हुकाउने कृषकले कुनै पनि सेवासुविधा नपाउने उहाँको भनाइ छ ।

चार वर्षपछि रोपिएका स्याउका बिरुवाले फल दिने योजनाका साथ दण्ड र पुरस्कारको व्यवस्था गरिएको हो । गाउँपालिकाले पहिलो वर्ष मुड्केचुला गाउँपालिकामा २० हजार स्याउका बिरुवा वितरण गरेको थियो । त्यस्तै दोस्रो वर्ष २५ हजार गरिसकेको छ । तेस्रो वर्ष २५ हजार बिरुवा वितरण गर्ने योजना छ । त्यस्तै गाउँपालिकाले १२ हजार पाँचसय टिमुरका बिरुवासमेत वितरणको तयारी छ । गाउँपालिकाका उपाध्यक्ष सविताकुमारी रोकायको नेतृत्वमा प्रत्येक वर्षको चैतमा अनुगमनपछि मात्र स्याउका बिरुवा हुर्काएवापत रकम झुक्तानी गर्ने कार्यक्रम हुँदै आएको छ ।

गाउँपालिकाले स्याउका बिरुवासँगै हुर्काएवापत पुरस्कार दिएपछि आफूहरु खुशी भएको मुड्केचुला गाउँपालिका–६ का देवबहादुर बुढाथोकीले जानकारी दिए । उनले भने, ‘गाउँमा रहेको स्थानीय सरकारको अनुभूति राम्रोसँग भएको छ, स्याउका बिरुवा आफैं खरिद गरेर लगाउँदै आएका हामीलाई दुई वर्षदेखि गाउँपालिकाले बिरुवा दिँदै आएको छ, त्यसमा पनि राम्रो हुकाउनेलाई पुरस्कार दिँदा हामीलाई निकै जाँगर आएको छ ।’ डोल्पा स्याउ उत्पादनका हिसाबले असाध्य राम्रो मानिन्छ । डोल्पाका स्याउ जाजरकोट, रुकुमपश्चिम हुँदै सुर्खेत र नेपालगञ्जसम्म बिक्री हुने गर्दछ ।

आम्दानीको राम्रो स्रोतमध्येको स्याउ यहाँका कृषकको जीवन जिउने मुख्य आधार बनाउनका लागि गाउँपालिकाले यो कदम चालेको गाउँपालिकाले जनाएको छ । जमिनको वर्गीकरणका साथै हुर्कने ठाउँको आधारमा बिरुवा वितरण गरिएको छ । जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका तल्लो डोल्पामा पर्दछ । सडक सञ्जासँग जोडिन केही भाग मात्र बाँकी रहेको यो ठाउँ जाजरकोट, रुकुम र डोल्पाको सङ्गमस्थल त्रिवेणीबाट झण्डै चार घण्टा पैदल हिँडेपछि पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया