राज्यमन्त्री रावतद्वारा पत्रकारलाई काेराेना विरुद्ध सुरक्षा सामाग्री

सुर्खेत, २५ चैत ।

कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा पत्रकारहरुको व्यक्तिगत सुरक्षार्थ प्रयोग हुने सामाग्री दिइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले पत्रकारहरुको व्यक्तिगत सुरक्षार्थ प्रयोग हुने माक्स, पञ्जा र स्यानिटाइरसहितको सामाग्री सहयोग गरेका हुन ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखा मार्फत नियमित रिपोटिङमा खटिने पत्रकार र सञ्चार संस्थाहरुलाई वितरण गर्ने गरी सामाग्री हस्तान्तरण गरिएकोछ । सोही अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतले कोरोना विरुद्धको लडाईमा नेपाली सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

मंगलबार गृह जिल्लामा आएका राज्यमन्त्री रावतले जनतालाई कोरोनाबाट जोगाउन अथाह जनचेतनामूलक कार्यक्रम, सन्देश, समाचार प्रकाशन प्रसारण गरेर सञ्चार जगतले राज्यलाई ठूलो योगदान दिएको बताए । उनले आगामी दिनमा पनि सञ्चारकर्मीको तर्फबाट नागरिक जोगाउने अभियान निरन्तर चलिरहने अपेक्षा व्यक्त गरे ।
उनले कोरोनाबाट बच्न सबैले सामाजिक दुरी कायम गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ सुर्खेतलाई मास्क, पञ्जा र स्यानिटाईजर हस्तान्तरण गर्दै मन्त्री रावतले कोरोना विरुद्ध नेपाल पनि लडाईमा होमिएको बताउँदै आम नागरिकले सरकारले दिएका निर्देशनको पालना गर्नुपर्ने बताए ।


‘अहिले हामी सबैको साझा शत्रुको रुपमा कोरोना रहेको छ । यसबाट बच्न, बचाउन सबैको योगदान जरुरी छ ।’ उनले भने, ‘त्यसकालागि अन्य देशबाट आएका नागरिकहरु क्वारेन्टाईनमा बस्ने, नागरिकले घरभित्रै बसेर सहयोग गर्न म आग्रह गर्दछु ।’ नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले कोरोना विरुद्ध सबै सञ्चारकर्मीले सचेतना जगाउन विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिरहेको बताए । राज्यमन्त्री रावतले सुर्खेतका सञ्चारकर्मीको समस्यालाई दृष्टिगत गर्दै दिएको उपहार महत्वपूर्ण भएको बताए । उनले सुर्खेतस्थित सबै सञ्चार संस्थाहरुमा र फिल्डमा खटिने सबै सञ्चारकर्मीहरुको हातहातमा पु¥याउने बताउँदै मन्त्री रावतलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया