कोरोना संक्रमणको त्रासः कर्णालीमा पनि रयापिड टेष्ट

सुर्खेत, २९ चैत्र ।
कोरोनाको त्रासपछि कर्णालीका आठ हजारभन्दा बढी नागरिकहरु गाउँ फर्किए । प्रदेश सरकार तेस्रो मुलुक र भारतबाट आएका सबै नागरिकलाई क्वारेन्टाइनमा राख्ने र अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने तम्सीयो । तर कर्णालीमा कोरोना परीक्षण सुरु भएको हप्तादिनमा एकसय जनाको पनि नमूना परीक्षण हुन सकेन ।

आठ हजार भन्दा बढीको कोरोना परीक्षण गर्दा झण्डै दुईवर्ष लाग्ने निश्चित भएपछि अब भने कर्णाली प्रदेशले कोरोना परीक्षण द्रुत प्रविधि अर्थात रयापिड टेष्ट प्रविधिबाट सुरु गरेको छ । विदेबाट आएकाहरुको समयमै कोरोना परीक्षण नभए अवस्था भयाभह हुनसक्ने आँकलन गर्दै शुक्रबारबाट कर्णालीमा पनि रयापिड टेष्ट सुरु गरिएको हो ।

कोरोना परीक्षणको लागि सुर्खेतस्थित कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशाला आरटी– पीसीआर (रियल टाइम (पोलिमरेज चेन रियाक्सन) मेसिन परीक्षणको भार थेक्न नसकेपछि रयापिड टेष्ट प्रविधि अपनाउन थालिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पाँच हजार जनाको रयापिड टेष्ट गरिने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोसीले जानकारी दिइन् । ‘कोरोना परीक्षणका लागि पाँच हजार कीट कर्णालीमा आइपुगेको छ, पहिलो चरणमा पाँच हजार जनाको मात्रै रयापिड टेष्ट गछौँ’ भण्डारीले भनिन्, ‘¥यापिड र पीपीआर प्रविधिबाट आशंका गरिएका सबैको परीक्षण सकिएन भने थप कीट ल्याएर रयापिड टेष्ट गर्छाँै ।’

जसअन्तरगत शुक्रबार सुर्खेतका तीन जनाको नमूना परीक्षण गरिएको छ । रयापिड टेष्टका लागि पहिलो चरणमा कालिकोटलाई छनौट गरिएको छ । शुक्रबारबाटै कालिकोटमा रयापिड टेष्ट सुरु गर्ने भनिएता पनि सुर्खेतबाट सामान पठाउन र जनशक्ति खटाउन ढिलाइ भएका कारण आइतबारबाट मात्रै सुरु गरिने छ । कालिकोटमा क्वारेन्टाइनमा बसेका सबैको रयापिड टेष्ट गरिने निर्देशनालयले जनाएको छ ।

उसो त सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको आठ दिनको अवधिमा एकसय आठ जनाको मात्रै नमूना परीक्षण गरिएको छ । शुक्रबार साँझ ६ बजेसम्म ८५ जनाको परीक्षण सकिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार २० गते ४, २१ गते ११, २२ गते १५, २३ गते ११, २४ गते १३, २५ गते १२, २६ गते ७, २७ गते मध्यरातसम्मम २२ वटा र शुक्रबार साँझ पाँच बजेसम्म १३ वटा गरी जम्मा एकसय आठ जनाको नमूना परीक्षण गरिएको जनाए ।

एक सय ३९ जनाका रिपोर्ट नेगेटिभ

कर्णाली प्रदेशबाट अहिलेसम्म एकसय ३९ जनाको कोरोनाको नमूना परीक्षण गरिएको छ । सुर्खेतमा प्रयोगशाला स्थापना भएपछि एकसय आठ र काठमाडौंमा परीक्षण गरिएका ३१ जनाको गरी कुल एकसय ३९ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ ।

सुर्खेतमा स्थापना भएको प्रयोगशालाको क्षमता न्यून भएपछि परीक्षणका लागि कर्णालीका अधिकांश नमूनाको परीक्षण काठमाडौंमै हुने निर्देशनालयले जनाएको छ । कोरोना परीक्षणका लागि कर्णालीका पाँच सय ८६ जनाको नमूना काठमाडौं पठाइएको छ । गत मंगलबार पाँच सय एक र शुक्रवार ८५ वटा गरी स्याम्पल काठमाडौं पठाइएको हो ।

के हो ¥यापिड टेष्ट प्रविधि ?
रयापिड टेष्ट कोरोना परीक्षण गर्ने द्रुत प्रविधि हो । किटको माध्यमबाट कोरोना भए नभएको पत्ता लगाउन सकिन्छ । रयापिड टेस्टले कोरोना भएको पत्ता लगाए पनि कस्तो अवस्था छ भनेर पत्ता लगाउन भने सकिंदैन । पोजिटिभ देखियो वा मिल्दोजुल्दो लक्षण देखियो र स्वास्थ्यकर्मीलाई कोरोना छ भन्ने लागेको खण्डमा तत्काल नमुना सङ्कलन गरेर पुनः परीक्षण गर्न सजिलो हुन्छ ।

कर्णाली स्वास्थ्य प्रयोगशाला संयोजक ओम आचार्यकाअनुसार ¥यापिड टेष्टले कोरोना हुनसक्ने व्यक्तिको पूर्व पहिचान गर्न सकिन्छ । शरीरको इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) का आधार कोरोना हुन सक्ने सम्भावित लक्ष्यण पत्ता लगाउन मद्दत गर्दछ । रयापिड टेष्ट गर्दा पोजिटिभ देखियो वा आशंका लागेको खण्डमा पीसीआर विधिबाट तत्काल चेक गरी कोरोना भएको पुष्टि गर्न सकिन्छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका र विदेशबाट आएका व्यक्तिको रयापिड टेष्टबाट कोरोनाको चेकजाँच गरिने छ । यसले करिव १५ मिनेटभित्र कोरोना हुन सक्ने व्यक्तिको पहिचान गर्दछ । एक जनाले ५० भन्दा बढी परीक्षण गर्न सकिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया