सुर्खेत, ४ बैशाख ।
वीरेन्द्रनगरका अत्यावश्यक पसलहरु दैनिक ४ घण्टा खुल्ने भएका छन् । सरकारले लागु गरेको लकडाउनलाई प्रभावकारी बनाउँदै आम नागरिकको आवात, जावतलाई सहज बनाउन दैनिक उपभोग्य सहितका अत्यावश्यक पसल खुल्ने समय परिवर्तन गरिएको हो । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन लागु गरेको लगडाउनलाई अझै प्रभावकारी बनाउन अत्यावश्यक पसलहरु खुला गर्ने समय परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा, सुर्खेत उद्योग बाणिज्य संघसँग भएको छलफलमा अब अत्यावश्यक पसलहरु दैनिक विहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म खुला गर्ने निर्णय गरिएको हो ।
संघले पास दिएका व्यवसायीहरुलाई हरेक दिन चार घण्टा सामाजिक दुरी कायम गरेर सामान विक्री गर्न अनुरोध गरिएको छ । हाल खाद्यान्न, दूध, ग्यास, तरकारी आदिको पसल बिहान ७ बजे देखि ९ बजे र दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालनमा थिए । शुक्रबारदेखि एकपटक मात्र पसल खुल्ला गर्ने निर्णय भएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । छलफलमा अत्यावश्यक पसलहरु बाहेक अन्य पसलहरु पूर्ण रुपमा बन्द नै रहने महासचिव कंडेलको भनाई छ । यसअघि लागु गरिएको समयमा अत्यधिक भिडभाड बढेको र लकडाउन कार्यान्वयमा प्रभावकारी नभएपछि समय परिवर्तन गरिएको उनको भनाई छ । उपभोक्तालाई कम्तीमा तीन फिटको दुरीमा राखेर सामान विक्री गर्न महासचिव कंडेलको आग्रह छ ।
युग संवाददाता । । ४ बैशाख २०७७, बिहीबार २०:०८