टंकराज गिरी
कार्यालय प्रमुख, नेपाल विद्युत प्राधिकरण, सुर्खेत
भनिन्छ नि चाहाना भए, बाहाना बनाउनु पर्दैन, हो त्यही चाहानाले भरिएको एउटा नाम हो टंकराज गिरी । विस २०३७ साल कातिक २७ गते बुवा तुलाराज र आमा बाचु गिरीबाट जुम्लाको तातोपानी गाउँपालिका–५ श्रीनगरमा उनको जन्म भएको छ । पहिलो सन्तान भएकाकारण बुवाआमाको जति माया पाए, त्यतिकै संघर्षको पाठ पनि सिके । संघर्षभित्र् सन्तुष्टि र जिम्मेवारीप्रतिको बफादारिताकै कारण उनले असफलताको अनुभव गर्नु परेको छैन । नेतृत्वदायी क्षमता, मिलनसार र जिम्मेवारीप्रति उत्तरदायी भूमिका देखेर नेपाल विद्युत प्राधिकरणले सुर्खेतमा कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । जुम्लाबाट सुरु भएको जीवनको संघर्ष, नेपालगञ्जले थप बलियो बनायो, काठमाडौंले कर्म सिकायो रत उनी आफ्नो लक्ष्यमा पुग्न सफल भए । यिनै संघर्ष, सफलता र जीवन भोगाई यसरी साँटे ।
जुम्लामा पढाई, सुर्खेतमा ट्युसन
गाउँमै धुलोमाटोसँग रमाउँदै बालापान बित्यो । गाउँकै दुर्गा माध्यमिक विद्यालय लाम्राबाट औपचारिक शिक्षा सुरु गरेँ । पढाइमा रुचिकै कारण सधै प्रथम हुन्थे । कहिलेकाँही त कक्षामा दोस्रो हुन्छु जब परीक्षा नजिक आउँथ्यो तव खुब चिन्ता त लाग्थ्यो । तर माध्यमिक शिक्षासम्म दोस्रो हुनु परेन । पढाइ भएकै कारण गुरुबाट धेरै माया पाउथँे । स्कूले जीवन र धुलोमाटो खेल्दै रमाउने साथीभाइको धेरै याद आउँछ । ऊबेला कक्षा ९ र १० बाट एसएलसी परीक्षा प्रश्नहरु आउँथे । यही कारण ९ र १० मा ट्युसन पढ्न जुम्लाबाट–सुर्खेत आउँथे । मंसिरमा परीक्षा भएपछि (पुस, माघ र फागुन) सम्म विद्यालयहरु बन्द हुन्थँे । साथीभाइसँग जुम्लाबाट हप्तादिन हिँडेर ट्युसन पढ्न सुर्खेत आउँथ्यौँ । २०५४ सालमा एसएलसी पुरा गरेँ । नेपालगञ्जको महेन्द्र बहुमुखि क्याम्पसबाट उच्चशिक्षाको ढोका सुरु भयो ।
गाउँले परिवेशमा शहरमा घुलमिल हुने केही समय लाग्यो । त्योभन्दा ठूलो बढी मेहनत पढाइमा गर्नुपरयो । किनकी मैले कक्षा ९ र १० मा अप्सनल गणित विषय अध्ययन गरेको थिएन । साइन्स विषयको मुटु भनेकै अप्सनल गणित रहेछ । जसले गर्दा प्लसटु अध्ययन गर्दा धेरै मेहेनत गर्नुप¥यो । विषय नै परिवर्तन गरौं भन्ने नलागेको होइन । तर हिम्मत हारिन । बरु नेपालगञ्जले संघर्ष थप संघर्ष गर्न सिकायो । प्लसटु पुरा भएपछि इन्जिनियर अध्ययन गर्ने पढ्ने सपना बोकेर काठमाडौंँ झरेँ । त्यसपछि सुरुभए जीवनका नयाँ पाटाहरु । काठमाडौं, त्यसमाथि इन्जिनियररिङको पढाई । आर्थिक भारले सताउँछ कि भन्ने चिन्ताले सताउन थाल्यो । उसो त बुवाले आर्थिक भार थेग्न नेपालगञ्ज झरेदेखि गाउँमा सानो व्यापार सुरु गर्नुभएको थियो । तर त्यतिले मात्रै इन्जिनियरिङको पढाइ पुरा गर्न सम्भव थिएन । घरको यही समस्या बुझेर सानो बुवा (कान्छो अंकल) ले काठमाडौं बस्न लाग्ने खर्च र इन्जिनियरिङ अध्ययन शुल्कमा सहयोग गर्ने बचन दिनुभयो ।
‘तैले पढ्ने काम गर, काठमाडौं बस्न र अध्ययनमा लाग्ने खर्च म बेहोर्छु ।’ अंकलको यही प्रेरणाले पढाइमा हौसल्ला थपियो । उहाँको सपना मलाई इन्जिनियर बनाउने थियो । यही हौसल्लाह र सपना बोकेर इन्जिनियरिङको प्रवेश परीक्षामा सहभागी भएँ । अन्ततः भाग्यले साथ दियो । छात्रबृत्ति कोटामा नाम निकाले । त्यसपछि जीवनमा खुशी र संघर्ष थपियो । पढाइमा रुचि बढ्दै गयो । अंकलको सल्लाह अनुसार होस्टेलमा बसेर दिमाग खियाउन थाले । अफ्ठेरो पर्दा साथदिने, पढाइमा सधै हौसल्लाह थपिदिने अंकलको यही मायाले जीवनमा आशाका किरणहरु पलाउन थाले । अन्ततः पुलचौक क्याम्पस ललितपुरबाट २०६२ सालमा इलेक्ट्रिकल इन्जिनिरिङको अध्ययन पुरा गरेँ । उसो त अंकले पनि सोही क्याम्पसबाट ओभरसियर अध्ययन गर्नुभएको थियो । जागिरपछि यसको महइभ्व बुझेर मलाई जसरी भए पनि इलेक्ट्रिकल इन्जिनिर बनाउने चाहान थियो । अन्ततः अंकलको चाहाना र मेरो भविष्यको योजना दुबै पुरा भयो । त्यो क्षण मेरो लागि जीवनमा खुशी थपिएको दिन थियो ।
रोजेको कर्मथलो पाउन नौं वर्ष लाग्यो
२०६२/०६३ को जनआन्दोलनसँगै अध्ययन पुरा भयो । जीवनको लक्ष्यको पहिलो पाइला हुम्लाबाट सुरु भयो । २०६३ सालमा माइक्रोहाइड्रोसँग सम्बन्धित काम गर्ने प्रोजेक्ट ग्रामिण विकास उर्जा कार्यक्रममा काम गर्न थाले । साढे दुईवर्ष हुम्लाबसाइपछि दैलेख झरेँ । हुम्ला र दैलेखमा हुँदा स्थायी जागिरको जग तयार पारिसकेको थिएँ । किनकी अस्थायी जागिरले जीवन चल्थेन । २०६८ सालमा विद्युत प्राधिकरण नेपालगञ्ज क्षेत्रिय कार्यालय स्थायी जागिर सुरु भयो । करिव साढे तीन वर्ष नेपालगञ्जको बसाइपछि दाङलाई कर्मथलो बनाए । दाङको तुलसीपुरमा साढे दुई कार्यालय प्रमुखको जिम्मेवारीपछि अत्तिरिया क्षेत्रिय कार्यालय कैलालीमा पुगेँ ।
कक्षा ९ र १० ट्युसन पढ्दादेखि नै सुर्खेत मेलै मन पराएको ठाउँ हो । त्यतिबेलादेखि नै सुर्खेतसँग मेरो आफ्नै सम्बन्ध र माया थियो । भाग्यवस सहायक प्रबन्धक पदमा रहेर विद्युत प्राधिकरण सुर्खेतको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको छु । हुन त मैले जागिर खाँदादेखि नै सुर्खेत रोजेको थिएँ । तर नौं वर्षपछि मात्रै रोजेको ठाउँ पाएको छु । सुर्खेतमा राम्रो विद्युत प्रसारण लाईन भएको भए हुन्थ्यो भन्ने लाग्छ । तर मैले चाहेर मात्रै हुँदैन । यहाँको नेतृत्व तह, यहाँका उद्योगी व्यापारी र प्रदेश सरकारले पहल गरेको खण्डमा तोकिएकै समयमा एकसय ३२ केभिए प्रसारण लाईन सुर्खेतमा ल्याउन सकिन्छ । सरकारले कर्णालीमा आगामी तीनवर्षभित्र विद्युतिकरण गरिसक्ने लक्ष्य लिएको छ । यसका लागि नेतृत्व तह र स्वयम् नागरिकको तर्फबाट सामूहिक काम थालेको खण्डमा कर्णालीलाई उज्यालो बनाउन सकिन्छ । समग्र कर्णालीवासी आफै नजुट्दासम्म कर्णाली अन्धकारबाट मुक्त हुन सक्दैन । जन्मे हुर्केको ठाउँलाई विद्युतिकरणमा सम्पन्न बनाउने संकल्प गरौँैं ।
एकसय ३२ केभिए विद्युत प्रसारण नआउँदासम्म बत्ति जाने समस्या हट्दैन
कर्णाली प्रदेश जल सम्पदाले धनी छ । तर विद्युतिकरण अन्य प्रदेशको तुलनामा सबै भन्दाकम छ । अहिलेसम्म साविक कर्णाली अञ्चलका कुनै पनि जिल्लालाई राष्ट्रिय विद्युत प्रसारण लाइनले छोएको छैन । हुन त भौगोलिक बनावट एउटा पाटो होला तर चाहने हो भने विद्युतिकरण असम्भव छैन । उत्पादन, वितरण प्रर्णाली र विद्युतिकरणमा समान तालमेल भएको खण्डमा कर्णालीमा सहजै रुपमा विद्युतिकरण गर्न सकिन्छ । तर अहिलेसम्म विद्युतिकरणको संरचनाहरु निकै कमजोर छ । कमजोर विद्युतिकरणका कारण बेलाबेलामा समस्या हुँदै आएको छ । यस्तो हुनुका पछाडि दुई वटा कारणहरु छन् । पहिलो रुड (ठाउँ र दोस्रो हाम्रो गाउँबस्ती । बलियो विद्युतिकरण बनाउन सहज रुड हुनुपर्छ तर जंगलको बीच–बीचमा बस्तीहरु छन् ।
जसले गर्दा सहज रुड छोडेर जंगलै–जंगल प्रसारण लाइन तान्नुपर्छ । यही कारण उपभोक्ताले बेलाबेलामा विद्युत अवरोध खेप्नु परेकोछ । कोहलपुर–सुर्खेत प्रसारण लाइनमा भएको समस्या यही हो । कोहलपुर–सुर्खेत खण्डको ८० प्रतिशत क्षेत्र जंगलमा पर्छ । जसले गर्दा हावाहुरी चल्यो र रुखका हाँगाहरुका कारण लाइनमा अवरोध आउँछ । यसबाट मुक्ती पाउने एउटै उपाय भनेको एकसय ३२ केभिए प्रसारण लाईन हो । एकसय ३२ केभिए लाइन तानेको खण्डमा विद्युतका पोलहरु रुखभन्दा अग्ला हुन्छन् जसले गर्दा हावाहुरी चल्यो, रुख ढल्यो भने विद्युतका तारहरुमा पर्दैन । तसर्थ जबसम्म सुर्खेतमा एकसय ३२ केभिए विद्युत प्रसारण लाइन आउँदैन तवसम्म विद्युत अवरोधको समस्या हल हुन सम्भव छैन ।
विद्युत आएन भने फेसबुक हेर्नाेस्…
अहिले पनि सुर्खेतमा बेलाबेलामा विद्युत अवरोध हुँदै आएको छ । कहिलेकाँही प्राविधिक कारणले प्रसारण लाइनमा समस्या आउँछ जो स्वाभाविक हो । किनकी इलेक्ट्रिकल बस्तुहरु कहाँ कतिबेला के हुन्छ भन्न सकिदैन । तर सुर्खेत, रुकुमपश्चिम र सल्यानको केही भाग, दैलेख र जाजरकोटसम्म विद्युत अवरोध हुनुको मुख्य समस्या रुड हो । कोहोलपुर–सुर्खेत प्रसारण लाइनको ८० प्रतिशत भागमा जंगलपर्छ । जसले गर्दा जमिन छुनेगरी कुनै पनि बस्तु विद्युतको लाइनमा प¥यो भने प्रसारणमा अवरोध आउँछ । यही कारण चैत बैशाखमा चल्ने हावाहुरी र असार–साउनको हावापानीले सबैभन्दा बढी विद्युत अवरोध हुन्छ । हावा चल्यो कि कतिबेला रुखका हाँगाहरु लाइनमा पर्छन् र प्रसारण अबरुद्ध हुन्छ ।
तर यो समस्या एकसय ३२ केभिए प्रसारण लाइन नहुँदा भइनै रहन्छ । अहिले पनि लाइन ग¥यो कि उपभोक्ताको फोन आउन सुरु गर्छ । लाइन नआउँदासम्म टेलिफोनको घण्टी बज्न छोड्दैन । यस्तो समस्या आएपछि म आफैलै एउटा जुक्ति निकाले । अहिले पुस्ताले सामाजिक सञ्जाल राम्रोसँग प्रयोग गर्छन् भन्ने ठानेर उपभोक्तालाई सूचना दिन ‘नेपाल विद्युत प्राधिकरण सुर्खेत’ नाम राखेर फेसबुक खोले । त्यही फेसबुकमा विद्युत के भयो ? कहिले आउँछ ? कहाँ समस्या छ भनेर सूचना दिने गरेका छौँ । फुर्सद भएसम्म रिप्लाई पनि गछौँ । तसर्थ लामोसमय बत्ति आएन भने फेसबुकबाट हेरेर सूचना पाउनु हुन्छ । चैतदेखि–भदौसम्म त बत्ति कतिबेला जान्छ थाहा नै हुँदैन । साँझमा बत्ति गयो भने अरु सुत्छन् हामी जंगलमा दौड्नु पर्छ । कहिलेकाँही त घण्टौ समय खोज्दा पनि समस्या पत्तै लगाउन सकिदैन । कोहलपुर– सुर्खेत खण्डको अधिकांश क्षेत्र राष्ट्रिय निकुन्ज भएका कारण जंगली जनावारको डरका कारण कार्यक्षेत्रमा खटिन समस्या हुन्छ । (युगआव्हान राष्ट्रिय दैनिकमा २०७७ जेठ ४ गते आइतबार साताको राष्ट्र सेवक स्तम्भमा प्रकाशित)
युग संवाददाता । । ७ जेष्ठ २०७७, बुधबार ०७:३१