सुर्खेत, १४ जेष्ठ ।
रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा युवाहरुमाथी भएको सामूहिक कुटपिटपछि बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव बुधबार भेरी नदिमा भेटिएको छ । बेपत्ता भएका लाकेन्द्र सुनारको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेरी नदिमा भेटाएको हो । एक किशोरीसंगको प्रेम सम्वन्धको विषयलाई लिएर वडाध्यक्ष डम्वरबहादुर मल्लसहित गाउँलेको संलग्नतामा सामूहिक कुटपिटपछि हत्या भएको थियो ।
जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज बिक, सोही ठाउँका १७ वर्षीय गणेश बुढामगर र रुकुमको चौरजहारी नगरपालिका–८ का २० टीकाराम सुनारको यस अघिनै भेरी नदी किनारमा शव भेटिएको थियो । जेठ १० गते भएको कुटपिटमा ३ जनाको शव भेरी नदी किनारमा फेला परेको र जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का १८ वर्षीय लोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही, २१ वर्षीय सन्दीप बिक बेपत्ता पारिएको थियो ।
लोकेन्द्र सुनारको शव डोरीले बाँधेर भेरी नदीमा बगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । घटनाका विषयमा प्रतिनिधी सभा, प्रदेश सभा, राष्ट्रिय सभा र राष्ट्रिय मानवअधिकार आयोग, राजनीतिक अगुवा, अधिकारबादी संघ संस्थाहरुले चको विरोध गरेका छन् । घटनाको निस्पक्ष छानविनको माग गर्दै देशव्यापी रुपमा अधिकारबादीहरुले चर्को विरोध गरेका हुन् ।
रूकुम घटनालाई तोडमोड गर्ने प्रयास
अन्तर्जातीय प्रेमका विषयमा जनप्रतिनिधिकै संलग्नतामा भएको रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजिएको आरोप पीडित पक्षले लगाएका छन् । चौरजहारी नगरपालिकाको सोतीमा गत शनिबार भएको घटनालाई रुकुमका जनप्रतिनिधिले तोडमोड गर्न खोजेको भन्दै पीडितले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नतामा हत्याकाण्ड भएको र उनी पूर्वगृहमन्त्री जनार्दन शर्माको संरक्षणमा रहेकाले न्याय पाउनेमा पीडित परिवारले आशंका गरेका हुन् । सोतीका स्थानीय र केही जनप्रतिनिधिले नै लकडाउन उलंघन गर्दै हुल आएको र उमेर नपुगेकी केटीलाई जर्बजस्ती लिन खोजेकाले गाउँलेले नियन्त्रणमा लिने क्रममा भागदौड हुँदा भेरीमा खसेर ज्यान गएको बयान दिएका छन् । साथै उनीहरूले यो घटनालाई जातीयतासँग जोड्न नहुने भन्दै घटनालाई विषयान्तर गर्ने प्रयास गरिरहेको पीडितको भनाइ छ ।
तर कथित उपल्लो जातको भनिने ठकुरीकी छोरी तल्लो जातको भनिने दलितले लिन खोजेको भन्दै पूरै गाउँ नै उर्लिएर आक्रमण गर्दा तीन जनाको मृत्यु भएको हो । दुई जना अझै बेपत्ता छन् । मंगलबार संघीय संसद्मा रुकुमपश्चिमबाट निर्वाचित जनार्दन शर्माले पनि यो घटनाबारे सोही आशयको धारणा राखेपछि घटनामा संंलग्नलाई राजनीतिक संरक्षण गर्न खोजिएको पीडित परिवारको आशंकामा थप बल पुगेको हो। रुकुम प्रहरीले नै अनुसन्धान गर्ने र मुघा पनि जिल्ला अदालत रुकुममा नै दर्ता हुने भएपछि आशंका बढेको हो । मृतक नवराज विकका बुवा मोहनलालले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए । बयान दिन रुकुम जाँदा झन्झिटिलो हुने र उतैबाट अनुसन्धान तथा मुद्दा चलाए चलखेल हुनसक्ने उनको आशंका छ । जाजरकोट प्रहरीले नै घटनाबारे अनुसन्धान गर्नुपर्ने र मुद्दा पनि जाजरकोटबाटै चलाइनुपर्ने उनीहरूले माग गरेका थिए । पीडितले माग सम्बोधन नहुँदासम्म शव नबुझ्ने अडान लिएका थिए । तर जुन जिल्लामा घटना भएको हो सोही जिल्लामा मुद्दा चल्ने कानुनी प्रावधान र स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गर्ने आश्वासन दिएपछि मंगलबार शव बुझ्न राजी भएका हुन् ।
पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए। दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार लास बुझ्न सहमत भएका हुन्। चौरजहारीका टीकाराम सुनारको शव पोष्र्टमार्टम गरिएको छ भने अन्य दुई जनाको बुधबार पोष्र्टमार्टम गरिने पन्तले बताए। हराएका तीन जनाको खोजी कार्य भइरहेको उनले जानकारी दिए। भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, ४ का सन्दीप विक अझै बेपत्ता छन्। भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ ।
नवराजकी प्रेमिका चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीय सुष्मा मल्ललाई बेहुलीका रूपमा भिœयाउन शनिबार १९ युवासहित गाउँ पुगेका बेला वडाध्यक्ष मल्लसहित सोतीका गाउँलेले आक्रमण गरेर लखेट्दा उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घेराबन्दीमा पारेर गाउँ नै उर्लेर आक्रमण गरेको घटनाबाट बाँचेर आएका युवाले बताए । उनीहरूले नवराज लगायतका केहीलाई कब्जामा लिएर हत्या गरी भेरीमा फालिदिएको र अन्यलाई भेरीमा पौडी खेल्ने क्रममै ढुंगा हानेर हत्या गरेको बताएका छन् । भेटिएका तीन शवमध्ये तीनै जनाको टाउकोमा गहिरो चोट लागेको, एक जनाको हातमा घरेलु हतियारको चोट, बुधबार दिउँसो भेटिएका एक युवाको हातखुट्टा डोरीले बाँधेर भेरीमा बगाएको अवस्थामा भेटिएको भेरी नगरपालिका–४ का मौसम विकले बताए ।
याे पनि पढ्नुहाेस :
सोतीगाउँ : बेपत्ताको सशस्त्र प्रहरीका गोताखोरबाट खोजी सुरु
चौरजहारी सामुहिक हत्या घटनाप्रति ध्यानाकर्षण
कुटपिटपछि हत्या रुकुम घटनाको सबत्र बिरोध
जाजरकोट घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन
सोती घटनामा मृतकको संख्या तीन पुग्याे, अझै तीन जना बेपत्ता
‘दुलही लिन गएको छोरो लास बनेर आयो’
युग संवाददाता । । १४ जेष्ठ २०७७, बुधबार १६:२९