कृष्णप्रसाद अधिकारी
दैलेख, २१ जेष्ठ ।
दैलेखको भैरवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिरासिंह थापामाथी आक्रमण भएको छ । भारतका विभिन्न स्थानबाट उद्धार गरी वडा नं. ४ मा रहेको राज बहादुर थापाको घरमा क्वारेन्टाइनमा राखेका युवाहरुले गाउँपालिकाका निमित्तप्रमुख प्रशासकिय अधिकृतमाथी आक्रमण प्रयास गरेका हुन ।
आरडिटि परीक्षणको रिर्पोट आएपछि निमित्त प्रमुख प्रशासकिय अधिकृत उनीहरुलाई सम्झाएर घरमा होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिँदै गर्दा एकाएक ढुगाँ हानेपछि प्रमुख प्रशासकिय अधिकृत घाइते भएको त्यहा गाउँपालिकाले जनाएकोछ । क्वारेन्टाइमा बसेका युवाहरुले गाउँपालिकाको स्टोर शाखा चेक गर्न माग राखेको र निमित्त प्रमुख प्रशासकिय अधिकृत यो सयम स्टोर चेक गर्ने भन्दा पनि सुरक्षित भएर बस्ने समय हो भनेपछि युवाहरुले प्रमुख प्रशासकिय अधिकृतमाथी नै आक्रमण गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले गाउँपालिकाले अलपत्र परेको आफ्ना नागरिकलाई उद्धार गरी ल्याएर उनीहरुको आरडिटि परीक्षण गरेर घर फर्काउन खोज्दा प्रमुख प्रशासकिय अधिकृृतमाथी भएको दुब्र्यबहार दुखद् घटना भएको बताए ।
उनले क्वारेन्टाइमा बस्दा राम्रोसंग खाना नपाएको, सेनिटाइजर, पिफर्म, मास्क लगायतका सामाग्री प्रयाप्त मात्रामा नपाएको भन्दै गाउँपालिकाको स्टोर शाखा हेर्न खोजेपछि समस्या सिर्जना भएको बताए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिरासिंह थापाले गाउँपालिकाका जनतालाई सेवा दिन रात दिन नभनी काम गर्दा समेत यो व्यवहारले आफुलाई दुखी बनाएको बताएका छन् ।
युग संवाददाता । । २१ जेष्ठ २०७७, बुधबार १९:५३