कोरोना संक्रमणको जोमिख घटेको छैन । सुरुवातको भन्दा पनि हिजोआज संक्रमणको दर बढेको छ । सुरुवातमा विदेशबाट आउनेहरुमा मात्र संक्रमण देखिन्थ्यो । त्यसकारण पनि उनीहरुलाई क्वारेन्टाइन र आइसोलेसनमा राखेर सावधानी अपनाइएको थियो । संक्रमण कसलाई हुनसक्छ भन्ने आशंका गर्न सकिने अवस्था थियो । त्यही आधारमा सावधानी अपनाएर परीक्षण हुन्थ्यो । तर हिजोआज अवस्था सजिलो छैन । अर्थात कोरोना संक्रमण समुदायमा पुगेको छ । समुदायमा संक्रमण फैलिएका कारण कसलाई संक्रमण छ वा कसबाट संक्रमण फैलिन सक्छ भन्ने अनुमान लगाउन कठिन छ । यस्तो जोखिमपूर्ण अवस्थामा देशमा जारी लकडाउन हटेको छ । सामाजिक दुरी कायम गर्न र भिडभाड रोक्न लकडाउन गरिएको थियो । तर चार महिनासम्मको लकडाउन हटेसँगै जनजीवन पहिलेकै अवस्थामा पुगेको छ । मानिसहरु सडक र बजारमा निस्कन थालेका छन् ।
सार्वजनिक यातायात पनि संचालन भएका छन् । योसँगै संक्रमणको जोखिम पनि बढेको छ । सार्वजनिक यातायात संचालन आए पनि सरकारले केही नियम बनाएको छ । भदौ १ गतेसम्म गाडीहरु जिल्लाबाहिर जान रोक लगाइएको छ । तर यसलाई छल्दै गाडीमा जिल्लाको सिमानामा संचालन गर्ने र यात्रु साँट्ने काम भइरहेको छ । अर्थात गाडीहरु सिधा एउटा जिल्लाबाट अर्को जिल्लामा संचालन नभए पनि सिमानाबाट यात्रु साट्ने कामले मानिसहरु जिल्ला भित्रिने बाहिरिने भइरहेको छ । यसले पनि कोरोना भित्रिने र फैलिनेका जोखिम बढेको छ । यस्तै सार्वजनिक गाडीमा यात्रु राख्दा त्यसमा धेरै यात्रु हुने नै भए । सँगै यात्रा गर्दा संक्रमित पनि हुने विषयलाई नकार्न सकिन्न । यसकारण कामको सिलशिलामा सार्वजनिक गाडीमा सवार गर्दा यात्रु स्वयम्ले पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्ने हुन्छ । अर्थात स्वास्थ्य सतर्कताका उपायहरु अपनाउनेतर्फ सवारी चालहरुले पनि यात्रुलाई सचेत गराउन अनिवार्य हुन्छ । सार्वजनिक गाडीमा यात्रा गर्दा यात्रुले अनिवार्य मास्क लगाउने, दुरी कायम गरेर सिटमा बस्ने र सेनिटाइजरको प्रयोग गगर्न जरुरी छ । त्यतिले मात्र पुग्दैन, सवारी चालक र सहचालकले पनि यही उपाय अपनाउन आवश्यक छ ।
कोरोनाले विश्व नै थला परेको छ । यसको रोकथाम र नियन्त्रण कसैको एक्लो प्रयासले मात्र सम्भव छैन । अर्थात यो मानव समुदायकै चुनौती बनेको छ । यसकारण पनि संक्रमणबाट जोगिन सबैको साझा प्रयास आवश्यक छ । आफूमा संक्रमण भएको खण्डमा पनि यस्ता सावधानी अपनाउँदा अरुलाई संक्रमण हुनबाट बचाउन सकिन्छ । यसैले पनि सार्वजनिक गाडीमा यात्रा गर्दा यात्रु, सवारी चालक र सहचालकले विशेष ध्यान दिन जरुरी छ । यात्राका लागि तय गरिएका नियम र सावधानीहरु कार्यान्वयन भए वा नभएको बारेमा प्रहरी र सुरक्षाकर्मीहरुले पनि आवश्यक निगरानी र खबरदारी गर्नु पर्दछ । यसो भएको खण्डमा मात्र यात्रा सुरक्षित हुने र कोरोना संक्रमणको जोखिमबाट बच्न सक्ने अवस्था रहन्छ ।
युग संवाददाता । । १२ श्रावण २०७७, सोमबार ११:५५