मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु स्थापनाको आफ्नै इतिहास छ । यो विश्वविद्यालय अन्य विश्वविद्यालय जसरी स्थापना भएको होइन । अर्थात राज्यले चाहेर वा उसको योजनामा स्थापना भएको होइन । यो स्थापना हुनुको पछाडि जनताको संघर्ष मुख्य कारण हो । सुर्खेतमा यो विश्वविद्यालय स्थापना गर्नका लागि यहाँका नागरिकले वर्षौंसम्म सडकमा आन्दोलन गरे । धेरै पटक पसिना बगाए । उच्च शिक्षा प्राप्तीका लागि आफ्नै आँगनमा विश्वविद्यालय स्थापना हुनुपर्छ भन्दै जनस्तरबाट भएको आन्दोलन चर्किएपछि सरकारले बाध्य भएर यो विश्वविद्यालय स्थापनाको घोषणा गरेको थियो । नेपालगंज की सुर्खेतमा भन्ने संघर्षका बिचमा अन्ततः यो विश्वविद्यालय सुर्खेतमा स्थापना भयो । स्थापनापछि पनि यसको संचालन र आर्थिक व्यवस्थापनमा नागरिकको योगदान महत्वपूर्ण थियो । विश्वविद्यालय संचालनका लागि स्थानीय बासिन्दाले महायज्ञ लगाए । आफ्नो छाक काटेर चन्दा दिए । अलिअलि दिएको चन्दा र दानको जगमा विश्वविद्यालय यहाँसम्म आइपुगेको छ । जनताको पसिनाबाट स्थापना भएको यो विश्वविद्यालय विस्तारै वामे पनि सर्दैछ ।
संघर्षबाट स्थापना भएको यो विश्वविद्यालय स्थापनाकाल देखि नै विभिन्न घटनाले चर्चामा आउने गरेको छ । राजनीतिक भागवण्डा, विद्यार्थी र शिक्षकको हडताल र राजनीतिक क्रिडास्थल बन्दै आएको छ । मुख्यगरी आर्थिक अनियमितता र पदाधिकारीहरुको व्यवहारका कारण अझ चर्चामा आयो । आर्थिक रुपमा पारदर्शिता नहुँदा स्थापना कालका पदाधिकारीहरुमाथि अख्तियारले मुद्दा चलायो । आर्थिक अनियमितताका कारण उनीहरु निलम्बनमा पनि परे । यो घटनाले विश्वविद्यालयमा आर्थिक सुशासन छैन भन्ने देखायो । आजको दिनसम्म आउँदा विश्वविद्यालयको नेतृत्वमा धेरैले पुग्ने मौका पनि पाए । तर पनि आर्थिक अनियमितता रोक्न र पारदर्शिता कायम गर्न उनीहरु सफल भएको देखिएन । महालेखा परीक्षकको प्रतिवेदनलाई आधार मान्ने हो भने पनि तत्कालिन पदाधिकारीको नाममा अहिले पनि बेरुजु छ । कानुन मिचेर एक करोड भत्ता लिएको पाइएको छ । जनताले छाक काटेर जम्मा गरेको रकममा पदाधिकारीले रजाइँ नै गरेको पाइएको छ । यसले पनि विश्वविद्यालयमा आर्थिक अनुशासनको अवस्था कस्तो रहेछ भन्ने प्रष्ट हुन्छ ।
एमयु कर्णालीको शैक्षिक धरोहर नै हो । आर्थिक रुपमा कमजोर र आधाभन्दा धेरै नागरिक गरिबीको रेखामुनी रहेको कर्णालीको शैक्षिक गुणस्तर बृद्धिमा यो विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुनु पर्दछ । विश्वविद्यालयले शिक्षासँगै मानिसमा नैतिक शिक्षा र आत्मअनुशासन पनि सिकाउन सक्नु पर्दछ । तर जसले शिक्षा प्रदान गर्दछ, त्यही संस्थाको नेतृत्वमा रहेकाहरुबाट हुने यस्ता आर्थिक अनियमितता र बेथितिका घटनाले कस्तो सन्देश दिन्छ ? यसकारण पनि विश्वविद्यालयलाई आर्थिक रुपमा पारदर्शी राख्नु आवश्यक छ । जनताको रगत र पसिनामा कसैले पनि रजाइँ गर्ने प्रयास गर्नु हुँदैन । कर्णालीको शैक्षिक धरोहरको रुपमा रहेको एमयुलाई अब आर्थिक रुपमा पारदर्शी बनाउँदै यसको ख्यातीदाई अझ बढाउन आवश्यक छ । यसो भएको खण्डमा मात्र विश्वविद्यालयको साख बढ्न सक्छ ।
(२०७७ साउन १५ गते युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)
युग संवाददाता । । १५ श्रावण २०७७, बिहीबार १२:१९