सुर्खेत, १९ असार ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि नगरपालिकाले गरेको निर्णय अनुरुप आवश्यक पहल गर्ने बताएका छन् । भेरीगंगा नगरपालिका सुर्खेतले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई गरेको स्वागत कार्यक्रममा उनले ईलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘यस क्षेत्रको प्रशासन, शान्ति सुरक्षालाई अझ मजबुत गराउनका लागि मेरो तर्फबाट सबै पहल हुनेछ, उनले भने, कर्णाली प्रदेशको प्रवेशद्धारभएकोले पनि यहाँ सुरक्षा उपस्थित बढाउनुपर्छ ।’ उनले नगरपालिकाले दुई पटक छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि नगरसभा मार्फत निर्णय गरी पठाएको विषयलाई आवश्यक निर्णयका लागि सिफारिस भईसकेको समेत जानकारी दिए । उनले बजार अनुगमन, विकास निर्माण लगायतका सम्पूर्ण कार्यमा पारदर्शीताका साथ काम गर्नुपर्ने भन्दै स्थानीय सरकारले धेरै कार्य गर्न सक्ने बताए ।
कार्यक्रममा नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले नगरपालिकाले गरेका महत्वपूर्ण निर्णय कार्यान्वयका लागि सहयोगको अपेक्षा गरेको बताए । उनले भेरीगंगा ५ बबई क्षेत्र हालसम्म नक्सांकनमा नसमेटिएको भन्दै सो कार्यका लागि समेत आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन् ।
युग संवाददाता । । १९ असार २०७७, शुक्रबार १४:१४