सुर्खेतमा जोर विजोर प्रणाली लागु नगर्नेलाई कारवाही

सुर्खेत, २४ असार ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जोर विजोर प्रणाली लागु नगरी हिड्ने र विना काम मास्क नलगाई अटेर गर्नेलाई कारवाही गरेको छ । सुचना दिँदा दिँदै पनि अटेर गरेर हिड्ने र जोरविजोर प्रणाली लागु नगर्नेलाई प्रहरीले बुधवार कारवाही गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै मंगलवार जिल्ला प्रहरी कार्यालय सुर्खेतले घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन, जोरविजोर प्रणाली लागु गर्न आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र प्रसाद भट्टले बुधवार ४ बजेसम्म १ सय १७ वटा सवारी साधन नियन्त्रण लिएको जानकारी दिए । उनले मास्क नलगाई हिड्ने २ सय ३५ जनालाई केहिबेर उभ्याएर, सम्झाई बुझाई गरी घर फर्काएको बताए ।

एसपी भट्टले आम नागरिकलाई कामविना घरबाहिर नहिड्न र निस्कनै परे मास्कको प्रयोग र स्वास्थ्य सावधानी अपनाएर मात्र निस्कन आग्रह गरेका छन् ।

सरकारले यही असार १ गतेबाट लकडाउन खुकुलो बनाएको छ । लकडाउन खुकुलो भएपछि बजार क्षेत्रमा भीडभाड बढेको छ । मास्क नलगाई हिड्ने र सामाजिक दुरी कायम नहुँदा कोरोना संक्रमणको जोखिम बढेको हो ।

तपाईको प्रतिक्रिया