जापान अधिकांश नेपाली युवाहरुको रोजाइको गन्तव्य हो । राम्रो रोजगारी र पढाइ दुबै हिसावले पछिल्लो समय जापान युवाहरुको रोजाइमा परेको छ । २०७० सालतिर त्यही जापानको रहरले तान्थ्यो लक्ष्मण शाहीलाई पनि । २०७२ सालमा जापानको तयारीका लागि दैलेखबाट सुर्खेत झरे । सुर्खेतमा जापानीज भाषा कक्षाको पढाइ हुने राम्रो ठाउँ नभेटेपछि उनी काठमाडौं लागे । करिव सात महिना जापानीज भाषाको तयारी पनि गरे । तर काठमाडौं बसाई उपलब्धिमूलक भएन । त्यसपछि उनले नेपालमै अवसरहरु खोज्ने निधो गरे । जापान जाने रहर त्यागे । निरन्तरको मेहनतपछि २०७६ सालमा सफलता हात पारे । प्रस्तुत छ, हाल उच्च अदालत सुर्खेतमा नायव सुब्बा पदमा कार्यरत उनै लक्ष्मणको जीवन भोगाइमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश
बुवाआमालाई खेतीपातिमा सघाउँथे
लक्ष्मण शाही बुवा जीरबहादुर र आमा नन्दकलाका पहिलो सन्तान हुन् । २०५४ साल पुस २२ गते दैलेखको ठाँटीकाँध गाउँपालिका–२ लकान्द्रामा कृषक परिवारमा उनको जन्म भयो । उनका आमाबुवाले कृषि पेशा गर्थे । तर दुःख अनुसारको आम्दानी हुन्थेन ।
तर पनि कृषिमै रमाउँथे । कृषि पेशामै भविष्य खोज्थे । बुवाआमाको कृषि पेशामा गरेको अथाह मेहनतबाट उनले धैर्यता र परिश्रम गर्न सिके । ‘सानैदेखि बुवाआमाई खेतीपातिमा सघाउँथे’ उनी भन्छन्, ‘धैर्यता र परिश्रम मैले बुवाआमाबाट नै सिकेको हुँ ।’ लक्ष्यअनुसार निरन्तरको मेहनत र धैर्यताबाट मात्रै सफलता हातपर्ने उनको अनुभव छ ।
अभावसँग हारेनन्
लक्ष्मण गाउँमा जन्मिए, गाउँमै हुर्किए । तर गाउँमा भविष्य देखेनन् । बुवाआमाले गरेको कृषि पेशाबाट आफ्ना रहर र आवश्यकताहरु पुरा हुने ठानेनन् । हुर्कदै गर्दा स्थायित्व र सुनौलो भविष्यको खोजीमा लागे । २०७२ पछि अनेक सपना देखेर गाउँ छोडेर शहर छिरे ।
अधिकांश युवाको रोजाइमा पर्ने जापान जाने योजना बनाए । सुर्खेत र काठमाडौँमा बसेर जापान जानको लागि तयारी गरे । तर सामान्य आर्थिक स्थिति र बाटो देखाउने अग्रजको अभावमा जापान जाने सपना पुरा भएन ।
त्यसपछि जापान जाने सपना त्यागे । बरु अकंलको सुझावअनुसार लोकसेवाको तयारी गरे । गाउँबाट अन्नपात र खसीबाख्रा बिक्री गरेर बुवाआमाले दुईचार पैसा खर्च पठाए । आर्थिक अभावमा कति आवश्यकताहरु अधुरै राखे । तर आफ्नो लक्ष्य र उद्देश्यहरु भुलेनन् । अभाव, असफलता, दुःख र पीडादेखि हारेनन् ।
परिणामतः २०७६ साल असार २३ गते लोकसेवाको परीक्षा उतिर्ण भए । ‘लोकसेवा आयोगमा उत्तिर्ण हुँदा जीवनमा सबैभन्दा धेरै खुशी भएँ’ उनी भन्छन्, ‘अभावदेखि नहारेकै कारण सफलता मिलेको हो ।’
लक्ष्मणले गाउँकै दशरथ निम्न माध्यमिक विद्यालयबाट कक्षा १ देखि ८ को अध्ययन गरेका हुन् । ९ देखि प्लसटुसम्म कृष्ण माध्यमिक विद्यालयमा अध्ययन गरेका उनले २०७२ सालको एसएलसी पास गरे । हाल रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौँमा ब्याचलरमा अध्ययनरत छन् । माध्यमिक तहमा अध्ययन गर्दा भलिबल खेलमा बहुत रुचि राख्थे ।
योगा र ध्यान गर्दै पढे
योगा र ध्यान जीवनलाई सत्मार्गमा डो¥याउने बाटाहरु हुन् । जसले शरीर र दिमाग बुदैलाई सक्रिय बढाउन मद्दत गर्दछ । भनिन्छ, योगा र ध्यानले मनोविज्ञानलाई विजय हाँसिल गर्न जित्न प्रेरित गर्दछ । हारे पनि उर्जा मर्न दिँदैनन् ।
हो, यही विधिको भरपुर प्रयोग गरे लक्ष्मणले पनि । ‘प्लसटु पढ्दा त विहान तीन घण्टासम्म योगा र ध्यान गर्थे’ उनी भन्छन्, ‘ध्यान र निरन्तरको मेहनत नै मेरो लागि सफलताका सुत्रहरु बने ।’ योगा र धानले मनलाई एकीकृत गर्ने र प्राथाणले सत्मार्गमा हिँड्ने सिकाउने उनको बुझाइ छ । धानले परिणाममा हारे पनि आत्मबल टुट्न निदने उनी बताउँछन् ।
पढाइ र रोजगारी सँगसँगै
शिक्षा अर्थात पढाइ रोजगारीको आधारशिला हो । शिक्षा विनाको रोजगारी असम्भव जस्तै हुन्छ । यही कारण हरेक व्यक्तिको रोजाइमा पहिले शिक्षा अनि रोजागारी पर्छ । तर लक्ष्मणले भने शिक्षा लिएर मात्रै भविष्य सुनिश्चित हुन्छ भन्ने ठानेनन् ।
बरु पढाइ र रोजगारीलाई सँगसँगै लैजाने योजना बनाए । राम्रो रोजगारी र उच्च शिक्षाकै लागि जापान जाने योजना बनाए । कारणबसः त्यो योजना पुरा भएन । जापान जाने योजना त्यागेर नेपालमै रोजगारीका अवसरहरु खोजे । स्थायीत्वको लागि निजामति क्षेत्र रोजे । प्लस्टु पढ्दै गर्दा लोकसेवाको तयारी गरे ।
२०७६ सालदेखि उनी उच्च अदालत सुर्खेतको नायव सुब्बा पदमा कार्यरत छन् । रोजगारीमा रहँदासम्म इमान्दारपूर्वक राष्ट्र र सेवाग्राहीप्रति जवाफदेही बन्ने उनको प्रतिबद्धता छ । रोजगारीमा जोडिए पनि पढाई पनि निरन्तरता दिएकै छन् । काठमाडौंको रत्नराज्य क्याम्पसका स्नातक तहमा अध्ययनरत छन् । बाँकी पढाइ र रोजगारी पनि सँगसँगै अगाडि बढाउने उनको योजना छ ।
युग संवाददाता । । १२ बैशाख २०७८, आईतवार १७:०९