भूकम्पले लमजुङमा १५ घर भत्किए, चार जना घाइते

आज बिहानै गएको भूकम्पमा परि लम्जुङमा ४ जना घाइते भएका छन् भने १५ वटा घर भत्किएका छन् ।

घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए ।

घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म १५ घर भत्केको जानकारी प्राप्त भएको छ । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उहाँले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् ।

घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए  ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र भएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया