कोरोनाविरुद्धको खोप अभियान

कर्णालीमा पचास हजार जेष्ठ नागरिकलाई चिनियाँ खोप लगाइँदै

सुर्खेत । आजदेखि कोरोनाविरुको दोस्रो चरणको खोप अभियान सुरु हुने भएको छ । पहिलो चरणमा खोप लगाउने छुटेका जेष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । कर्णाली प्रदेमा ५० हजारभन्दा बढी जेष्ठ नागरिकलाई खोप लगाउने उद्देश्य राखिएको छ ।

६२ देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सुर्खेतमा सबैभन्दा बढीलाई खोप लगाउने लक्ष्य राखिएको छ । सुर्खेतमा १२ हजार पाँचसय ७२ जना जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिइएको छ । तथ्याङ्कअनुसार डोल्पा एक हजार दुईसय १० जना, मुगुमा एक हजार आठसय २९ जना, हुम्लामा एक हजार ६ सय ८० र जुम्लामा तीन हजार ६ सय २६ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

त्यस्तै कालिकोटमा चार हजार पाँचसय ५९ जना, दैलेखमा आठ हजार चारसय ९५ जना, जाजकारेटमा पाँच हजार ६ सय ७३ जना, रुकुमपश्चिममा चार हजार आठसय ५८ जना र सल्यानमा सात हजार सातसय ६८ जनालाई गरेर कुल ५२ हजार दुईसय ७० जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । खोप अभियानलाई सफल बनाउन सबै जिल्लामा प्रचार–प्रसार अभियान नै थालिएको छ । विभिन्न सञ्चार माध्यम, स्थानीय जनप्रतिनिधि र स्वयम्सेवकबाट प्रचार–प्रसार थालिएको हो ।

सम्बन्धित स्थानीय तहले नजिकको स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पतालहरूमा खोप लगाउने छन् । खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कागजात अनिवार्य लिनुपर्ने छ । नागरिकता वा उमेर खुल्ने परिचयपत्र भए मात्रै खोप लगाउन पाइनेछ । दोस्रो चरणको कोरोना संक्रमणबाट जेष्ठ नागरिकहरु बढी जोखिममा रहेका कारण खोपको पहिलो प्राथमिकतामा परेका हुन् ।

कर्णाली प्रदेशमा पहिलो पटक चिनियाँ खोप (भेरोशिल्ड) लगाउन थालिएको हो । यो खोप पहिलो डोज लगाएको एक हप्ताभित्र दोस्रो डोज लगाइसक्नु पर्नेछ । सुर्खेत बाहेकका अन्य जिल्लाले आज (मंगलबार) देखि नै खोप अभियान सुरु गरिने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकलपर्शन नोदनारायण चौधरीले जानकारी दिए । खोप केन्द्रहरु भने सम्बन्धित जिल्लाले नै निर्धारण गर्नेछन् ।

चिनले अनुदानमा दिएको कोरोना खोप केन्द्र सरकारले कर्णालीका लागि ६१ हजार ६ बढी नौ वटा खोप पठाएको छ । त्यसमध्ये ५२ हजार दुईसय ७० खोप लगाइने छ । देशभर चिनिया खोप जेष्ठ नागरिकलाई मात्रै लगाइने छ । तर कर्णाली प्रदेशमा भने स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाइने छ । दोस्रो चरणको कोरोना महामारीमा नियन्त्रणमा खटिएका (करारमा) नियुक्त भएका स्वास्थ्यकर्मीलाईसमेत खोप लगाइने छ ।

चिनिया खोप पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्र मात्रै लगाइएको थियो । संक्रमण बढेपछि कर्णालीका सबै जिल्लामा निषेधाज्ञा छ । खोप लगाउने जेष्ठ नागरिकलाई आवागमनमा रोक लगाइने छैन । खोप अभियान अवधिभर जेष्ठ नागरिकलाई सहज आवागमनको व्यवस्थापन गर्न जिल्लास्थति कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

सुर्खेतमा २७ र २९ गते खोप लगाइने

सुर्खेतमा यही जेठ २७ गते र २९ गते मात्रै खोप अभियान सुरु हुनेछ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरूमा खोप लगाइने छ । जसमध्ये सिम्ता, गुर्भाकोट, भेरीगंगा, लेकवेशी र चिंगाडमा जेठ २७ गते र वीरेन्द्रनगर बराहताल, पन्चपुरी र चौकुनेमा जेठ २९ गते खोप लगाइने जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

सुर्खेतमा पनि खोप अभियानलाई प्रभावकारी बनाउन प्रचार–प्रसारलाई तीव्र पारिएको छ । स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधि र सञ्चारमाध्यबाट खोप अभियानको प्रचार–प्रसार गरिएको छ ।

वीरेन्द्रनगरका दुई वडामा संक्रमण उच्च

पछिल्लो एक हप्तादेखि देशभर कोरोना संक्रमणर मृत्यृदर घट्दो क्रममा छ । कर्णाली प्रदेशमा पनि संक्रमण घट्दो क्रममा छ । घट्दो संक्रमण र मृत्युदरलाई हेर्दा महिना दिनभित्र कर्णाली पनि पुरानै अवस्थामा फर्कने अपेक्षा छ । तर सुर्खेतको वीरेन्द्रनगरमा कोरोना संक्रमणको घटेको छैन ।

टोल–टोलमा पुगेर नौसय बढी नागरिकमा परीक्षण गर्दा पाँच ३६ जनालाई संक्रमण पुष्टि भएको छ । परीक्षणलाई आधारमान्दा वीरेन्द्रनगर वडा नं. २ को उत्तरगंगा र कोलडाँडा क्षेत्र र वडा नंं. ४ को भैरवस्थान उच्च जोखिममा रहेको देखिएको हो । ति दुई वडामा परीक्षण गरिएका नमूनामध्ये ६० भन्दा बढीमा संक्रमण पुष्टि भएको वीरेन्द्रनगर स्वास्थ्य शाखाले जनाएको छ । तर वीरेन्द्रनगरकै वडा नं. १४ को गोठीकाँडामा सबैभन्दा संक्रमण कम छ ।

समग्रमा परीक्षण गरिएका मध्ये वीरेन्द्रनगरमा ५० प्रतिशतभन्दा बढी नागरिकमा संक्रमण देखिएको जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीले जानकारी दिए । संक्रमणको अवस्था उच्च देखिएपछि नगरपालिकाले संक्रमितलाई होमआइसोलेसनमै बसिदिन आग्रह गरेको छ । संक्रमतिको उपचारमा उच्च सावधानी अपनाउने उद्देश्यले नगरपालिकाले घरघरमै पुगेर औषधि र संक्रमितको अवस्था बुझ्ने गरेको छ ।

यस्तै वीरेन्द्रनगरले दोस्रो चरणमा व्यापक कोरोना परीक्षण अभियान चलाउने भएको छ । पहिलो चरणमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा अव एन्टिजेन्ट विधिबाट कोरोना परीक्षण गरिने छ ।

३१ गतेसम्म थपियो निषेधाज्ञा

सुर्खेतमा जारी निषेधाज्ञा यही जेठ ३१ गतेसम्म थप भएको छ । संक्रमणदर नघटेपछि ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालले जनाकारी दिए । ‘कोरोना संक्रमण रोकिएको छैन, अवस्था अझै जटिल छ’ रिजालले भने, ‘अहिलेलाई ३१ गतेसम्म निषेध आदेश लम्व्याउने निर्णय भएको छ ।’

सोमबार बसेको कोरोना संकट व्यवस्थाप समितिको बैठकले निषेधाज्ञा थप गरेको हो । संक्रमण बढ्दै गएपछि सुर्खेतमा गएको बैशाख १४ गतेदेखि निषेध आदेश लागू गरिएको हो ।

तपाईको प्रतिक्रिया