बर्दिया : ३५ किलो चित्तलको मासुसहित बर्दिया निकुञ्जको टोलीले ४ जनालाई पक्राउ गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज डल्ला पोष्टबाट खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई समातेको हो।
उनीहरूको साथबाट निकुञ्जको टोलीले चित्तलको आलो मासु र मासु ल्याउन प्रयोग भएको साइकलसमेत बरामद गरेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत असीम थापाले जानकारी दिए।
पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नम्बर-१ सुर्यपटुवा डल्ला गाउँका स्थानीय रहेका जनाइएको छ। यद्यपि उनीहरूको मान भने निकुञ्जले सार्वजनिक गरेको छैन।
उनीहरूका साथमा अरू पनि तस्करहरू रहेका हुन सक्ने आशंकासहित निकुञ्जले खोजी गरिरहेको जनाएको छ।
यसअघि गएको पुष ६ गते पनि बर्दिया राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले वन्यजन्तुको सुकुटी र हातहतियारसहित दुई जनालाई पक्राउ गरेका थिए। उनीहरूको साथबाट भरुवा बन्दुक तीन नाल, गोली १७ थान, वारुद करिब २०० ग्राम, हसिया पाँच थान, गुलेली एक, जाल एक, वन्यजन्तुको सुकुटी करिब ७० किलोलगायत सामग्री बरामद गरिएको थियो।
त्यसबेला सुरक्षाकर्मी र तस्करबीच गोली हानाहानसमेत भएको थियो।
लकडाउनको समयमा गाउँमा स्थानीयको चहलपहल बढे पनि निकुञ्जमा तस्करी पनि बढेको जनाइएको छ। रोजगारी गुमाएर गाउँ फर्किएका स्थानीय जंगल प्रवेश गर्ने र तस्करीमा संलग्न हुने भन्दै बर्दिया निकुञ्जले गस्ती पनि बढाएको छ।
लकडाउन पछि वन्यजन्तुको चलहपहल सामुदायिक वनमा समेत बढेकोले निकुञ्ज प्रशासनले स्थानीयलाई जंगल प्रवेश नगर्न पटक पटक आग्रहसमेत गर्दै आएको छ।
युग संवाददाता । । २६ श्रावण २०७८, मंगलवार १५:३४